औद्योगिक नगरमा परिणत हुँदै रूपन्देही


-विकास पराजुली  पछिल्लो एक वर्षमा ठूलो तथा साना लगानीका एक सय बढी उद्योगहरू रूपन्देहीमा खुले । विशेष आर्थिक क्षेत्र (सेज) भित्र उद्योग खोल्न प्रस्ताव गरेका छाडेर रूपन्देही अर्बाै लगानीका उद्योगहरू खुलेका छन् । बुटवल औद्योगिक क्षेत्रबाहेक सरकारी स्तरको उद्योग खोल्ने क्षेत्र नभए पनि जिल्लामा निजी भूमिमा ठूलो लगानीका उद्योगहरू खोलिएका छन् ।

नेपालको मध्यभाग तथा भारतीय बजारबाट नजिक रहेका कारण रूपन्देही उद्योग स्थापनाको उपयुक्त स्थान बन्दै गएको छ । रूपन्देहीमा ठूला पूर्वाधार बन्न सुरू भए यता उद्योग खुल्ने क्रम बढेको हो । रूपन्देही ठूला उद्योग भएका जिल्लामा पहिलो स्थानमा पर्छ । जिल्लामा तीन सय ५० बढी ठूला उद्योग छन् । पछिल्लो समय यहाँ ठूला उद्योगहरूको चाप झन् बढेको हो ।

बुटवल–भैरहवा सडकको पूर्व पश्चिम, लुम्बिनी कोरिडोर क्षेत्र लगभग उद्योगहरूले भरिएको छ । सिक्टहन, देवदह क्षेत्रमा ठूला उद्योग खुल्ने तयारीमा छन् । अहिलेसम्म सीमित वस्तु उत्पादन गर्ने उद्योगहरूमा लगानी बढाइएको छ भने साना उद्योगहरूको संख्या बढेको छ ।जिल्ला घरेलु तथा साना उद्योग कार्यालयका अनुसार जिल्लामा साढे ९ हजार बढी उद्योगहरू चालु अवस्थामै रहेका छन् ।

गएको वर्षमात्रै एक हजार ३६ वटा उद्योग दर्ता भएका थिए । यी ३ करोड लगानीभन्दा कमका हुन् । उर्जा, कृषि, वन पैदावार, खाद्यन्न, छाला, प्लास्टिक, स्टिल, फलामजन्य, सिमेन्टजन्य लगायतका उद्योग खुलेका छन् । ठूलो लगानीका उद्योग मात्रै २ सय २१ वटा छन् । यी उद्योगमा अर्बाै लगानी छ ।

बुटवल औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका कामु प्रमुख तुलबहादुर राना पूर्वाधार, कच्चा पदार्थ आपूर्तिको सुलभता, बजारीकरणमा सहजताका कारण बुटवल र आसपासका क्षेत्रमा उद्योग बढिरहेको बताउँछन् । ‘रूपन्देही उद्योग स्थापनामा उर्वरभूमि नै बनेको छ, उनी भन्छन, ‘केही वर्षपछि यहाँ तीव्र औद्योगीकरण हुने प्रशस्त आधारहरू तयार भएका छन् ।’ मूलुककै दोस्रो ठूलो भन्सार नाका बेलहिया रहेको रूपन्देहीमा भारतबाट कच्चा पदार्थ आयात गर्दा लागत कम पर्छ ।

उद्योगबाट उत्पादन भएका वस्तुहरूको बजारका लागि पूर्वपश्चिम नै सहजरूपमा जान सक्ने केन्द्र बुटवल रहेकाले उद्योगीहरूले यस क्षेत्रमा उद्योग खोल्न चासो देखाइरहेका छन् । केही समयअघि रूपन्देही उद्योग संघले उद्योग खोल्न चाहानेहरूसँग आशय पत्र माग्दा एक सातामा पाँच सय वटा आवेदन परेका थिए । रूपन्देही उद्योग संघका अध्यक्ष गणेश अधिकारका अनुसार ती उद्योगीहरू औद्योगिक क्षेत्र निर्माण भए उद्योग खोल्न तयार थिए ।

