फ्रान्स । सन् २०१६ को तुलनामा सन् २०१७ मा फ्रान्समा १० लाख कम मानिसले धुम्रपान गर्ने गरेको देखिएको छ । ‘पब्लिक हेल्थ फ्रान्स’ का अनुसार धुम्रपान गर्ने व्यक्तिको संख्यामा त्यस्तो तीव्र कमी देखिएको हो । तर, दशकौँदेखि धुम्रपानविरोधी नीतिहरू ल्याइए पनि अघिल्लो वर्ष गरिएको एउटा अध्ययनले विश्वव्यापी रूपमा चुरोट पिउने मानिसको संख्या बढ्दै गएको देखाएको थियो । सुर्तीजन्य पदार्थको प्रयोगविरुद्धको दिवसका सन्दर्भमा धुम्रपान
बढी र कम हुने देशबारे एक चर्चा :
१) किरिबाटी
टापु देश किरिबाटीमा धुम्रपानको दर विश्वकै उच्च रहेको छ । त्यहाँ जनसंख्याको दुईतिहाइ पुरुष र एकतिहाइभन्दा बढी महिला चुरोट पिउँछन् । प्रशान्त क्षेत्रमा पर्ने उक्त टापुको जनसंख्या मात्र १ लाख ३ हजार रहेको छ । सुर्तीविरोधी खुकुला नियमहरू र चुरोटमा कम कर लगाइने हुनाले सुर्तीजन्य पदार्थमा मानिसहरूले सहजै पहुँच कायम गरेका छन् ।
२) मोन्टिनिग्रो
पूर्वी युरोपको देश मोन्टिनिग्रोमा युरोपकै उच्च धुम्रपानको दर रहेको छ । त्यहाँ ४६ प्रतिशत मानिस धुम्रपान गर्छन् । उक्त बाल्कन देशको जनसंख्या ६ लाख ३३ हजार रहेको छ । त्यहाँ एकजना वयस्क व्यक्तिले प्रतिवर्ष ४ हजार १ सय २४ खिल्ली चुरोट सेवन गर्छन् । सार्वजनिक स्थानहरूमा धुम्रपान गर्न प्रतिबन्ध लगाइएको भए पनि मानिसहरूले कार्यालय, खाजाघर, बार र सार्वजनिक यातायातमा धुम्रपान गर्छन् ।
३) ग्रिस
ग्रिस तेस्रो बढी धुम्रपान हुने देश हो । त्यहाँ देशका आधाभन्दा बढी पुरुष र ३५ प्रतिशत महिला धुम्रपान गर्छन् । सन् २००८ देखि नै सार्वजनिक स्थानहरूमा धुम्रपान निषेध गरिए पनि मानिसहरू जहाँ पनि चुरोट सेवन गरिरहेका भेटिन्छन् । ग्रिसमा चुरोटको तस्करी हुने गर्छ । एउटा बजार अनुसन्धान कम्पनी युरोमोनिटर इन्टरनेसनलले सन् २०१९ देखि एथेन्सले बर्सेनि एक अर्ब युरो राजस्व गुमाउने अनुमान गरेको छ ।
४) पूर्वी टिमोर
पूर्वी टिमोर विश्वमा धुम्रपानको उच्च दर भएको देशमध्ये एउटा हो । त्यहाँ कुल जनसंख्याको लगभग ८० प्रतिशत पुरुष धुम्रपान गर्छन्, जुन विश्वकै उच्च दर हो । तर, धुम्रपान गर्ने महिलाचाहिँ ६ प्रतिशत मात्रै छन् । दक्षिण–पूर्वी एसियाको विपन्न देश पूर्वी टिमोरमा एक बट्टा चुरोटको मूल्य एक डलरभन्दा कम पर्छ । सबै चुरोटका बट्टामा धुम्रपान घातक हुने लेखिएका भए पनि धुम्रपान गर्नेहरूलाई त्यसले छुँदैन । किनभने, त्यहाँ देशको जनसंख्याको आधाभन्दा बढी निरक्षर रहेका छन् ।
५) रुस
रुस पाँचौँ धेरै धुम्रपान गरिने देश हो । त्यहाँ १५ वर्षमाथिका करिब ६० प्रतिशत पुरुष र २३ प्रतिशत महिला धुम्रपान गर्छन् । कार्यस्थल र सार्वजनिक सवारी साधनमा धुम्रपान गर्नु कानुनविपरीत भए पनि सुर्तीजन्य पदार्थको व्यापक विज्ञापनलाई उच्च धुम्रपान दर हुनुको एउटा मुख्य कारण ठानिन्छ । केही पसलहरूमा एक बट्टा चुरोट एक डलरभन्दा कममा किन्न सकिन्छ । रुसी चुरोटले २२ अर्ब डलर बराबरको बजार ओगटेको बताइन्छ ।
