आयरल्याण्डकाे जनमत गर्भपतनको पक्षमा


एजेन्सी । आयरल्याण्डमा भएको गर्भपतनमा कानुनी मान्यतासम्बन्धी भएको जनमत संग्रहमा धेरै मतदाताले कानूनलाई उदार बनाइनुपर्ने पक्षमा मतदान गरेका छन् ।

‘द आइरिस टाइम्स र आरटीइ’ ले गरेको मत सर्वेक्षणका अनुसार ६९ प्रतिशत मतदाताले गर्भपतनमाथि लगाउँदै आएको प्रतिबन्ध हटाउने पक्षमा मतदान गरेका छन्। आयरल्याण्डका प्रधानमन्त्री लीओ भराडकरले मुलुकले ुइतिहास रच्न लागेकोु जस्तो देखिएको बताएका छन्। उनले गर्भपतनसम्बन्धी कानूनमा सुधार ल्याइनुपर्ने पक्षधर अभियानलाई समर्थन गरेका थिए।

स्थानीय समय अनुसार बिहान ९ बजेदेखि मतगणना सुरु हुनेछ। शुक्रवारको जनमत संग्रहमा मतदाताहरूलाई आठौँ संशोधन भनिने संविधानमा भएको प्रावधान हटाउनुपर्छ वा राख्नुपर्छ भन्ने प्रश्न सोधिएको थियो। संविधानमा भएको व्यवस्थाले गर्भवती महिलालाई जस्तै गर्भमा रहेको बच्चाको पनि अधिकार रहेको उल्लेख गरेको छ।

आरटीइले गरेको मत सर्वेक्षण अनुसार हटाइनुपर्ने पक्षमा ६९ दशमलव ४ प्रतिशतले मतदान गरेका छन् भने ३० दशमलव ६ प्रतिशतले अहिलेको प्रवाधानलाई निरन्तरता दिनुपर्ने पक्षमा मतदान गरेका छन्।

डब्लिनमा ७९ प्रतिशत मतदाताले उक्त संवैधानिक प्रावधान हटाउनुपर्ने पक्षमा मतदान गरेको आरटीइले जनाएको छ।

द आइरिस टाइम्सले सार्वजनिक गरेको जनमत सर्वेक्षणको नतिजा अनुसार हुन्छ भन्ने पक्षमा ६८ प्रतिशतले र हुन्न भन्ने पक्षमा ३२ प्रतिशत मतदाताले मत खसालेका छन्।

शुक्रवार राति ट्वीट गर्दै प्रधानमन्त्री भराडकरले भनेका छन्, मतदान गर्ने सबैलाई धन्यवाद छ। हामीले भोलि इतिहास रच्न लागेको जस्तो देखिन्छ।

शुक्रवार मध्यान्हसम्ममा समलिङ्गी विवाहमाथिको जनमत संग्रह र हालैको आमचुनावमा सोही समयसम्म खसेकोभन्दा बढी मत खसेको थियो।

प्रतिक्रिया