गफाडी जनताको गरिब देश


डा.शरण कुमार पाण्डे  दिनदिनै समाचार सुन्दा पनि दिक्क लाग्ने भइसकेको छ एउटै कुरा कति हेर्नु, सुन्नु तर एउटा फाइदाचाहिँ गजबले हुँदोरहेछ कम्तिमा गफ गर्नका लागि खुराक खोज्न नपर्ने । भ्यागुता मर्यो पनि गफ कमिलाले टोक्दा पनि गफ ! उक्त गफले के फाइदा भइरहेको छ त्यसको मतलव छैन मतलब गर्न जरुरी पनि ठान्दैनन् किनकी अरूको विषयमा भलाकुसारी गरेर दिन काट्न पाए उपलव्धि मान्ने संस्कृतिको विकास भएको समाजका हामी नेपाली ।

गफ गर्नका लागी गरिने गफ संस्कृति एक दिनमै विकास भएको भने चाहिँ होइन यसका लागि धेरै मिहिनेत गर्नुपरेको छ धेरै वर्ष पहिलेदेखि बिहान उठ रेडियोमा समाचार सुन, फेरी टिभीमा अर्को समाचार, बिहानको चिया खानेबेला भो सबै बसेर फेरि गफ नै गर्नुपर्यो । मर्निङ वाकमा गयो हातमा मोबाइल लिएर एफएममा समाचार, पत्रपत्रिका नहेरी झनै भएन, खाना खाने बेला भयो सो को पनि अवसर छोपेर फेरी उही गफ ।

अफिस गयो फेरि सुरु हुन्छ चियाको गफ अनि आआफ्नो तर्क पेस गर्न थाल्छन् मानौँ सबैको प्रमुख काम नै त्यही हो । सबैले गफ विषयमा ठूलो उपाधि पाएर विश्लेषक बनेका छन् । कर्मचारी भेट भयो कि फेरी सुरु हुन्छ आज यस्तो भएछ, उस्तो भएछ देश बर्बाद हुने भो कहिलेकाहीँ एकआपसमा झगडा पनि गर्न थाल्छन् । कार्यालयबाट घरतिर लम्कँदा बाटोमा भेटिएको साथीसँग पनि गफ नै सुरु हुन्छ र प्रायः बेलुकाको साथीभाइहरूको जमघट होटल, रेस्टुरेन्टमा स्थान परिवर्तन तर गफ भने उही ।

फेरि घर गयो राती उही गफ गर्दै अरूलाई गाली गर्दै सुत्छौ बिहानको समाचार सुन्ने प्रतिक्षामा, अन्तहीन गफमा रुमलिँदै हाम्रो दैनिकी बनाउँदा त्यसले निम्ताइरहेको परिस्थितिको कसैले आँकलन गरेको पाइँदैन । गफको विषय बस्तु हुनेछ उही देशको राजनीति, संघीयता र तिनै नेताका बोलीको अहिले गफ गर्ने मजाको खुराक मिलेको छ सिन्डिकेट । होइन यो सब चिन्ता गर्नुपर्ने आवश्यकता नै हो कि हामी सबैको काम नै नभएर हो ।

आफूले गर्ने कामको विषयमा त खासै न कुरा भएको सुनिन्छ न चिन्ता नै । गम्भीर मोडमा उभिएका छौँ यसरी नै आफ्नो प्रमुख कामलाई बेवास्ता गरी फगत गफमा रुमल्लिरहने हो भने हामी झन् झन् कमजोर बन्दै जानेछाैँ र एकदिन अरू कसैले कठै ! गफाडी जनताका गरिब देश भन्ने पहिचान नपाइएला भन्न सकिँदैन ।

यस्तो पहिचान पाइए पनि पनि भन्न बाँकी आधारहरू हामीसामु रहनेवाला छैन । त्यस्तै जनता मध्ये समचार सुन्ने, हेर्ने र मौका मिले गफ गर्ने म पनि लाखौँमा एक व्यक्ति हुँ। आले गरेको साह्रै राम्रो नै लाग्छ र अरूले आफ्नो कामको कुनै अवरोध गर्यो या प्रतिरोध गर्यो भनेचाहिँ अलि मन खिन्न हुन्छ । तर, अरूजस्तो इगो चै लिइहाल्दिनँ सायद हैसियत नभएर होला ।

विकासको बारेमा खुबै चिन्ता लाग्छ मलाइ पनि तर विकास र समृद्धिका लागि आफ्नो ठाउँबाट के प्रयास गरे भनेर सोच्दा भने अलि असजिलो महसुस हुन्छ किनकी म आफ्नो काममा भन्दा बढी समय विनाअर्थको गफमा रुमलिने गर्दछु । म त एक प्रतिनिधि पात्र मात्र हुँ मेरोजस्तो संस्कृति झांगिँदै गइरहेको छ धेरैमा । ठूलाठूला भाषण सुन्नु तर्कवितर्क गर्नु त हाम्रो संस्कृति बनिसकेको छ ।

