अति राष्ट्रवादीहरूलाई प्रश्नः यो गीतको पंक्ति कता हरायो ?

‘अति राष्ट्रवादी व्यक्तिहरूमा कतिपय डलरवादीहरू छन् । पाउन्डवादी पनि छन् । भारूवादी पनि छन् । युआनवादी पनि छन् । युरोवादी पनि छन् । क्रोनवादी पनि छन् । फ्रैंकवादवी पनि छन् । येनवादी पनि छन् । रूपीया (पाकिस्तानी रूपियाँ) वादी पनि छन् । दिनारवादी पनि छन् । दिरामवादी पनि छन् । रिंगेटवादी पनि छन् । सबैसबै छन् ’

निनाम कुलुङ ‘मंगले’ नेपालका केही अति राष्ट्रवादी मान्छेहरू (खासगरी आफैँ राष्ट्रवादी भन्न र भनिन चाहने व्यक्तिहरू ) ले आजभोलि हाम्रो देश नेपाल बर्बाद हुन लाग्यो । नेपालका नेताहरू ठीक छैनन्, उनीहरू देशप्रति इमान्दार भएनन् ।

स–सानादेखि लिएर ठूला भनिएका जुनसुकै दलका नेता पनि विदेशीको दलालमा परिणत भए । भनी कोलोहोलो मच्याइरहेको देखिन्छ । चिन्ता व्यक्त गरिरहेको देखिन्छ । मानौँ कि, ती केही अति राष्ट्रवादी भनाउँदाहरू नहुँदो हुन त नेपाली नेताहरूले पनि हाम्रो देश नेपाललाई सिक्किमका लेन्डुप दोर्जेले झैँ भारतमा विलय गराइसक्थे ।

तर, अचम्म के छ भने, त्यसरी कोकोहोलो मच्याउने अति राष्ट्रवादी व्यक्तिहरूमा कतिपय डलरवादीहरू छन् । पाउन्डवादी पनि छन् । भारूवादी पनि छन् । युआनवादी पनि छन् । युरोवादी पनि छन् । क्रोनवादी पनि छन् । फ्रैंकवादवी पनि छन् । येनवादी पनि छन् । रूपीया (पाकिस्तानी रूपियाँ) वादी पनि छन् । दिनारवादी पनि छन् ।दिरामवादी पनि छन् ।

रिंगेटवादी पनि छन् । सबैसबै छन् । त्यसमा पनि खासगरी नेपालका घागडान बुद्धिजीवी, डाक्टर (पिएचडी), प्राध्यापक, लेखक, विश्लेषक, पत्रकार, मानवअधिकारवादी आदिको बिल्ला भिरेकाहरू बढी देखिन्छन् ।

यसरी विदेशीको डलर, युरो, पाउन्ड, फ्रैंक, येन, युआन, क्रोन, फ्रैंक, रूपीया, दिनार, रिंगेट, दिराम हजम गरेर विदेशीकै ! र, नेपालका आदिवासी जनजाति, मधेसी, महिला, दलित, मुस्लिम, पिछडिएको क्षेत्र, यौनिक अल्पसंख्यक, मजदुर आदिका अगुवाहरूलाई गाली गर्ने, त्यसमा पनि फलानो संस्था र व्यक्तिले गर्दा नेपालमा धर्म निरपेक्षता र संघीयताको कुरो उठ्यो÷उठायो÷लागू भयो ! भनी संस्था र व्यक्तिको नामै तोकेर गाली गर्नेहरू पनि तिनै अति राष्ट्रवादी भनाउँदाहरू हुन् ।
जब कि, यी बुद्धिजीवी, डाक्टर (पिएचडी) प्राध्यापक, लेखक, विश्लेषक, पत्रकार, मानवअधिकारवादी आदिको बिल्ला भिरेकाहरूले नेपालका आदिवासी जनजाति, मधेसी, महिला, दलित, मुस्लिम, पिछडिएको क्षेत्र, यौनिक अल्पसंख्यक, मजदुर आदिका अगुवाहरूलाई त्यसरी गाली गर्नु÷भन्नु भन्दा पनि हाम्रो देशको इतिहास, भूगोल, जातीय विविधता, भाषिक विविधता, धार्मिक विविधता, सांस्कृतिक विविधता, मौलिक भेषभुषा, मौलिक चाडबाड, मौलिक साहित्य, मौलिक गीत–संगीत, पर्व, मेला आदि इत्यादि यी यी हुन् भनी स्वीकारेर नेपालभित्रका सबैखाले विविधताहरूलाई स्वीकारेर यी विविधता भनेको कुनै जाति वा समुदाय विशेषको मात्रै नभएर समग्र देशकै निधि हुन्, गहना हुन् ।

