पर्यटनको लक्ष्य पूरा नगर्ने बजेट

‘अघिल्लो वर्षकोभन्दा मात्रै ३५ अर्ब रुपैयाँ बढी छ । अर्थात् अहिलेको बजेटलाई गत वर्षको बजेटको फोटोकपी भन्दा फरक पर्दैन । तर अघिल्लो वर्षको बजेटलाई नेपाली कांग्रेसले आर्थिक समृद्धिमा फड्को मार्ने नमुना भनेर टिप्पणी गरेको थियो भने तत्कालीन प्रतिपक्ष एमालेले विरोधका लागि शब्दकोषमा भएका सबै शब्दहरू प्रयोग गर्न बाँकी राखेको थिएन ’

 अर्थमन्त्री डा.युवराज खतिवडाद्वारा १५ जेठमा संसद्मा पेस गरिएको आगामी आर्थिक वर्षको बजेटप्रति जनताको मिश्रित प्रतिक्रिया छ । उत्पादकत्व बढाउने, रोजगारी सिर्जना गर्ने र व्यापार घाटा कम गराउने लक्ष्य राखेको पाइन्छ । पूर्वाधार र ऊर्जा विकासका पनि थुप्रै कार्यक्रम छन् ।

झट्ट हेर्दा बजेटको नकारात्मक टिप्पणी गरिहाल्न गाह्रो छ । प्रमुख विपक्ष नेपाली कांग्रेसले भनेको छ, ‘यो झूठा आश्वासन बाँड्ने हावादारी बजेट र नीति हो । बजेट कार्यान्वयनप्रति पूर्ण प्रतिबद्धता देखिँदैन । कार्यकर्तालाई अवसर दिने र सामान्य उपभोक्तालाई निराश पार्ने त होइन यो बजेटले ?’

सत्ता पक्षले धेरै राम्रो भन्नु र विपक्षले हवादारी भन्नु हाम्रो मुलुकको प्रचलन नै हो । वार्षिक बजेट सार्वजनिक गर्ने परम्परा जहिले देखि सुरु भयो त्यहीलेदेखि नै एक पक्षले धेरै नै राम्रो भन्ने र अर्को पक्षले घनघोर विरोध गर्ने सिलसिला चलिरहेको छ । यस वर्ष पनि त्यो सिलसिला दोहोरिनु अनौठो होइन ।

तर, प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसले यसपटक अलि विचार पुर्याएको भए राम्रो हुन्थ्यो । एक वर्षअघि नेपाली कांग्रेस सम्मिलित सरकारका अर्थमन्त्री कृष्णबहादुर महराले बजेट भाषण गरेका थिए । त्यतिवेला उनले १२ खर्ब ८० अर्ब रुपैयाँको बजेट ल्याएका थिए । यतिबेलाका अर्थमन्त्री डा. खतिवडाले १३ खर्ब १५ अर्ब रुपैयाँ बराबरको बजेट ल्याएका छन् ।

अघिल्लो वर्षको भन्दा मात्रै ३५ अर्ब रुपैयाँ बढी छ । अघिल्लो वर्ष जे जे कार्यक्रम थिए तिनैलाई निरन्तरता दिइएको छ । अर्थात् अहिलेको बजेटलाई गत वर्षको बजेटको फोटोकपी भन्दा फरक पर्दैन । तर, अघिल्लो वर्षको बजेटलाई नेपाली कांग्रेसले आर्थिक समृद्धिमा फड्को मार्ने नमुना भनेर टिप्पणी गरेको थियो भने तत्कालीन प्रतिपक्ष एमालेले विरोधका लागि शब्दकोषमा भएका सबै शब्दहरू प्रयोग गर्न बाँकी राखेको थिएन ।

यतिवेला त्यही बजेटको फोटोकपी एमालेका अर्थमन्त्री डा.खतिवडाले ल्याएका छन् । एमालेले बजेटको प्रशंसामा शब्द कोषको पूरै उपयोग गरेको छ । नेपाली कांग्रेसले पनि शब्दकोषका कुनै शब्द बाँकी राखेको छैन । यसपटक कुल बजेट १३ खर्ब १५ अर्ब भनिए पनि पुँजीगत बजेट भनेको गत वर्षको जस्तै ३ खर्ब १५ अर्ब रुपैयाँ हो । जसमध्ये १ खर्ब ५० अर्ब रुपैयाँ भूकम्पबाट क्षति भएका भौतिक संरचना पुननिर्माणका लागि छुट्याइएको छ ।

तसर्थ, विकास बजेट भनेको जम्मा पौने २ खर्ब रुपैयाँको हाराहारीमा हो । विगतमा सुरु गरिएका राष्ट्रिय गौरवका आयोजना अघि बढाउने बाहेक नयाँ आयोजनामा बजेट विनियोजन सम्भव थिएन । राष्ट्रिय गौरवका आयोजना निर्धारित मितिमा सम्पन्न गर्ने मामिलामा यो बजेटले ध्यान पुर्याएको देखिन्छ। यो बजेटको सबैभन्दा सकारात्मक पक्ष भनेको यही हो । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल र सुखी नेपाली’ भन्ने मूल नारा अघि सारेका छन् ।

कृषि, पर्यटन र जलस्रोतको भरपुर उपयोग नगरी यो नारा कार्यान्वन सम्भव देखिँदैन । पदभार ग्रहण गर्नेवित्तिकै प्रधानमन्त्री ओलीले यस विषयमा लामो व्याख्या समेत गरेका थिए । प्रधानमन्त्री बन्ने वित्तिकै देशवासीका नाममा सम्बोधन गर्ने प्रचलन छ । तर, ओलीले प्रधानमन्त्री बनेको २ महिना पछि नयाँ वर्षको अवसर पारेर मुगुको रारा ताल किनारबाट देशबबासीका नाममा सम्बोधन गरे। मुलुकको आर्थिक समृद्धिका लागि मुख्य पाटो भनेकै पर्यटन हो भन्ने सन्देश ओलीले दिएका थिए ।