मानिसको आफ्नो विज्ञता के मा छ ख्याल छैन तर प्रसंग आयो भने सबैकुरा जानेको जस्तो गरी गफचाहिँ दिइहाल्छन् चाहे मन्त्री नै किन नहुन् । आफ्नो विज्ञतालाई अझ मजबुद बनाउन समय खर्च गर्नुको साटो अरूको बारेमा टीकाटिप्पणी गरी आफूलाई राम्रो सावित गर्न लागि पर्नेको जमात यो समाजमा धेरै नै भइसकेको छ । कुरा धेरै, काम कम र काममा लाग्नुपर्ने समयमा त्यसको ठीक उल्टो अभ्यास हुनुले पनि हाम्रो समाज गलत बाटोमा त गइरहेको छैन भन्ने प्रश्न मनमा बारम्बार उब्जिरहन्छ ।

बैठक, गोष्ठी र पत्रकार सम्मेलन पनि गफजस्तै
सूचनाहरू लिनु दिनु राम्रो पक्ष हो तर आफ्नो दैनिक जीवनमा कस्ता खाले सूचना आवश्यकता पर्छ त्यो पाउनु र दिनुसँग बढी सरोकार हुनुपर्नेमा यहाँ त एउटा नागरिकता बनाउनु पर्यो भने के के चाहिन्छसमेत सोधेर बस्नुपर्ने बाध्यताका जनमानसमा हामी नै छौँ । भनिन्छ गर्जिने बादल बर्संदैन ।

हामी कति भाग्यमानी छौँ भने दिनहुँ बिहान उठ्ने बित्तिकै राष्ट्रकै उच्चपदमा रहनुभएका मन्त्रीज्यूहरूको गफ सुन्ने अवसर एफएमबाट प्राप्त गर्दछौँ । बुबाले म सानो छँदा भन्नुहुन्थ्यो हामी अभागी रहेछौँ छोरा देशको उच्चपदमा आसिन व्यक्तिहरूलाई (मन्त्रीलाई) देख्न त टाढाको कुरा स्वर सुन्न पनि साह्रै मुस्किल हुन्थ्यो सायद पञ्चायती व्यवस्थाको कारणले गर्दा होला ।

पहिला–पहिला काम गरेर देखाउँदा पनि खराब व्यवस्थाको कारण आलोचित बन्नुपरेको अवस्था थियो । भने अहिले भने सुन्दर व्यवस्थाका कारण काम नगरे पनि गफ गरेर नेतृत्व वर्गले आफूलाई अब्बल सावित गरिरहेका छन् । उदाहरणका लागि जनप्रतिनिधिहरू जहाँबाट राजनीतिक सक्रिय रूपमा गरेका हुन्छन् उक्त स्थानको हरेक गतिविधिलाई (समस्यासमेत) नजिकबाट निकालिरहेका हुन्छन् र जानकारी पनि राख्छन् ।

निर्वाचनपश्चात् जनताको मतमा जब आफूलाई स्थापित गर्छन् अनि गरेका वाचाहरू अझ भनौँ गफहरू चटक्कै बिर्सिएजस्तो समस्याको बारेमा अनभिज्ञता प्रकट गरी सुरु हुन्छ समस्या बुझ्न घरदैलौ, रेडियो कार्यक्रम, अन्तत्र्रिmया, गोष्ठी पत्रकार सम्मेलन, अनुगमन कार्यक्रम । अन्ततोगत्वा समस्या बुझ्दाबुझ्दै आफ्नो कार्यकाल समाप्त हुन्छ र सम्पूर्ण दोष अरूमाथि लगाई नेतृत्व वर्ग पानीमुनिको ओभानो भई यो अन्तहीन चक्रमा सामेल भइरहन्छन् ।

नेतृत्वमा पुगेपछि विकासको खाका कोरी खुरुखुरु कार्यान्वयन गरे हुने नि जस्तैः पानी नभएको ठाउँमा पानी, शिक्षा स्वास्थ्यको सर्वसुलभ व्यवस्था, कृषिको व्यवसायिकीकरण र आधुनिकीकरण, पर्यटन विकास, सामाजिक सुरक्षा आदि सबैले त बुझेकै त छन् होइन यो काम गर्न पनि गोष्ठी र तालिम, भम्रण, अनुगमन जरुरी छ त ? गम्भीर प्रश्न उब्जिएको छ । यदि जरुरी नै हो भने त्यसको प्रभावकारिता र जवाफदेहिता खोई ?