त्यसैले यी निधिहरू, गहनाहरू हराउन, मासिन र नासिन दिनु हुँदैन, यिनीहरू सबैको संरक्षण र संवद्र्धन गर्नुपर्छ भनी लाग्नुपर्ने थियो । तर, ०६२÷६३ को परिवर्तपछि पनि नेपालका बुद्धिजीवी, डाक्टर (पिएचडी) प्राध्यापक, लेखक, विश्लेषक, पत्रकार, मानवअधिकारवादी आदि जो सम्बन्धित विषयमा रूचि राख्छन्, उनीहरूले औपचारिक रूपमा लेख्दैनन्÷बोल्दैनन् । उल्टै उनीहरू अझै पनि एकल जातीय ढंगले अघि बढ्न खोज्छन् ।

यसरी घोषित रूपमा हेर्दा देशमा लोकतन्त्र वा भनौँ गणतन्त्र आएको लगभग ११÷१२ वर्ष बितेको र नयाँ संविधान जारी भएको पनि ३ वर्ष हुन आँटेको भए तापनि सो अनुसार तलतलसम्म (गाउँ, वडा, टोलसम्म) व्यवहारिक रूपमा लोकतन्त्र वा भनौँ गणतन्त्रको मर्म अनुसार काम हुन सकी रहेको छैन । धर्म निरपेक्षताको मर्म अनुसार व्यवहार भएको अनुभूत त झनै हुन सकेको छैन ।किनभने, अझै पनि गोरू वा गाई मारेको आरोपमा नेपालका आदिवासी जनजाति, दलित, मुस्लिम वा जो कोहीलाई पनि पुरानो ऐन–कानुनअनुसार नै १२ वर्ष जेल हाल्न खोजिन्छ ।

यसरी हेर्दा अझै पनि हाम्रो देशका कतिपय बुद्धिजीवी, डाक्टर (पिएचडी) प्राध्यापक, लेखक, विश्लेषक, पत्रकार, मानवअधिकारवादी आदिको बिल्ला भिरेकाहरूको मानसिकता हेर्दा कस्तो लाग्छ भने, संविधान, ऐन, कानुन, नियम, विनयम, दफा, उपदफा आदिमा जेसुकै लेखिएको भए तापनि नेपालमा एकल भाषा, एकल जाति, एकल संस्कृतिक, एकल धर्म, एकल चाडबाड, एकल पर्व मेला, एकल भेष, एकल साहित्य, एकल गीत–संगीत आदिकै सर्वोच्चता कायम होस् !

त्यसैले उनीहरू नेपालको विविधताको विषयमा (केवल जातजाति र भाषाभाषीको विषयमा मात्रै होइन) धरातलीय यथार्थमा गएर कहिल्यै पनि चिन्तन–मनन, बहस र छलफल गर्नै चाहँदैनन् । त्यसैले यहाँ यो अकिञ्चनले हाम्रा यी अति राष्ट्रवादी भन्न र भनिन चाहनेहरूलाई ०६२÷६३ को परिवर्तनअघि मात्रै होइन, ०४६ सालको परिवर्तनभन्दा पनि अगाडि लगभग ०३३ सालतिरको प्रसंग सम्झाउने चेष्ठा गरेको छ । किनभने, ०६२÷६३ को परिवर्तनपछि पश्चिमा फिरिंगीहरूले गर्दा नेपालमा धर्म निरपेक्ष लागू भयो । संघीयता लागू भयो, एकछिनका लागि यो भनाइलाई स्वीकार गरौँ !

तर, यहाँ २०१० तिरै तत्कालीन कवि तथा साहित्यकार (विसं ०६० को सेरोफेरोमा तत्कालीन राजा ज्ञानेन्द्रले आफू मन्त्रीपरिषदको कार्यकारी पनि भएपछि राष्ट्रकवि घोषित गरेका) माधव घिमिरेले लेखेको तल प्रस्तुत ‘जय, जय, जय हे नेपाल’ शीर्षकको राष्ट्रिय गीत कतिजना राष्ट्रवादीहरूले पढेका होलान् ? सुनेका होलान् ? प्रश्न गर्न मन लाग्यो ।  किनभने, जान्ने सुन्नेहरूका अनुसार सो राष्ट्रिय गीत ०१० र ०२० को दशकमा नेपालको हरेक कुना–कन्दरामा खुबै सुन्निथ्यो । कारण के थियो भने, त्यो वेला सञ्चारको अरू साधनहरू थिएनन् । सञ्चारको साधन भनेकै रेडियो हुन्थ्यो ।

