क्यानडाको रेस्टुरेन्टमा विष्फोट


टाेरन्टाे । क्यानडाको टोरन्टो नजिकै रहेको एउटा भारतीय रेस्टुरेन्टमा बिहीबार राति गराइएको विष्फोटका कारण कम्तिमा १५ जना घाइते भएका क्यानाडाको प्रहरीले जनाएको छ । टोरन्टोदेखि पश्चिममा रहेको मिसिसाउगा सहरी क्षेत्रमा रहेको रेस्टुरेन्टमा भएको विष्फोटमा परी घाइते भएकामध्ये तीन जनाको अवस्था गम्भीर रहेको क्यानडाली अधिकारीले बताएका छन् ।

‘दुईजना नकावधारी पुरुष बम्बई भेल रेस्टुरेन्टमा प्रवेश गरी विष्फोटक पदार्थ राखेर भागेका प्रारम्भिक अनुसन्धानबाट थाहा हुन आएको छ,’ पिल क्षेत्रका सर्जेन्ट माट बेट्रामले बताए । विष्फोटक पदार्थ राखिएको केही समयमै विष्फोट भएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै उनले सञ्चारकर्मीलाई बताए ।

‘हामीसँग घटना आतंकवादी आक्रमण वा बदलाको भावले गरिएको आपराधिक आक्रमण हो भन्ने जानकारी भइसकेको छैन,’ बेट्रामलाई उद्धृत गर्दै क्यानेडियन ब्रोडकास्टिङ कर्पोरेसनले जनाएको छ । घटनाबारे छानबिन भइरहेकोले यस विषयमा तत्काल अरू जानकारी दिन नसकिने उनले बताए ।

आक्रमणकारीले विष्फोटक पदार्थ छोडेर भाग्दा केही नभनेका पाइएकोे बेट्रामले बताए । ‘उनीहरू एकाएक ग्राहकको रूपमा रेस्टुरेन्ट प्रवेश गरी विष्फोटक पदार्थलाई भुइँमा राखी भागेका बताइएको छ,’ उनले थपे ।

प्रतिक्रिया