पर्यटन व्यवसायमा उत्साह थपिएको थियो । त्यसो त दृढ इच्छाशक्ति भएका फुर्तिला युवा नेता रविन्द्र अधिकारीलाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिएर प्रधानमन्त्री ओलीले अर्को सकारात्मक सन्देश दिएका थिए । सन् २०२० लाई भव्यरूपमा नेपाल भ्रमण वर्ष मनाउने कार्यक्रम तय गर्ने सन्दर्भमा मात्रै होइन, बाग्लुङ, साँफेवगर, राजविराज विमानस्थललाई पुनर्उत्थान गर्ने मामिलामा पनि पर्यटनमन्त्री अधिकारीको प्रयास सकारात्मक देखियो ।

केही दिनअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको नेपाल भ्रमणले पनि पर्यटन प्रवर्धनमा मद्दत पुगेको समाचार आएको छ । खास गरी जनकपुर क्षेत्रमा भारतीय पर्यटकको संख्या निकै नै बढेको छ । मुक्तिनाथमा पनि बढ्ने क्रम सुरु भएको समाचार आएको छ । विदेशी पर्यटकको वृद्धि गत वर्षको भन्दा करिब २० प्रतिशत छ । तर, यतिले मात्रै सन् २०२० सम्ममा २० लाख पर्यटक पुर्याउने सरकारको लक्ष्य पूरा हुने अवस्था छैन ।

यो लक्ष्य पूरा गर्नका लागि पर्यटनको विकासमा आक्रामक ढंगका कार्यक्रम सरकारले बजेट मार्फत ल्याउने अपेक्षा गरिएको थियो । तर, पर्यटन मन्त्रालयको बजेटमा पनि गर्त वर्षकै निरन्तरता दिइएको छ । एकातिथर दुई वर्षमा दोब्बर पर्यटक भित्र्याउने लक्ष्य राख्ने अर्कोतर्फ पर्यटन मन्त्रालयका लागि आवश्यक बजेट विनियोजना नगर्ने सरकारको नीति आफैँमा विरोधाभाष छ ।

मलुकको कुल राजश्वमा पर्यटनको योगदान उल्लेख्य छ । वार्षिक करिब एक अर्ब रुपैयाँ रोयल्टी त हिमाल ओराहणबापत मात्रै संकलन हुने गरेको छ । चालु आर्थिक वर्षको वसन्त ऋतुको सिजनमा मात्रै हिमाल आरोहणबाट ४१ करोड रुपैयाँ राजश्व संकलन भएको छ । वैदेशिक रोजगारीलाई थाति राख्ने हो भने सबैभन्दा बढी विदेशी मुुद्रा पर्यटन क्षेत्रले नै भित्र्याउने गरेको छ । विदेशी मुद्रा भित्र्याउन तथा व्यापार घाटा कम गर्नका लागि सबैभन्दा भरपर्दो र उपयुक्त स्रोत भनेको पर्यटन नै हो भन्ने प्रमाणित भइसकेको छ ।

यो कुरा वर्तमान सरकारलाई राम्रोसँग थाह छ । तर पनि पर्यटन मन्त्रालयका लागि बजेट खासै छुट्याइएन । बजेट विनियोजन भन्दा पनि कार्यान्वयन पक्ष महत्वपूर्ण कुरा हो । कार्यान्वन पक्ष सँधै फितलो हुँदै आएको छ । तर, यस पटकको बजेटले महत्वकांक्षा त्यागेका कारण कार्यान्वनको सम्भावना बढेको छ । दीर्घकालिन विश्लेषण गर्ने हो भने पर्यटन व्यवसायीहरू निराश हुनुपर्ने अवस्था छैन । पूर्वाधार निर्माणमा छुट्याइएको बजेटले पनि अन्तत्वगत्वा पर्यटन क्षेत्रलाई नै फाइदा पुर्यउँछ ।

लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल एक वर्षभित्रै र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ३ वर्षभित्र सम्पन्न गर्ने भनिएको छ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम पनि अघि बढाउन लागिएको छ । विराटनगर, जनकपुर र नेपालगन्ज विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा स्तोन्नति गर्ने कार्यक्रम ल्याएको छ । साथै, एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ट्राफिक समस्या समाधानका लागि काभ्रेमा डोमेस्टिक विमानस्थल निर्माण गर्ने योजना अघि सारिएको छ ।

यी सबै पर्यटनकै पूर्वाधार हुन् । यसैगरी, काठमाडौं–तराई फास्ट ट्रयाक , चुरेको उत्तरी क्षेत्र हुँदै पूर्व पश्चिम जोड्ने मदन भण्डारी लोकमार्ग, विभिन्न नदीका कोरिडोर सडकले पनि पर्यटन प्रवर्धनमा उल्लेख्य योगदान पु¥याउँछ । बुढीगण्डकी जलविद्युत् परियोजनाले आन्तरिक पर्यटनका लागि महत्वपूर्ण गन्तव्य थप्ने निश्चित जस्तै छ । गरिबी निवारणका लागि गरिने लगानीले मुलुकमा शान्ति सुरक्षाको प्रत्याभूति गराउँछ । शान्ति सुरक्षा भनेको पर्यटन विकासको सबै भन्दा महत्वपूर्ण शर्त हो ।  (लेखिका पर्यटन व्यवसायी हुन्)

प्रतिक्रिया