बोलाउँदा पनि स्कुल आउनुहुन्न अभिभावक


-हरिसुन्दर छुकां अधिकांश सरकारी विद्यालयका शिक्षक, प्रधानाध्यापक, अनि विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूको अभिभावकप्रति गुनासो छ, ‘हामीकहाँ त बोलाउँदा पनि स्कुल आउनुहुन्न ।’ अनि अभिभावकको त्यसमा प्रतिप्रश्न हुन्छ, ‘किन जानुपर्यो र ? हामीले हाम्रा बाबुनानीलाई पठाएकै छौँ क्यारे !’

माथिका ती दुई प्रतिनिधि ‘अभिव्यक्ति’ हरूका पछाडि सरकारी स्कुलहरूमा अभिभावक शिक्षाको अभाव भएको तथ्यको झल्को दिन्छ। अभिभावक शिक्षाको विषयमा अभिभावकलाई विद्यालय परिवारले बुझाउन नसक्दा वा नबुझाउँदा, विद्यालयप्रति अभिभावकहरूको दायित्वबारेमा अभिभावकहरूलाई खासै नबताउँदाको परिणाम अभिभावकहरू विद्यालयमा पाइला टेक्न पनि मुस्किल मान्छन् ।

विद्यालयहरू पनि, शिक्षकहरू पनि अभिभावक नआएकै राम्रो भन्ने व्यक्त गर्न नसक्ने मानसिकतामा परेका छन् । अभिभावकहरू किन स्कुल आउनुपर्छ ? भन्ने कुराको खास वैज्ञानिक र व्यावहारिक कारणबारेमा विद्यालय परिवारले अभिभावकलाई बताउन सकेको अवस्था छैन ।

यथार्थमा अभिभावकलाई विद्यालयले प्राथमिकतामा राख्न सकेकै छैनभन्दा हुन्छ । विद्यालयहरूमा कहिलेकाहीँ हुने बैठक, त्रैमासिक रूपमा हुने परीक्षा र परीक्षाको नतिजा वितरणको समयमा केही छलफल भए पनि त्यो छलफलको निष्कर्ष टुंगोमा नपुग्दै सकिने विषयले ‘अभिभावक किन विद्यालयमा आउँदैनन् ?’

भन्ने प्रश्नको उत्तरको गहन खोजीमा न शिक्षक लाग्छन्, न प्रअ, न त विद्यालय व्यवस्थापन समितिका पदाधिकारी नै । एकाधलाई छोडी बहुसंख्यक अभिभावकको मानसिकता हुन्छ, ‘बच्चालाई विद्यालयले, शिक्षकले राम्रो पढाइदिए हुन्छ, फेल नहुने गरी पढाइ दिए हुन्छ, पहिलो हुने गरी पढाइ दिए हुन्छ ।’

यस्तो मानसिकता, संस्कारबाट मार्गनिर्देशित अभिभावकहरूलाई किन विद्यालय आउनुपर्छ ? भन्ने कुरा वास्तवमा विद्यालय परिवारले बताउन सकेको छैन । विद्यालयले वार्षिक रूपमा ‘श्राद्ध गरेजस्तै गरी गर्ने’ अभिभावक दिवस भन्ने कार्यक्रममा पनि अभिभावकका कुरा सुन्नुको सट्टा अभिभावकले कान पाक्ने गरी विद्यालयले बोलाएका प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथि र अन्यहरूको कुरा सुन्नुपर्छ ।

यति मात्र नभएर आफ्नो सन्तान पढिरहेका सन्तानको मात्र नभएर समग्र विद्यालयको विकासको लागि विषय शिक्षक, शिक्षक, प्रअ, विद्यालय व्यवस्थापन समितिले गर्नुपर्ने अभिभावकीय सुझावलाई खासै प्राथमिकतामा राखेको पाइँदैन । अभिभावकले दिएका सुझावलाई विद्यालय परिवारले ‘काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ’ गर्दाको परिणाम आज सामुदायिक विद्यालयले भोगिरेको छ । विद्यालयमा विद्यार्थी कम हुँदै जानुमा अभिभावकको मन जित्न नसक्नु प्रमुख कारण हो भन्दा अत्युक्ति नहोला ।