कतिपयले चर्काे मूल्यको जमिन खरिद गरेर उद्योग सञ्चालन गर्दै आइरहेका छन् । उद्योगीहरूले सडक, विद्युत्, सञ्चार सञ्जालले जोडिएकोले रूपन्देहीमा उद्योग स्थापना गर्न सहज मान्ने गरेका छन् । बुटवल पश्चिम तथा पहाडी जिल्लाको संगमस्थल मात्रै नभई लुम्बिनी अञ्चलकै प्रमुख व्यापारिक स्थल पहिलेदेखि नै छ । पछिल्लो पटक भएको विकासले बुटवल मुलुककै राम्रो सहर बन्दै गएको छ ।

सहरमा हुने नियमित जसोको बाक्लो चहलपहलले समेत उद्योगहरूलाई व्यापारीकरणका लागि बुटवल सहज बन्दै गएको उद्योगीको भनाइ छ । भारतको प्रमुख औद्योगिक सहरसँग पायक पर्ने नाका र भैरहवा–बुटवलबाट करिब साढे २ सय किमिको दूरीमा काठमाडौं, पोखरा, नेपालगञ्ज, वीरगञ्ज सहरमा जोडिन पनि सहज भएकाले लगानीकर्ताको रोजाइमा यो स्थलमा परेको हो ।

नयाँ ठूला उद्योग लगाउन चाहनेहरूले रूपन्देहीमा पहिलो पटक प्रयास गर्ने गरेको उद्योगीहरू बताउँछन । सुरक्षित तथा नयाँ भौतिक संरचनाले समेत रूपन्देहीमा उद्योग खोल्ने वातावरण बन्दै गएको छ । मुलुकमा हुने अधिकांश औद्योगिक तथा व्यापारिक कारोबार यही स्थान हुँदै भइरहेको छ । भौतिक पूर्वाधारका कारण नाकाको प्रयोग बढ्न थालेको हो ।

पछिल्लो समय अटो मोबाइल्स कम्पनीहरू सुजुकी, महेन्द्रा, हुन्डाई, आयसर, होन्डा, मित्सुबिसी, टोयटा, किया, फोर्ड, डायसुलगायत कम्पनीका लागि रूपन्देही रोजाइमा परेको रूपन्देही उद्योग संघका अध्यक्ष रेग्मीले बताउँछन् । यहाँ ठुला उद्योगहरू जगदम्बा, अर्घाखाँची, अग्नी सिमेन्ट, गोयन्का, पञ्चकन्या ग्रुपका विभिन्न उद्योगहरू स्थापना भएका छन् । ठूला साबुन उद्योग, चाउचाउ उद्योगहरू पनि जिल्लामा आउने तयारीमा छन् ।

औद्योगिक क्षेत्रमा अझै रूचि
प्रदेश नम्बर ५ स्तरीय औद्योगिक क्षेत्र रूपन्देहीको मोतीपुरमा बन्ने भएपछि उद्योगीहरू अझै बढी उत्साहित भएका छन् । अन्य स्थानमा जग्गाको खोजी हुदै गर्दा मोतिपुरमा भने डिपिआरको काम भइरहेकाले यहाँ छिट्टै उद्योग खोल्न सकिने सम्भावना छ । धेरै उद्योगीहरू औद्योगिक क्षेत्रभित्र उद्योग खोल्न चाहन्छन् ।

बुटवल औद्योगिक क्षेत्रका कामु प्रमुख रानाले औद्योगिक क्षेत्र भित्र उद्योग स्थापना गर्दा सुरक्षा, भौतिक पूर्वाधारको लागि सडक, ढल, पानी, विद्युत् सहजरूपमा पाइने भएकाले धेरै उद्योगीहरू औद्योगिक क्षेत्रमा उद्योग खोल्न आकांक्षी भएको बताउँछन् । त्यस्तै, एक अर्कोका परिपुरक उद्योगहरू पनि क्षेत्र भित्र स्थापना भएका हुन्छन् ।

जसले उद्योग सञ्चालनमा सहज बनाउँछ । लामो समय लोडसेडिङको चर्को मारमा रहेका उद्योगीहरू अहिले उर्जा क्षेत्रमा भइरहेको सुधारले उत्साहित छन् । नेपाल उद्योग परिसंघका केन्द्रीय सदस्य एजाज आलम उर्जाको व्यवस्थापन सही हुने हो भने उद्योगहरूको विकासक्रम अझै तीव्र रूपमा हुने बताउँछन् ।