कम धुम्रपानकर्ता रहेका देश
कम चुरोट सेवन गरिने देशहरूमा घाना, इथियोपिया, नाइजेरिया, इरिट्रिया र पानामा रहेका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार करिब १४ प्रतिशत अफ्रिकीहरू धुम्रपान गर्छन् । त्यहाँ महिलाहरूले धुम्रपान गर्नु अनैतिक ठानिन्छ । घाना, इथियोपिया र नाइजेरिया पनि विश्व स्वास्थ्य संगठनको धुम्रपान नियन्त्रणसम्बन्धी ‘फ्रेमवर्क कन्भेन्सन’ भनिने सन्धिमा सामेल छन् ।
तिनीहरूले धुम्रपानको नकारात्मक असरबाट आफ्ना नागरिकलाई जोगाउन कडा प्रावधानहरू र नियन्त्रणका उपायहरू लागू गरेका छन् । ‘हर्न अफ अफ्रिका’ नामक प्रायद्वीपमा धुम्रपानको विकल्पमा काट (एक किसिमको पात) चपाउने चलन छ । त्यसले पनि त्यहाँ धुम्रपानको दर कम भएको हो । विश्व स्वास्थ्य संगठनले विश्वभरि लगभग एक करोड मानिसले काट चपाउने गरेको उल्लेख गरेको छ ।
अफ्रिकामा धुम्रपानको औसत दर तुलनात्मक रूपमा कम रहे पनि विकासशील देशहरूमध्ये सबैभन्दा तीव्र गतिमा त्यहाँ धुम्रपानको प्रवृत्ति बढिरहेको मेडिकल जर्नल लान्सेटले जनाएको छ । उच्च आय भएका पश्चिमा देशहरूमा नियममा गरिएका कडाइ, अनुगमन र करका कारण धुम्रपानको दर घटिरहेको छ । त्यसको परिणामस्वरूप सुर्तीजन्य उद्योगहरूले विकासशील देशहरूमा आफ्नो बजार विस्तार गरिरहेका छन् र युवाहरूलाई आकर्षण गर्ने प्रयास गरिरहेका छन् ।
सबैभन्दा ठूलो उपभोक्ता
विश्व स्वास्थ्य संगठनका अनुसार चीन विश्वको सबैभन्दा ठूलो सुर्ती उत्पादक र खपतकर्ता हो । चीनमा ३० करोड धुम्रपानकर्ता छन्, जुन विश्वको कुल धुम्रपानकर्ताको झन्डै एकतिहाइ संख्या हो । तर, बजार अनुसन्धानमा संलग्न समूह युरोमोनिटर इन्टरनेसनलले सन् २०१६ मा चीनमा सुर्तीको खपतमा दुई दशकमा पहिलोपटक कमी आएको उल्लेख गरेको थियो ।
पुरुषभन्दा बढी महिला धुम्रपानकर्ता भएको एउटै मात्र देश डेनमार्क हो । त्यहाँ १९ प्रतिशतभन्दा बढी महिला धुम्रपान गर्छन् भने धुम्रपान गर्ने पुरुषको प्रतिशत १८ दशमलव ९ छ । उच्च संख्यामा महिला धुम्रपानकर्ता युरोपमा छन् । तर, महिला र पुरुष धुम्रपानकर्ताबीचको संख्यामा सानो अन्तर छ । धुम्रपानका प्रत्यक्ष र अप्रत्यक्ष प्रभावका कारण बर्सेनि ७० लाखभन्दा बढी मानिसले ज्यान गुमाउने गरेका छन् ।
विश्व स्वास्थ्य संगठनका अनुसार धुम्रपान गर्ने १ अर्ब १० करोड जनसंख्यामध्ये ८० प्रतिशत मानिसहरू कम तथा मध्यम आय भएका देशमा बसोवास गर्छन् । ब्रिटिस अमेरिकन टोबाको नामक एउटा बहुराष्ट्रिय कम्पनीका अनुसार विश्व सुर्तीबजारको मूल्य ७ खर्ब ७० अर्ब डलर रहेको छ ।
प्रतिक्रिया