पार्टी एकतालाई सार्थक बनाऔँ

‘यतिवेला नेपाल कम्युनिस्ट पार्टीमा विवाद सिर्जना गर्ने जमर्काे गरिँदै छ । चार सय ४१ जनाको केन्द्रीय कमिटीको घोषणा गर्न ढिला हुँदै छ । असहमतिका झिना स्वरहरू पनि सुनिँदै छन् । तथापि जनता र पार्टी कार्यकताको बीचमा नयाँ रक्तसञ्चार भएको छ । त्यसैको जगमा केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा विरोधका स्वरहरू छरपष्ट भएका छन् ’

लेखकः आनन्दप्रसाद पोखरेल (पूर्वमन्त्री)

नेपाल र नेपाली कम्युनिस्ट आन्दोलनका लागि ऐतिहासिक र अविस्मरणीय दिन हो । यो दिनका दुई पाटाहरू छन् । एकातिर अध्यारो पाटो छ भने अर्कातिर उज्यालो । २५ वर्ष अगाडि तत्कालिन नेकपा एमालेका महासचिव मदनकुमार भण्डारी र जिवराज आश्रीतको दासढुंगामा षड्यन्त्रपूर्ण ढंगले हत्या गरिएको दिन थियो ।

विश्व कम्युनिस्ट आन्दोलनमा देखा परेको प्रतिकुलतालाई चिर्दै जनताको बहुदलिय जनवाद सिद्धान्तमार्फत नयाँ जीवन दिने व्यक्तित्वको अवसान भएको दिन थियो । उनको हत्यासँगै प्रतिक्रियावादीहरू कम्युनिस्ट आन्दोलन र उनको विचारको समाप्त हुन्छ भन्ने ठान्दथे ।

हो साँच्चै नै ३ जेठमा दुःख र पीडाको दिन थियो । तथापि नेपाली कम्युनिस्ट आन्दोलनलाई नयाँ ढंगले नेतृत्व गर्दै मार्गदर्शक सिद्धान्तको रूपमा जबज विकास भयो । त्यसैले यो दिन साँच्चिकै नयाँ साहस शक्ति र प्रेरणाको दिन पनि हो । यस भित्र एकीकृत कम्युनिस्ट आन्दोलनको सपना थियो । त्यसै दिन नेपाली राजनीतिका दुई ठूला शक्तिशाली कम्युनिस्ट पार्टी एकताको घोषणाको तयारीमा थिए ।

लामो बहस, छलफलपछि सैद्धान्तिक रूपमा माक्र्सवाद, लेनिनवाद र जनताको जनवादलाई मूल सिद्धान्त बनाई समाजवादी जनताको जनवाद भन्ने पदावलीलाई संस्थागत गरी विधान र सांगठनिक प्रतिवेदन पास गरेका थिए । लामो समयदेखि विचार र सिद्धान्तको नाममा विभाजित कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्ने सपना १७ असोज ०७४ मा रोपिएको थियो ।संयुक्त वामपन्थी गठबन्धनको नाममा एउटै घोषणा पत्र एउटै प्रतिबद्धताका साथ पार्टी एकीकरणको नारासहित आम निर्वाचनमा सहभागी भएको थियो ।

त्यही मान्यतालाइ नेपाली मतदाताले अनुमोदन गरेका थिए । त्यो अनुमोदनलाई आधिकारिक घोषणाको पर्खाइमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र थिए । प्रस्तावित एकीकृत कम्युनिस्ट आन्दोलनको निर्माणमा समय समयमा व्यक्ति स्वार्थ, पेटी बुर्जुवा चिन्तन, स्वदेशी विदेशीको चलखेलले एकीकृत आन्दोलनको सम्भावनामाथि कतै तुसारापात हुन्छ कि भन्ने खतरा नेपाली आकाशमा मडारिरहेको थियो ।

तर सिंगो दुई पार्टीले आफूमा निहीत अधिकारलाई नेकपा एमालेका अध्यक्ष एवं सम्मानीय प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष माननीय पुष्पकमल दाहाल(प्रचण्ड)लाई हस्तान्तरण गरिएको थियो । पार्टीले दुई नेतामाथि अधिक विश्वास र भरोसा सहित यो जिम्मेवारी पूरा गर्ने दायित्व सुम्पेको थियो । नेपालका आम सञ्चारमाध्यमले पार्टी एकता नहुने समाचार सम्प्रेषण गर्दै थिए । पार्टी कार्यकताहरूमा दुविधा सिर्जना भएको थियो । प्रतिकृयावादी क्याम्प हर्षित देखिन्थे ।

प्रतिपक्ष एकता नहुने ठोकुवा गर्दै नयाँ रणनीति निर्माण तल्लिन थिए । यि सारा आशंका, दुविधा, भ्रमलाई चिर्दै कमरेड मदन भण्डारी र अमर सहिदहरूको सपनालाई साकार पार्ने उद्देश्यका साथ पार्टी एकताको सगौरव घोषणा भयो । यो साँच्चै नै कम्युनिस्टका लागि खुसी र ऐतिहासिक दिन थियो ।