जल बिद्युत आयोजनाको छिटो निर्माण तथा भारतबाट पनि विद्युत् ल्याएर भए पनि विद्युत् आपूर्तिमा सहजता ल्याउनुपर्ने भनाइ उद्योगीको छ । अहिले उर्जा क्षेत्रमा आएको सुधारले उद्योगको उत्पादन बढ्दै गएको उद्योगीहरू बताउँछन् । वर्षाैदेखि मुलुकमा औद्योगिक क्षेत्रको विस्तार र नयाँ स्थापना हुन सकेको छैन । औद्योगिक क्षेत्रको विस्तार तथा नयाँ स्थापनामा ध्यान नदिँदा मुलुकको औद्योगिकीकरणमा नकारात्मक प्रभाव परेको उद्योगी, व्यवसायीको भनाइ छ ।

उद्योगीमा उत्साह
प्रदेश–५मा सरकारले घोषणा गरेको मोतिपुर औद्योगिक क्षेत्रले यस क्षेत्रका उद्योगीहरूमा उत्साह थपेको छ । लामो समय जग्गा नपाएर बसेका तथा बाहिर उद्योग सञ्चालन गरेका पनि अब दुई वर्ष भित्रमा मोतिपुर औद्योगिक क्षेत्र मै उद्योग स्थापना गर्नेमा विश्वस्त छन् । ८ सय १४ बिघा क्षेत्रफलमा बन्ने उक्त क्षेत्रमा यस क्षेत्रका ठुला उद्योगहरू स्थापना गर्न पाउने छ । भने हजाराैँले रोजगारी पाउने छन् ।

मोतिपुर औद्योगिक क्षेत्रको लालपुर्जा औद्योगिक व्यवस्थापन लि. को नाममा पुगेको छ । अहिले उक्त क्षेत्रमा कति उद्योगहरू रहने, कस्ता उद्योग रहने, सडक, विद्युत, ढल, साथै वातावरणलाई प्रदूषण रोक्नको लागि गर्न सकिने विभिन्न व्यवस्थाको विषयमा अध्ययन भइरहेको छ । डिपिआर निर्माणपछि अहिले वातावरणीय प्रभाव मूल्यांकनको काम अहिले मोतिपुर औद्योगिक क्षेत्रमा भइरहेको बुटवल औद्योगिक क्षेत्रका प्रबन्धक तुल बहादुर रानाले जानाकारी दिए ।

बुटवल उद्योग वाणिज्य संघ, रूपन्देही उद्योग सघं तथा अन्य सरोकारवालाहरूले रूपन्देहीमा नयाँ औद्योगिक क्षेत्रको आवश्यकता रहेको भन्दै पटक–पटक माग गरेका वेला यहाँ प्रदेशस्तरको औद्योगिक क्षेत्र प्रस्ताव भएको हो । यसले उद्योगीमा उत्साह थपेको बुटवल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष नवराज श्रेष्ठ बताउँछन् । मोतिपुर औद्योगिक क्षेत्र निर्माणले रूपन्देही उद्योग क्षेत्रमा बलियो हुने उनको बुझाइ छ । नेपालमा पहिलो पटक २०१६ सालमा बालाजु औद्योगिक क्षेत्र स्थापना भएको थियो ।

२०४४ सालमा राजविराज औद्योगिक क्षेत्र स्थापना भएयता नयाँ थपिएको छैन । अहिले मुलुकमा ११ औद्योगिक क्षेत्र स्थापना भए पनि धनकुटाको बाहेक १० वटा चालु छन् । औद्योगिक क्षेत्रमा उद्योग स्थापना गर्न सरकारले सहुलियतमा जग्गा दिने तथा खानेपानी, बिजुली र सडक जस्ता पूर्वाधार विकास हुने भएकोले व्यवसायीले औद्योगिक क्षेत्रमा उद्योग स्थापना गर्न रूचाउँछन् । रूपन्देही उद्योग संघले मक्रहरमा २५ बिघा जमिनमा औद्योगिक क्षेत्र बनाउँदै छ ।

