प्रेम सिकाउने चिनियाँ विश्वविद्यालय


बेइजिङ । २१औँ शताब्दीमा ‘डेटिङ’ अर्थात प्रेम सम्बन्धमा रहनु कठिन पनि हुन सक्छ । व्यस्त कार्यतालिका माझ ‘डेटिङ एप’ को मद्दतले आफूले खोजेको साथी फेला पार्नु कहिलेकाहीँ त टाउको दुःखाइसमेत बन्छ । तर, महिलाको तुलनामा पुरुषको जनसंख्या धेरै बढी रहेको चीनजस्तो देशमा त यो थप चुनौतीपूर्ण छ । चीनको एक सन्तान नीतिका कारण महिला र पुरूषको संख्यामा यस्तो ठूलो असन्तुलन देखिएको हो ।

सन् २०१६ को एउटा तथ्यांकले चीनमा महिलाभन्दा पुरूषको जनसंख्या करिब ३ करोड ३६ लाखले बढी रहेको देखाएको थियो । त्यही भएर एउटा डेटिङ विद्यालयले चीनका युवाहरूलाई कसरी आफ्ना सम्भावित मायालुहरूलाई खुसी बनाउने भन्ने बारे सिकाइरहेको छ ।त्यसका लागि शृंखलाबद्ध रूपमा अनलाइन र प्रत्यक्ष कक्षाहरू नै सञ्चालन गर्ने गरिएको छ ।

वार्तालाप सहितका कक्षादेखि नृत्य सिकाउनेसम्मका विषयहरूलाई उक्त विद्यालयले समावेश गरेको छ । अलिक लजाउने स्वभावबाट आत्मविश्वासी बन्न मोटो रकम तिर्न त्यहाँ जाने विद्यार्थीहरूले सहमति जनाएका छन् । एक÷एक जना व्यक्तिको तहमा पनि प्रशिक्षण दिइने उक्त विद्यालयले त्यसको शुल्क ४ हजार ५ सय डलर तोकेको छ ।

बेइजिङमा यस्तो खालको ‘लभ एनर्जी’ नामक विद्यालय यी स्वीले चलाउँछन् । ‘म्याजिक कार्ड’ उपनाम भएका उनी भन्छन, ‘डेटिङ एउटा उत्कृष्ट नृत्यजस्तै हो । कहिलेकाहीँ आफ्नो साथीलाई आफूतर्फ तान्नुपर्छ त कहिले अलिकति पर धकेल्नुपर्छ तर निरन्तर उसप्रति संवेदनशील भइराख्नुपर्छ ।’

प्रेम सम्बन्ध राख्न सिकाउने त्यस्ता कक्षाहरू प्रतिको आकर्षण चीनमा बढिरहेको छ । अनलाइनमार्फत त्यससम्बन्धी कक्षाहरू लिन प्रतिमहिना ३० डलर शुल्क तिर्नुपर्ने बताइन्छ । ‘म्याजिक कार्ड’ का अनुसार उनका कक्षामा आउने ग्राहकको उमेर २३ देखि ३३ वर्षको बीचमा देखिन्छ ।

सबैभन्दा कम उमेरका विद्यार्थी १९ वर्षका छन् भने एक जना ५९ वर्षका वयस्क पनि डेटिङ कला सिक्न विद्यालयमा भर्ना भएका छन् ।

प्रतिक्रिया