नेपाली राजनीति इतिहासमा ३ जेठ जननेता मदनकुमार भण्डारी र जीवननाथ आश्रीतको स्मिृति दिवश र एकीकृत कम्युनिस्ट आन्दोलन निर्माणको ऐतिहासिक दिन हो । यो दिन विश्व कम्युनिस्ट आन्दोलनको लागि नयाँ परिघटनाको रूपमा अंकित रहने छ । नेपाली राजनीतिक आन्दोलनमा शोषित पीडित श्रमजीवि वर्गको मुक्तिको ऐतिहासिक जगको दिन हुनेछ ।

०७ सालदेखि सुरूवात भएको राजनीतिक अस्थिरता अन्तको सुरूवाती दिन । सामन्ती दलाल नोकरशाही पुँजीवादको अन्तको लागि नयाँ शक्ति निर्माण भएको दिन हो । साम्राज्यवादी औपनिवेशिक शोषण थिचोमिचोलाई अन्त्य गर्दै नेपालको राष्ट्रियता बलियो र समृद्धि भएको दिन । नेपालको अखण्डता, स्वाभिमान र स्वाधिन आत्मनिर्भर अर्थतन्त्रको मजबुद बनाउन सुरूवात भएको दिन हो ।

वाम गठबन्धन सरकारको अन्त्य भई पूर्ण बहुमतसहितको एकल कम्युनिस्ट पार्टीको सरकार स्थापना भएको दिन हो । समाजमा देखिएका व्याप्त सबै खाले विभेद, शोषण, अन्याय अत्याचार र सामाजिक न्याय स्थापनाको प्रारम्भ विन्दु हो । यो दिन नेपाली जनताको चिर प्रतिक्षाको दिन थियो । अभिष्ठ थियो, चाहना थियो, सुदुर भविष्यको चाहना पूरा भएको थियो ।

केपी ओली र प्रचण्डको दृढ इच्छा शक्ति, साहस, पार्टी र कार्यकर्ताको चाहना, राष्ट्र, समृद्धि र सुखी जीवनको परिकल्पनालाई साकार पार्ने अठोट यो एकता मार्फत प्रतिविम्बित भयो । त्यसैले वहाँहरूले यसलाई निर्णायक विन्दुमा पु¥याउन सफल हुनुभयो । हिजोसम्म असम्भवजस्तो लाग्ने पार्टी एकताको विवषय सोही दिन सम्भव भयो । बधाई छ नेतृत्वलाई पार्टी र पार्टी कार्यकतालाई समर्थक र शुभ चिन्तकलाई र समृद्ध नेपाल र सुखी नेपालीको अपेक्षा राख्ने जनसमुदायलाई ।

एकीकृत कम्युनिस्ट आन्दोलन निर्माण भएको आज सातौँ दिन बित्दै छ । तीन महिनाभित्र टोलदेखि केन्द्रसम्म एकीकृत पार्टी निर्माण पूरा गर्नुपर्ने छ । यतिवेला नेपाल कम्युनिस्ट पार्टीमा विवाद सिर्जना गर्ने जमर्काे गरिँदै छ । चार सय ४१ जनाको केन्द्रँय कमिटीको घोषणा गर्न ढिला हुँदै छ । असहमतिका झिना स्वरहरू पनि सुनिदै छन् । तथापि जनता र पार्टी कार्यकताको बीचमा नयाँ रक्तसञ्चार भएको छ । त्यसैको जगमा केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा विरोधका स्वरहरू छरपष्ट भएका छन् ।

व्यक्ति केन्द्रित महत्वकांक्षा र दम्भहरू सतहमा देखा पर्दै छन् । अर्कालाई उपदेश र निर्देशन दिने दिमागहरू आफूलाई केन्द्रविन्दुमा राखेर प्रचारित गरिरहेका छन् । यो स्वभाविक पनि हो र अस्वभाविक पनि हो । मूलतः यो अस्वभाविक नै हो । आफैँ संलग्न भएर पार्टी एकतालाई यो तहमा पुर्याउन दिमाग र मनहरूलाई दुसित गर्यौ भने हामी सहि निष्कर्षमा पुग्दैनौँ । मुलक र पार्टीले सहि नतिजा प्राप्त गर्न सक्दैन ।

यतीवेला बुद्धका महान चार सत्य र एट फोल्ड पार्थ (बुद्धको मध्यममार्ग)को सिद्धान्त फर्केर अध्ययन गर्नुपर्ने हुन्छ । यसैबाट हामीले समस्याको समाधान खोज्न सक्छाैँ । सकारात्मक चिन्तनद्वारा आफूलाई अगाडि बढाउन सके सबै समस्याका समाधान त्यही पाइन्छ । नेतृत्वको परीक्षण संकटमा हुन्छ । जुन नेतृत्वले अप्ठेरो र चुनौतीलाई सामाना गर्न हिम्मत गर्छ उसले घोडामा चडेको बादशाहलाई ढाल्न सक्छ ।  युद्धलाई जित्न सक्छ ।

