भारतमा चट्याङका कारण एक दिनमा ५० को मृत्यु

एजेन्सी । भारतको उत्तरी भागमा चट्याङका लागेर ५० जनाको मृत्यु भएको छ। तीव्र वेगमा आएको हावा र चट्याङका कारण भारतको उत्तरी भागमा मंगलबार मात्रै ५० जनाको मृत्यु भएको भारतीय समाचार संस्था पिटिआईले सरकारी अधिकारीहरुलाई उदृत समाचार प्रकाशन गरेको छ ।

चट्याङ र हावाका कारण केही संरचना भत्किएको र त्यसले चेपेर कयौ मानिस घाइते भएको उल्लेख छ। चट्याङले बिहारमा सबैभन्दा धेरै २० जनाको मृत्यु भएको सरकारी तथ्यांकमा देखाएको छ।

हरेक वर्ष भारतमा मनसुनको समयमा आउने गरेको चट्याङ र हावाका कारण कैयौं मानिसको ज्यान जाने गरेको छ। उत्तर प्रदेशमा मात्रै पनि हुरी र चट्याङका कारण १५ जनाको र झारखण्डमा १२ जनाको मृत्यु भएको उल्लेख छ।

उत्तराखण्डमा पनि हावा र चट्याङले रुख ढलेर किच्दा ३ बालबालिकाको मृत्यु भएको समाचारमा जनाइएको छ। भारतका केही स्थानमा भारी वर्षा भइरहे पनि त्यहाँको मौसम विभागले तापक्रम अझै ४७ डिग्रिसेल्सियससम्म पुग्न सक्ने चेतावनी दिएको छ।

भारतमा सन् २००५ यता चट्याङका कारण मात्रै करिब २ हजार मानिसको मृत्यु भइसकेको भारतको राष्ट्रिय अपराध रेकर्ड ब्युरोको तथ्यांकले देखाएको छ।

गत मे ४ मा पनि भारतमा आएको आँधीका कारण करिब १ सय मानिसको ज्यान गएको थियो।

प्रतिक्रिया