त्यो पनि सर्वसाधारण नेपालीहरूको पहुँचमा थिएन । गाउँघरका हुनेखाने भनिनेहरूको घरमा भने रेडियो हुन्थ्यो । फणीन्द्र नेपालले लेखेको ‘नेपालः टिस्टादेखि सतलजसम्म’ नामक किताबको पाना नम्बर २ सय १९ र २ सय २० मा उल्लेख भए अनुसार सो गीतलाई ०३३ सालमा साझा प्रकाशनले त्यतिवेलाका कविवर र हालका राष्ट्रकवि माधव घिमिरेको गीत संग्रहमा ‘किन्नर किन्नरी’ समेटेर प्रकाशित गरेको थियो ।

तर, अति राष्ट्रवादीहरूका लागि मात्रै नभएर, हामी सबैले सुन्दा अचम्म लाग्ने कुरो के छ भने, ०३३ सालमा साझा प्रकाशनले प्रकाशित गरेको माधव घिमिरेको गीत संग्रह ‘किन्नर किन्नरी’ मा ‘जय, जय, जय हे नेपाल’ शीर्षकको जुन गीत थियो, सो गीतको अन्तिम चार अनुच्छेद भने हटाएको थियो । अब हाम्रा अति राष्ट्रवादीहरूले हटाइएका चार पंक्तिमा केके लेखिएको थियो त ? खोज्नु पर्दैन ? कि थाहा नै छैन ? यदि थाहा छैन भने, हटाइएका ती तल प्रस्तुत गरिएको छ ।

‘पश्चिम किल्ला काँगडा पूर्वमा टिस्टा पुगेथ्यौँ
कुन शक्तिको सामुमा कहिले हामी झुकेथ्यौँ
बुद्धले यही पाएथे ज्ञानको पहिलो मुहान
शिवले यहीँ ल्याएथे सृष्टिको पहिलो बिहान ।’

अति राष्ट्रवादी ज्युहरू, माथि उल्लेखित पंक्तिहरू थिए, हटाइएको अन्तिम चार अनुच्छेदमा । हुन त भाग्यवश उक्त गीतका रचयिता तथा राष्ट्रकवि माधव घिमिरे स्वयं अझै पनि जीवितै हुनुहुन्छ । त्यसैले नेपालका आदिवासी जनजाति र मधेसी, महिला, दलित, यौनिक अल्पसंख्यक, मजदुर, पिछडिएको क्षेत्र आदिका अगुवाहरूलाई साम्प्रदायीक र विखण्डनवादी देख्ने नचाहिँदो माग राखेको देख्ने अति राष्ट्रवादीहरूले ‘जय, जय, जय हे नेपाल’ शीर्षकको राष्ट्रिय गीतमा उल्लेखित माथिको अन्तिम चार अनुच्छेद कसले, किन, कसरी र के स्वार्थले हटायो÷हटाउन लगायो ?

हटाइएका उक्त चार पंक्तिबारे राष्ट्रकवि स्वयम् जिउँदे छँदै उहाँलाई प्रश्न गरेर यथार्थ पत्ता लगाउन यो अकिञ्चनको विशेष आग्रह छ । र, यो लेखको लेखक निनाम कुलुङ ‘मंगले’ भन्ने नाथे फुच्चेको चुनौति पनि हो, अति राष्ट्रवादी कमरेडहरूलाई ।राष्ट्रकवि माधव घिमिरले त्यो बेला लेखेको ‘जय, जय, जय हे नेपाल’ शीर्षकको अगाडिको पंक्तिहरू तल उल्लेख छ ।

गाउँछ गीत नेपाली ज्योतिको पंख उचाली
जय जय जय हे नेपाल सुन्दर शान्त विशाल ।
गण्डकी, कोसी, कर्णाली, मेची र महाकाली
लेक र बेंसी बिउँझाउँछन् लहर लाखौँ उचाली
हिमाल चुली बोलाउँछ पहिलो झुल्का निकाली
सगरमाथा शिखरमा पुग्दछ पहिले नेपाली ।

सीताले सारा भिजाइन दक्षिण लंका भारत
भृकुटी तारा उदाइन उत्तर चीन, तिब्बत
हामीले हिमाल उठायौँ एसियाको माझमा
सभ्यता वास बसेथ्यो आएर यहीँ साँझमा ।

यै नेपाली धूलोमा दिलको फूल रोपेर
यै पहाडी शिलामा प्रीतिको गीत खोपेर
बाँचौँला हामी नेपालमा चन्द्र र सूर्य ध्वजा ली
बाँचौँला हामी हिमालमा ज्योतिको पंख उचाली ।

प्रतिक्रिया