केवल आत्मरक्षाको चिन्ताले आत्म केन्द्रित भएर अभिष्ट पूरा गर्न दौडियौँ भने आन्दोलन त क्षतविक्षत हुन्छ नै । व्यक्तीको अभिष्ट पनि त्यहीभित्र समाप्त हुन्छ । त्यसैले पार्टी नेतृत्वको हिम्मतलाई जनताको अनुमोदनको कसीमा सफल बनाउनु नेतृत्व, नेता, कार्यकर्ता र जनताको दायित्व र कर्तव्य हो । यसवाट बिचलित नभई न्यायपूर्ण समाजवादी समाज निमार्ण गर्ने माक्र्स र मदन भण्डारीले देखेको सपना साकार पार्नुपर्ने दायित्व हाम्रो काँधमा छ ।

यसबाट दायाँबाँया गर्ने कसैको अधिकार हुने छैन । हामी सबैलाई थाहा छ । हाम्रा पृष्ठभूमी बेग्लाबेग्लै छन् । हाम्रो स्कुलिङ फरक छ । हाम्रो चिन्तन प्रणालीमा भिन्नता छ । आर्थिक र सामाजिक परिवेशमा समानता छैन । चेतनाको स्तर फरक छ । बुझाई र व्याख्यामा एकरूपता छैन । प्रतिपक्षले सिर्जना गरिदिने भ्रमले व्यक्ति तथा समाजलाई दिगभ्रमित गर्ने खतरा त्यातिकै हुन्छ ।

यि सबै विषयलाई द्वन्द्ववादी तरिकाले विष्लेषण गर्ने र सहि विस्लेषणको आधारमा पार्टी र संगठनको नेतृतव गर्नु नै नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताको प्रथम कार्यभार हो । पार्टी एकतापछि सिद्धान्त, विचार, संगठन र नेतृत्वको पुनर्संरचना गर्नु कम चुनौतीको विषय होइन । यो संगठन निर्माण र आन्दोलनबाट विजय प्राप्त गर्नु जत्तिकै कठिन कार्य हो ।

त्यसैले यतिवेला कार्यकर्तामा विचार र सिद्धान्तमा परिपक्वता, निर्देशनको पालना र त्यसको कार्यान्वयन गर्न उसभित्र धैर्यता, सहनशिलता, अनुशासनको पालना गरिनुपर्दछ । यसको लागि हरेक तहका नेताहरूमा दुरदृष्टी, विवेकशील नेतृत्व एकीकृत पार्टी निर्माणका महत्वपूर्ण हतियार हुन् । यसले मात्र यो एकतालाई जनताको तहसम्म स्थापित गर्न सक्छ । आज हाम्रो एकताले पार्टी कार्यकता र जनतामा उत्साह छाएको छ विपक्षी क्याम्पमा खैलाबैला मच्चिएको छ, उनीहरू प्रतिरक्षात्मक भएका छन् ।

कम्युनिस्ट विरोधी तागत आतंकित भएको छ । सबै खाले स्वदेशी, विदेशी प्रतिक्रियावादीहरू नयाँ ध्रुवीकरण हुने स्थिति सिर्जना भएको छ । यतिवेला विपक्षहरू आत्मघाती काम गर्न सक्नेछन् यसप्रति हामी चनाखो हुँदै एकीकृत कम्युनिस्ट आन्दोलनलाई सैद्धान्तिक, वैचारिक र सांगठनिक रूपले सुदृढ बनाउँदै उच्च मनोवलका साथ कुसलतापूर्वक नेतृत्व गर्नु पर्दछ । कम्युनिस्टहरू संगठन बनाउन, आन्दोलनको नेतृत्व गर्न कुशल र खप्पिस हुन्छन् ।

तर, उपलब्धिको रक्षागर्ने सवालमा विगतमा कमजोर सावित भएका छन् । यस पटक पनि हामी कमजोर भयौँ भने दुई तिहाइभन्दा बढी मतले बनेको केन्द्र सरकार प्रचण्ड बहुमतका साथ बनेका ६ वटा प्रदेश सरकार अत्याधिक बहुमतमा रहेको स्थानीय सरकार र अत्यन्त प्रचुर मात्रामा प्राप्त जनताको अभिमत सम्मान हुने छैन । यी सबै सरकारका काम कारबाही असफल हुने छन् ।

कम्युनिस्ट नेतृत्व असफल हुनेछ । प्रकारान्तले राष्ट्र असफल हुने छ । हाम्रो कमजोरीले सबै उपलब्धि समाप्त हुनेछन् । त्यसैले, पार्टी र पार्टी नेतृत्व वरिपरि गोलबद्ध हुँदै एकताको समयमा हामीले स्वीकार गरेको राजनीति, सागंठनिक प्रतिवेदन र विधान र नेतृत्वलाई उच्च सम्मान गर्दै यसको कार्यान्वयमा अगाडि बढौँ ।

प्रतिक्रिया