कोहलीको च्यालेन्ज प्रधानमन्त्री मोदीद्वारा स्वीकार


नयाँदिल्ली । भारतीय केन्द्रीय खेलमन्त्री तथा सूचना प्रसारण मन्त्री राज्यवद्र्धन सिंह राठोरले ट्विटरमा फिटनेस च्यालेन्ज सुरु गरेका छन् । उनले भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीलाई पनि चुनौती दिएका थिए । कोहलीले यस चुनौतीलाई स्वीकार गर्दै अन्य तीन जनालाई पनि यसमा समावेश गरेका थिए ।

कोहलीले यो चुनौतीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, क्रिकेटर महेन्द्रसिंह धोनी तथा आफ्नै पत्नी अनुष्का शर्मा थिइन् । कोहलीको सो च्यालेन्ज भारतीय प्रधानमन्त्री मोदीले पनि स्वीकार गरेका छन् । प्रधानमन्त्री मोदीले ट्विट गर्दै भनेका छन, ‘विराट कोहली तपाईंको च्यालेन्ज स्वीकार गर्दछु ।

मैले आफ्नो फिटनेस च्यालेन्ज भिडियो चाँडै नै सेयर गर्नेछु ।’ सुरुमा खेलमन्त्री राठोरले ‘पुसअप’ गरको भिडियो ट्विट गरेका थिए । राठोरले फिटनेसप्रति सबैलाई प्रोत्साहित गर्न यस्तो प्रयोग गरेका थिए । भिडियोमा मन्त्री राठोरले आफूले प्रधानमन्त्री मोदीबाट फिटनेसका लागि प्रेरणा पाएको बताएका छन् ।

मोदीलाई देखेर आफूमा फिटनेसको भावना आएको राठोरले बताएका छन् । राठोरले यो भिडियो आफ्नो कार्यालयमै बनाएका हुन् । उनले भिडियो सामाजिक सञ्जालमा सेयर गर्दै ब्याडमिन्टन स्टार साइना नेहवाल, बलिउड कलाकार ऋतिक रोशन तथा भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीलाई ‘च्यालेन्ज’ गरेका थिए ।

विराट कोहलीले मन्त्री राठोरको चुनौती स्वीकार गर्दै एउटा भिडियो सेयर गरेका छन् । भिडियोमा उनी एक्सरसाइज गरेका देखिन्छन् । कोहलीले ट्विट गर्दै भनेका छन्, ‘म अब पत्नी अनुष्का शर्मा तथा हाम्रा प्रधानमन्त्री नरेन्द्र मोदीजी र महेन्द्रसिंह धोनीलाई यसमा भाग लिन चुनौती दिन्छु ।’

प्रतिक्रिया