रुसका विदेशमन्त्री उत्तर कोरिया भ्रमणम

एजेन्सी । रुसी विदेशमन्त्री सेर्गेइ लाभरोभ बिहिबार उत्तर कोरिया पुगेका छन् । उनले उत्तर कोरियाको आणविक कार्यक्रमका बारेमा आफ्ना उत्तर कोरियाली समकक्षीसँग वार्ता गर्ने समाचारमा जनाइएको छ ।

लाभरोभ उत्तर कोरियामा एक दिन मात्र रहने जनाइएको छ । यी दुई देशले यस वर्ष कूटनीतिक समबन्ध स्थापनाको ७० औं वर्षगाँठ मनाइरहेका छन् ।

रुसी विदेशमन्त्रालयले बिहीबार जारी गरेको विज्ञप्तिमा विदेशमन्त्री लाभरोभ उत्तर कोरिया पुग्ने र त्यस देशको आणविक कार्यक्रम र अन्य द्विपक्षीय हितका विषयमा कुराकानी गर्ने उल्लेख गरीएको छ ।

विदेशमन्त्री लाभरोभले आफ्ना उत्तर कोरियाली समकक्षी रि योङ हिसँग द्विपक्षीय वार्ता गर्ने मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । उनको आमन्त्रणमा विदेश मन्त्री लाभरोभ कोरिया गएका हुन् ।

भेटमा उत्तर कोरियाले हालैका दिनमा लिएको आणविक अस्त्र उत्पादन नीति, गत हप्तामात्र उत्तर कोरियाले भत्काएको आणविक परीक्षणस्थलका विषयमा पनि वार्ता हुने बताइएको छ ।

अमेरिका र उत्तर कोरियाबीच आगामी महिना शिखर वार्ताको तयारी भइरहेको बताइएका बेला रुसी विदेशमन्त्रीको उत्तर कोरिया भ्रमणलाई निकै अर्थपूर्ण रुपमा लिइएको छ ।

यसै विषयमा वार्ता गर्न उता उत्तर कोरियाका एकजना सैनिक जर्नेल चीनको बाटो हुँदै बिहीबारै अमेरिका पुगेको अधिकारीले जनाएका छन् । सैनिक जर्नेल किम जोल यस वर्ष अमेरिका पुग्ने पहिलो सबैभन्दा उच्च अधिकारी रहेका पनि सो समाचारमा जनाइएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी जुन १२ मा सिंगापुरमा शिखर वार्ता हुने भएको छ । यसको पूर्व तयारीका लागि भन्दै सिंगापुरमा पनि केही उत्तर कोरियाली अधिकारीहरु रहेका छन् ।

उत्तर कोरियाले आफ्ना सबै आणविक कार्यक्रमहरु परित्याग गर्नुपर्ने माग अमेरिकाको छ । तर उत्तर कोरिया भने ती कार्यक्रमहरुको अन्त्य गरेर आगामी दिनमा आफ्नो भविश्य के हुने भन्ने बारेमा चिन्तित रहेको बताइन्छ ।

प्रतिक्रिया