बुटवल औद्योगिक क्षेत्र
बुटवल औद्योगिक क्षेत्रमा अहिले ६४ उद्योग चालु छन् । प्रस्तावित पाँच सय ४० रोपनी जग्गामा औद्योगिक क्षेत्र विस्तार गर्न सके कम्तिमा सय उद्योग स्थापना गर्न सकिने बुटवल औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका कामु प्रमुख रानाले बताए । उनले बुटवल धागो कारखानाको अनुत्पादक जग्गा फिर्ता लिई नयाँ उद्योग प्रवद्र्धनको लागि उद्योग मन्त्रालयसँग पहल गरिरहेको बताए ।

बुटवल औद्योगिक क्षेत्र ४ सय ३४ रोपनी अर्थात् साढे ३३ बिघा जग्गामा फैलिएको छ । जसमध्ये ०६४ सालदेखि बन्द रहेको बुटवल धागो कारखानाले १ सय ४४ रोपनी जग्गा ओगटेको छ । औद्योगिक क्षेत्रमा अहिले करिब २ हजारले रोगजारी पाएका छन् । जसमा ४ सय महिला रहेका छन् ।

रूपन्देहीमा खाद्यान्न, चाउचाउ, औषधि, स्टिल रोलिङ, बिस्कुट, चप्पल जुत्ता, दाल, मैदा, बियरजस्ता झन्डै ४० उद्योग थपिदैँ छन् । सेजमा पनि आकर्षण छ । भैरहवा सहरलाई व्यवस्थित र सुन्दरीकण गर्न एसियाली विकास बैंकको सहयोगमा सिद्धार्थनगर नगरपालिकाले एकीकृत सहरी विकास आयोजना सञ्चालन गरेर आवश्यक भौतिक पूर्वाधार तयार गर्न थालेको छ ।

उद्योगीलाई नेताको साथ
रूपन्देहीमा औद्योगिक क्षेत्रका आधारहरू बन्नुमा राजनीतिक दलका नेताहरूको भूमिका महत्वपूर्ण रहेको छ । यस क्षेत्रका उद्योगीहरूले बनाएका योजनालाई नेताहरूले कार्यान्वयनमा ल्याउने गरेका छन् । जिल्लामा ठूला पार्टीका नेताहरू उद्योगीको समस्यालाई नीतिगत रूपमा समाधान गर्न समेत जुटेका छन् । बजेटसमेत प्रशस्त मात्रामा पाउँदा रूपन्देहीको उद्योग र पूर्वाधारमा विकास बढेको हो ।

जिल्लाबाट निर्वाचित सांसद विष्णु पौडेल पटक–पटक मन्त्री बनेका छन् । उनी अर्थमन्त्री हुँदा यहाँको विकास निमार्णसगै उद्योगीका समस्याको सामाधान गर्ने काम गरेका थिए । उद्योग, व्यापार विकास गर्नको लागि उनले महत्वपूर्ण सहयोग गरेको उद्योगीहरूको बुझाइ छ । नेपाली कांग्रेसबाट रक्षामन्त्री बनेका वालकृष्ण खाँण, राप्रपाबाट आपूर्ति मन्त्री बनेका दिपक बोहरा पनि रूपन्देहीका सांसद हुन् ।

उनीहरूसहित जिल्लाका १४ जना संसादहरूले विकासका लागि योजनाबद्ध काम गर्ने गरिरहेका छन् । जसका कारण विकासमा फड्को रूपन्देहीले मारेको छ । पाल्पाका सांसद सोमप्रसाद पाण्डे उद्योगमन्त्री र विष्णु पौडेल अर्थमन्त्री भएका समय मोतिपुरमा औद्योगिक क्षेत्र बनाउने प्रस्ताव बनेको हो । यसमा जिल्लाका अन्य सांसदको पनि योगदान रहेको बुटवल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष नवराज श्रेष्ठ बताउँछन् ।

रूपन्देहीमा हुँदै गरेको तीव्र सहरीकरण तथा वित्तीय संस्थाहरूको बलियो उपस्थितिले पनि उद्योग व्यवसायमा सकारात्मक प्रभाव परेको छ । डेभलपमेन्ट बैंकर्स एसोसिएसनका उपाध्यक्ष प्रकाश पौडेलका अनुसार यहाँ रहेका २ सय १६ वित्तीय संस्थाहरूबाट उद्योग स्थापनाका लागि ठूलो कर्जा प्रवाह भएको छ ।

प्रतिक्रिया