सवारी साधन आयातमा शुल्क कटौती गर्दै चीन

एजेन्सी । चीनले आगामी जुन १ देखि लागु हुनेगरी सवारी साधन र पाटपूर्जा आयातमा लाग्ने करमा भारी कटौती गर्न लागेको छ ।

चीनियाँ अर्थ मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गरी कार र केही ट्रकमा लाग्दै आएको २५ प्रतिशत भन्सार शुल्क र २० प्रतिशत आयात कर घटाएर १५ प्रतिशत बनाउने निर्णय गरिएको जनाएको छ।

७९ किसिमका मोटर पाटपूर्जामा लाग्दै आएको ८ देखि २५ प्रतिशतसम्मको भन्सार शुल्क पनि ६ प्रतिशतमा झार्ने मन्त्रालयको निर्णय छ। यो औसतमा ४६ प्रतिशत कटौती हो।

सवारी साधनमा आयात शुल्क घटाउनु सुधार र खुलापनतर्फको प्रमुख कदम भएको चिनियाँ अर्थ मन्त्रालयले जनाएको छ । यो कटौतीसँगै अब चीनमा सवारी साधनमा औसतमा १३.८ प्रतिशत र मोटर पार्टपूर्जामा ६ प्रतिशत आयत शुल्क लाग्ने भएको छ।

चीनले सवारी साधनमा १ सय ७८ र मोटरमा पाटपूर्जामा ९७ किसिमका शुल्क लगाउँदै आएको छ। अर्थ मन्त्रालयले भविष्यमा सवारी आयात शुल्क घटाउने कुरालाई निरन्तरता दिने कि नदिने भन्ने सवारी उद्योग प्रतिष्पर्धात्मक क्षमता र विकासमा भर पर्ने बताएको छ।

चीन र अमेरिकाको व्यापार सन्तुलन गर्न चीनले अमेरिकी सामान र सेवाको खरिद बढाउने सहमति भएको केही दिनमै चीनले सवारी साधन आयात गर्दा लाग्ने शुल्क घटाएको हो।

अघिल्लो वर्ष चीनले २ करोड ९० लाख सवारी साधन बनाएको थियो भने तीमध्ये २ करोड ८८ लाख बेचेको थियो। सोही अवधिमा उसले १२ लाख सवारी साधन आयात गरेको थियो।

प्रतिक्रिया