उपलब्धीहरू कति भए ? पदीय दायित्व र सो को गरिमालाई ख्याल नै नगरी सानोभन्दा सानो बैठक गोष्ठीमा आफूलाई सामेल गराउने अनि प्रतिबद्धता जनाउने र कार्यान्वयनमा उदासीन हुने अहिलेको संस्कृति बनिसकेको छ । ०४६ सालतिर कृषिमा आत्मनिर्भर भएको देश अर्बौं कृषिमा लगानिपश्चात् पनि परनिर्भरता बढ्दै जानुले हाम्रो कमजोर व्यवस्थापन भन्ने बुझ्दाबुझ्दै त्यसलाई सुधार गर्नुको साटो पत्रकार सम्मेलन गोष्ठी गरी कृषिमा आत्मनिर्भरको गफ गरिरहेका छौँ ।

गोष्ठी गर्ने पनि एउटै, सुन्ने पनि उही, त्यसको कार्यान्वयन गर्ने पनि आफैँ होइन सिधै काम गरेर देखाइदिए हुने नि पत्रिका र सामाजिक सञ्जाललाई गफ गर्ने थलो कति बनाउनु । हामीले गरेका बैठक गोष्ठी हेरौँ उदेकलाग्दो छ । औपचारकतामा नै अर्बौं खर्च भइरहेको छ सबैलाई जानकारी नै छ ।

फेरि पनि त्यसैलाइ निरन्तरता दिन्छौँ कारण हो ? हाम्रो विज्ञतामा आएको प्रश्नहरू र मौलाउँदै गएको कमजोर संस्कृति । सुधार आफूबाट गर्नुपर्दछ भन्ने धेरै सुनियो तर मुहानमा समस्या भइरहुन्जेल जति नै सुधार गर्ने खोजे पनि परिणाममा शून्य हुँदो रहेछ । गर्न खोज्ने मानिसचाहिँ सबैको आँखामा कसिंगर ।

व्यवस्था फेरियो मनस्थिति फेरिएन
पञ्चायत बहुदल हुँदै हामी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकमा प्रवेश गरेका छौँ व्यवस्था फेरिएकै हो । जुन व्यवस्थालाई विश्वको उत्कृष्ट भनेर दिनदिनै सुन्न पाइन्छ त्यो होला पनि तर एउट गरिब भारी बोकेर गुजारा चलाउने जसले बेलुका घर जाँदा छोराछोरी मलिन अनुहार लिएर आज मासु खान मन छ बुबाभन्दा आँखाबाट आँशुको थोपा झार्न विवश त्यो बुबाको समस्या फेरिएको व्यवस्थाले छोयो कि छोएन ?

त्यो महत्वपूर्ण हो । हामी सधँै व्यवस्था परिवर्तनको नाममा संक्रमणकालको भुमरीमा रुमल्लिरहँदा जवाफदेहिताको धज्जी उडाइरहेका छौँ । तैपनि सशासन र भ्रष्ट्राचारको शून्य सहनशीलताको गफ गरेर भने थाक्दैनौँ । व्यवस्था फेरियो परिस्थिति फेरियो तर मनस्थिति भने फेरिएन नेतृत्व उही, कर्मचारी उही, आचरण उही, प्रवृत्ति उस्तै । कुनै बेला ट्रान्सपेरेन्सी इन्टरनेसनलको प्रतिवेदन हेर्ने मौका मिलेको थियो ।

त्यसमा उल्लेख गरेको थियो नेपालमा सबैभन्दा बढी भ्रष्टचार हुने क्षेत्र राजनीति र त्यसपछि कर्मचारीतन्त्र फेरी बिहान समाचार सुन्छु पहिलो र दोस्रो नम्वरको भ्रष्टाचार हुने क्षेत्रका व्यक्ति मिलेर देशमा सुशासन प्रवद्र्धन र भ्रष्टाचार उन्मुलन गर्ने कुराको साह्रै शालिन भाषामा गफ गरिरहेको र मनमनै सम्झन्छु भ्रष्टाचारीले सुशासन प्रवद्र्धन गर्न कसरी सम्भव होला ? भष्ट्राचार नियन्त्रण गर्न जनचेतना अभियान रे !

कानुनको कार्यान्वयन गर्ने, निर्देशन दिएको छु अब सुधार हुन्छ आदि । हरेक दिन सुन्छु । सायद यो कुरा मेरो क्षमताले बुझ्न सकेन र म पनि यस्तै गफमा रमाउन थाल्छु अनि भन्ने गरेको छु देशमा भ्रष्टाचार उन्मुलन हुन्छ सुखी र समृद्ध नेपाल बन्छ कसैले कसरी भनेर प्रश्न तेर्साए भने म सँग भएको बनिबनाउ उत्तर दिन्छु र भन्छु संघीयताले । कठै हामी ! गफाडी जनताको गरिब देश । (लेखक जिल्ला पुशुसेवा कार्यालय प्युठानका प्रमुख हुन्)

प्रतिक्रिया