एजेन्सी । इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसीले दोस्रो कार्यकालका लागि शनिबार पद तथा गोपनीयताको सपथ लिएका
उनी इजिप्टको राष्ट्रपतिका रूपमा आगामी सन् २०२२ सम्म कायम रहनेछन्।
इजिप्टको संसदमा एक समारोहबीच भएको कार्यक्रममा राष्ट्रपति सिसीले सपथ लिँदै भने, ‘म भगवानलाई साक्षी राखी इजिप्टको गणतान्त्रिक व्यवस्थाको सुरक्षा गर्नेछु। संविधान र कानूनको सम्मान गर्नेछु। नागरिकको हितको सुरक्षा गर्नेछु र राज्यको एकता, स्वतन्त्रताको रक्षा गर्नेछु।’
सपथपछि संसदलाई सम्बोधन गर्दै उनले भने, ‘हामीले धेरै कठीन अवस्थाको सामना गर्दै राज्यलाई भविष्यमा थप स्थायित्वतर्फ डोराइरहेका छौँ।’
आफ्नो पहिलो कार्यकाल आर्थिक सुधारका लागि बिताएको बताउँदै आगामी चार वर्ष स्वास्थ्य र शिक्षामा सुधारका लागि खर्चिने सिसीले प्रष्ट पारे। इजिप्टजस्तो मुलुकलाई नेतृत्व दिनु वास्तवमा नै कठीन र ठूलो काम हो,’ उनले राष्ट्रका नाममा दिएको सम्बोधनमा बताए।
राष्ट्रपतिले भने, ‘इजिप्टको अन्तर्राष्ट्रिय सम्बन्धलाई साझेदारीका माध्यमबाट अघि बढाउने प्रयास जारी रहनेछ।’
सिसी सन् २०१८ मा भएको निर्वाचनमा ९७ प्रतिशतभन्दा बढी मत प्राप्त गरी दोस्रो कार्यकालका लागि निर्वाचित भएका थिए।
प्रतिक्रिया