रोहिंग्या उग्रवादीद्वारा हिन्दूको नरसंहार: एमनेस्टी


यांगुन । गतवर्ष म्यानमारको रखाइन राज्यका गाउँमा बस्ने हिन्दूहरूको रोहिंग्या उग्रवादीले नरसंहार गरे । एमनेस्टी इन्टरनेसनलले मंगलबार एक रिपोर्ट सार्वजनिक गर्दै यो नयाँ खुलासा गरेको हो । मानवअधिकार संगठन एमनेस्टीका अनुसार यो नरसंहार २५ अगस्ट २०१७ मा भएको थियो, जसमा ९९ जना हिन्दूलाई मृत्युको मुखमा पुर्याइएको थियो । रोहिंग्या उग्रवादीले प्रहरीचौकीमा आक्रमण गरेको र देशमा संकट सुरु भएको पनि सोही दिन हो ।

उग्रवादीको आक्रमणविरुद्ध म्यानमारको सेनाले अप्रेसन चलायो जसका कारण सात लाख रोहिग्या देश छोड्न वाध्य बनाइए । संयुक्त राष्ट्र संघले सेनाको यो कारबाहीलाई रोहिंग्या विरुद्धको ‘नश्लीय सफाया’ को संज्ञा दियो । सेनामाथि रोहिंग्या नागरिकको हत्या र गाउँका गाउँ जलाइएको आरोप लाग्यो । तर, रोहिंग्या पनि दोष मुक्त रहेन ।

रोहिंग्यालाई पनि जघन्य प्रकारको दुव्र्यवहार गरेको आरोप लाग्यो, जसमा हिन्दूमाथि गरिएको नरसंहार पनि समावेश छ ।गत वर्ष सेनाले पत्रकारलाई यो क्षेत्रमा लिएर गयो, जहाँ सामूहिक चिहान पाइयो । यो उग्रवादी संगठन अराकान रोहिंग्या सेल्वेसन आर्मीले त्यति बेला नरसंहारको जिम्मेवारी लिएन ।

तर, एमनेस्टी इन्टरनेसनलले गरेको अनुसन्धानमा रोहिंग्या उग्रवादीले ५३ जना हिन्दूलाई झुन्ड्याइएको देखिएको छ । मारिनेहरूमा अधिकांश खा मान्ग सेक गाउँका बालबालिका थिए । एमनेस्टी इन्टरनेसनलकी राना हसनले भनिन्, ‘हाम्रो नयाँ अनुसन्धानले उत्तरी रखाइनमा ठूलो संख्यामा गरिएको मानव अधिकार दुरुपयोगमाथि प्रकाश पार्दछ, जुन विषय अहिलेसम्म सार्वजनिक हुन सकेको थिए ।

यो अत्याचार पनि त्यति नै गम्भीर छ जति म्यानमारका सेनाले रोहिंग्यामाथि गरेको अत्याचार छ ।’ यो हिंसामा बाँचेर ज्यान जोगाउँदै भागेका आठ जनासँग कुराकानी गर्दा रोहिंग्या उग्रवादी समूहले दर्जनाैँ मानिसलाई बाँधेर आँखामा पट्टी लगाई दिएर सहर घुमाइयो । १८ वर्षीया राजकुमारीले भनिन् ‘उनीहरूले पुरुषहरूको हत्या गरे । हामीलाई त्यता नहेर्न भनियो ‘उनीहरूसँग चक्कु थियो ।

उनीहरूसँग फलामको रड पनि थियो ।’ राजकुमारीले झाडीमा लुकेर आफ्ना पिता, काका र दाजुको हत्या हुँदै गरेको देखिन् । रिपोर्टमा ब्याक क्यार नामको अर्को गाउँमा ४६ हिन्दू पुरुष, महिला र बालबालिका हराएको पनि उल्लेख छ ।रिपोर्टमा रखाइनमा संकटभन्दा पहिले बहुसंख्यक मुस्लिम र बौद्ध भए पनि यो राज्यमा भने हिन्दू अल्पसंख्यकको समेत बसोवास थियो ।

हिन्दूबाहेक अन्य अल्पसंख्यकको पनि यो राज्यमा बसोवास छ । रोहिंग्या मुस्लिमविरुद्ध म्यानमारको सेनाले गरेको अप्रेसनको अन्तर्राष्ट्रियस्तरमा व्यापक आलोचना हुँदै गर्दा एमनेस्टीले यस्तो प्रतिवेदन सार्वजनिक गरेको हो ।

प्रतिक्रिया