अनि अभिभावकको मन कसरी जित्न सकिन्छ ? भन्ने विषयमा प्रायः विद्यालय प्रशासनले छलफल गर्ने गरेको छैन, स्टाफहरूबीच कुराकानी पनि हुने गरेको छैन । विद्यालयका प्रअ, शिक्षकले पनि बच्चा आएकै छन् भन्ने मानसिकता राख्दा अभिभावकका लागि विद्यालयको ढोका बन्दजस्तै भएको छ । अर्को कुरा शिक्षकहरूले नै अभिभावकका कुरालाई ‘एक कानले सुन्ने अर्को कानले उडाउने’ गर्दा पनि विद्यालयमा जानुपर्छ भन्ने भावनाका अभिभावक निराश छन् ।

अभिभावकलाई तब स्कुल जाउँ, जाउँ भन्ने लाग्छ, जब विद्यालयले अभिभावकलाई स्वागत गर्छ । स्वागतको अर्थ फूलमाला लगाइदिएर, चिया पिउन दिएर, खाजा खान दिएर होइन, अभिभावकका कुरा सुनेर, अनि त्यो कुरालाई विद्यालयमा लागू गरेर हो । यसैले अभिभावकलाई पनि विद्यार्थीको पढाइ र भविष्य निर्माणका सहयात्रीका रूपमा स्वीकार नगरेसम्म विद्यालयमा अभिभावक शिक्षाले औपचारिक रूपमा प्रवेश पाउन सक्तैन, तबसम्म सामुदायिक विद्यालयको जग मजबुत हुन सक्तैन ।
अभिभावकले विश्वास गर्ने भनेको विद्यालयका शिक्षकलाई भन्दा विद्यालयका प्रअ वा विद्यालयले निर्धारण गरेका तहगत इन्चार्जहरूलाई हो । यसैले त्यो विषयमा ती पदको जिम्मेवारी लिएका व्यक्तिहरू निक्कै सचेत र सजग हुनु जरुरी छ । अभिभावकका कुरालाई दोस्रो प्राथमिकतामा राख्ने स्वभावको विद्यालयमा अभिभावकहरू जान रुचि देखाउँदैनन् ।

‘आज, तपाईंहरूको कुरा सुन्यौँ, तपाईंहरूले राम्रो सुझाव दिनुभयो, तर हाम्रो पनि बाध्यता छ, सरकारकै नीति यस्तो छ, विद्यालय व्यवस्थापन समितिसँग छलफल गर्छौं ।’ भन्ने आलटाले कुरा, निरीह कुरा गरेर अभिभावकको मन जित्न सकिँदैन । अतः विद्यालयका प्रअ, शिक्षकले अभिभावकको मनोभावना बुझ्नु जरुरी छ ।

अभिभावक किन विद्यालय आउन अन्कनाउँछन् ? भन्ने विषयमा अभिभावकसँगै छलफल गर्नु जरुरी छ । अहिले सरकारी स्कुल भन्ने बित्तिक्कै हुँदा खाने, दैनिक ज्यालादारीमा काम गर्ने मजदुर, ज्यामी, दलित, गरिब, अन्य जिल्लाबाट बसाइँसरी आएका अभिभावकका सन्तान पढ्ने विद्यालयका रूपमा नयाँ परिचय बनाउने क्रममा छ । यो अवस्थामा अभिभावकहरू पनि त्यति पढेका, लेखेका र जानेका पनि हुँदैनन् ।

‘हामीले त पढ्न पाएनौँ पाएनौँ, नपढ्दा दुःख पाइयो, अब सन्तानले दुःख नपाओस् भनेर स्कुल पढ्न पठाएको’ भनी भनाइ राख्ने अभिभावकहरूको पहिलो प्राथमिकतामा अझै पनि दैनिक काम नै परेको छ । पढाइलाई भन्दा कामलाई प्राथमिकतामा राखी दैनिकी गुजारिरहेका तिनीहरूलाई विद्यालय समयसमयमा विद्यालय आउनुपर्छ, आफ्ना बाबुनानीको पढाइबारे, शिक्षकबारे, विद्यालयबारे आफूलाई लागेका कुरा भन्नुपर्छ भन्ने कुराको चेत भए पनि फुर्सद कहाँ ?

यसैले ती अभिभावकहरूलाई विद्यालयमा आउँआउँ बनाउनका लागि विद्यालयले अभिभावकसम्म पुग्ने गरी अभिभावक शिक्षा कार्यक्रम गर्नु जरुरी छ । उनीहरूलाई सन्तानलाई विद्यालय पठाएर मात्र आफ्नो दायित्व पूरा नहुने कुराहरू व्यवहारपरक तरिकाले बताउने कामको अगुवाइ विद्यालय स्वयंले गर्नुपर्छ ।

अभिभावकलाई विद्यालय आउने वातावरण बनाउनका लागि शिक्षक र अभिभावकबीचको सम्बन्ध र सम्पर्क जीवन्त हुनुपर्छ । त्यसको लागि शिक्षक स्वयंले बेलामौकामा पालैपालो बाबुनानीसँगै अभिभावककोमा जाने, बाबुनानीहरूमा आइरहेको पढाइमा, बानीबेहोरामा आएको परिवर्तनबारेमा जानकारी दिने, घरमा गर्ने व्यवहारका बारेमा अन्तक्रिया गर्ने, विद्यालयमा अनुपस्थित भए त्यसको जानकारी लिने, दिने गर्न सकिन्छ ।

‘शिक्षक भनेका पनि जागिर खान आएका त हुन्’ भन्ने अभिभावकहरूमा गढेको कुरालाई चिर्न शिक्षक ‘जिम्मेवारी सहितको जागिरे’ र ‘सामाजिक उत्तरदायित्व बहन गर्न सक्षम जागिरे’को छवि प्रदर्शन गर्नुपर्ने आवश्यकता देखिन्छ ।यसका लागि विद्यालय परिवारले नै विशेष ध्यान दिनुपर्छ ।

विद्यालयले समयसमयमा बालबालिकाहरूका लागि मात्र नभएर अभिभावकहरूका लागि नै लक्षित गरी कार्यक्रम, शिक्षक र अभिभावक बीचको दुरी कम गरी एकले अर्कोलाई सम्मान गर्ने वातावरण बनाउने कामको जिम्मेवारी विद्यालय परिवारबाट हुन सके, अभिभावकका सुझाव, माग, अपेक्षालाई क्रमशः सम्बोधन गर्दै अभिभावकको सुझावकै कारण विद्यालयमा परिवर्तन आएको विषयलाई संस्थागत गर्न सके, अभिभावकलाई प्रोत्साहन गर्न सके विद्यालय नआउने अभिभावकलाई विद्यालयमा जाउँजाउँ बनाउन सकिन्छ ।

अभिभावकलाई विद्यालयमा आकर्षण गर्न सके मात्र विद्यालयको भविष्य छ भन्ने मनन् विद्यालय परिवारले पनि गर्नुपर्छ । यति मात्र नभएर विद्यालय सञ्चालनका लागि सहयोग गरिरहेको शिक्षा कार्यालय, विभाग, मन्त्रालयले पनि यो बारेमा ठोस तर कार्यान्वयन हुने नीति बनाउनु जरुरी छ ।

विद्यालय सञ्चालका लागि गठन भएका विद्यालय व्यवस्थापन समिति, अभिभावक शिक्षक संघ (पिटीए) का पदाधिकारीहरूको क्षमता अभिवृद्धि गराउन उनीहरूलाई बेलामौकामा अभिभावकत्व र अभिभावकीय दायित्व विषयमा अभिमुखीकरण गर्ने काम गर्नुपर्छ । अभिभावकको सहभागिता बढ्न थालेपछि मात्र विद्यालयमा विद्यार्थी संख्या बढ्ने यथार्थलाई सम्बन्धित सबैले ध्यान दिनुपर्छ ।

प्रतिक्रिया