सामाजिक परिवेशमा मानसिक बलात्कार

 ‘मानसिक बलात्कारको हकमा सम्बद्ध पीडित पक्षलाई समाजमा प्रतिस्थापन गराउन जति सजिलो छ । त्यसको तुलनामा यौनिक बलात्कारका घटनाका पीडित पक्षलाई समाजमा प्रतिस्थापन गराउनु निकै चुनौतीपूर्ण एवं जोखिमले भरिपूर्ण कार्यसमेत हो ’

 

प्रदीप उप्रेती कुनै जाति, सम्प्रदाय वा लैंगिक विशेषको स्वइच्छा बेगरका गतिविधिहरू चाहे त्यो यौनिक क्षेत्रगत आधार होस् वा कार्यगत आधारमा नै किन नहोस् सम्बद्ध पक्षको मानसिकतामा दखल पुर्याउने बद्नियतले भएको काम, कारबाही एवं दबाब मानसिक बलात्कार हो । यसमा पीडक पक्षले सुरूआती अवस्थामा नजानीदो किसीमले सद्भावलाई आधार बनाउँदै आफ्नो मनसुवा पूरा गर्ने अभिष्ट राखेको हुन्छ ।

विभिन्न प्रकारको पाशविक बलात्कारको घटनाहरू दैनिक रूपमा वृद्धि हुँदै गएको छ । यस्तो अवस्थामा नागरिक समाजले सहजै हेक्का राख्न नसकेको मानसिक बलात्कारले आफ्नो क्षेत्राधिकारलाई दिनहुँ अभिवृद्धि गर्दै लग्नु सामाजिक चुनौती हो । आधुनिक समाजको कलंकको रूपमा रहेको मानसिक बलात्कारको पीडा समाजमा घटित अन्य यौनिक बलात्कारको पीडाभन्दा कुनै पनि हालतमा कम होइन ।

कसैको भावनामा प्रतिकूल असर पार्दै योजनाबद्ध एवं त्रासदीपूर्वक ढंगले कुनै कार्य गर्नु वा गराउनु खोज्नु एक प्रकारको मानसिक बलात्कार हो । उपयुक्त ढंगले प्रस्तुत हुँदासमेत आफू अनुकुलको कार्य सहजरूपमा सम्पन्न हुन कठीन हुने परिवेशको जन्म भएमा तत्पश्चात् हिंसात्मकताले प्रधानता पाउने प्रबल सम्भावना रहन्छ । हिजोआज नेपाली समाजमा अत्यधिक मात्रामा हिंसात्मक क्रियाकलापको अभिवृद्धि हुनुको प्रमुख कारकतत्वको रूपमा मानसिक बलात्कारको पीडालाई लिन सकिन्छ ।

यस प्रकारको समाज विरोधि कार्यमा आवद्ध रहने पीडित वा पीडक पक्षको कुनै जात, लिंग, वर्ण, धर्म एवं उमेरको निश्चित हदबन्दी रहेको पाइँदैन । तथापि, यौनिक बलात्कारको घटनामा तुलनात्मक रूपमा युवा जमातको प्रधानता कायम रहेको देखिन्छ । यसो भन्दैमा सम्पूर्ण युवा समुदायको भावनामा चोट पुर्याउन खोजेको भने पक्कै पनि होइन । यौनिक बलात्कारको हकमा मदिराजन्य प्रदार्थ एवं पाश्चात्य संस्कृतिको सिको गर्ने क्रममा निम्तिएको दुर्घटनाको रूपमा लिन सकिन्छ ।

मानसिक बलात्कारको हकमा मानिसभित्र रहेको अहमतावादको दम्भको प्रभाव नै यस्को उद्गमताको केन्द्रविन्दु हो ।प्रस्तुत भयाभय तथ्यलाई हृदयंगमन गर्दै चनाखो रहनु नै यस प्रकारको समस्याबाट मुक्ति पाऊनु हो । नेपाल लगायत सम्पूर्ण विश्व भरि नै सामान्य अर्थमा बलात्कार भन्ने शब्द नारी वा पुरूषवर्गको अस्मितामाथि भएकोे खेलवाडको रूपमा बुझ्ने गरेको पाइन्छ ।

यी घटनाक्रमको विकासपश्चात् विभिन्न प्रकारको अदालती वा प्रशासकीय कार्यको सिलसिलामा प्राप्त हुने मानसिक हैरानी, कुण्ठा, एवं सम्भावित धम्कीपूर्ण व्यवहारले दिने पीडा वास्तविक रूपमा मानसिक बलात्कार नै हुन् भनेर ठोकुवा गर्न सकिने अवस्था रहन्छ । समाजमा हुने बलात्कारको सन्दर्भमा सूक्ष्म रूपमा अध्ययन गर्ने हो भने निश्चय पनि घोषित वा अघोषित रूपमा कुनै न कुनै प्रकारको बलात्कारको प्रभावमा मानव समुदायले दैनिक रूपमा समस्या झेल्दै आएको हुन्छन् ।

पीडादायी अवस्थामा रहने यस व्यवहारलाई धेरैजसो अवस्थामा गौण रूपमा लिइने हुँदा सामान्यतया समस्या नदेखिएको मात्र हो । जब समस्याले उग्रता हासिल गर्छ, तत्पश्चात् समाजमा प्रस्फुटन हुने यसका व्यवहार हुन् । सामाजिक परिवेशमा आबद्ध रहेको मानव समुदायलाई कुनै पनि बहानामा पीडकले आफू अनुकुलको प्रयोग गर्ने क्रममा शारिरीक वा मानसिक दुबै प्रकारको दबाब प्रयोग हुन्छन् भने सही अर्थमा यो नै मानसिक बलात्कार ठहरिने छ ।

यस प्रकारको समाजविरोधी कार्यलाई गहनरूपमा अध्ययन गरी कानुनको परिधिभित्र ल्याउनु आजको आवश्यकता हो । अन्यथा समाजमा विभिन्न प्रकारको आपराधिक क्रियाकलापको जन्म भई सामाजिक पृष्ठभूमिमा नकारात्मक प्रभाव पर्न सक्ने सम्भावना रहन्छ ।  प्रस्तुत अवस्था कुनै स्थान विशेष, स्कुल, कलेज, अस्पताल वा कार्यालय लगायतका कुनै पनि क्षेत्रमा हुन सक्ने भएको हुँदा समस्या समाधानमा व्यवधान खडा भएको पाइन्छ ।

वास्तवमा भन्ने हो भने मानसिक रूपबाट प्रताडित तुल्याउँदै नकारात्मक घटनाक्रमको विकासलाई तीव्रता दिँदै पीडकले पीडितबाट भरपुर लाभ लिन सक्ने देखिन्छ । प्रस्तुत भयाभय अवस्थापश्चात् : समाजमा मानसिक बलात्कारको द्वन्द्व प्रारम्भ हुनेछ । उक्त द्वन्द्वात्मक परिवेशलाई यदि समय सीमाभित्रै नियन्त्रणमा लिन सकिएन भने हिंसात्मक परिस्थितिको जन्म भई जघन्य अपराध हुन सक्ने तथ्यलाई अन्यथा लिन मिल्दैन ।

किनकी स्वभावत : मानव जाति हिंसाको चाहना राख्दैन तथापि समय वा परिस्थितिले मानव समुदायलाई जघन्य अपराध गर्न बाध्य तुल्याउँछ । मानव समुदायलाई मानसिक बलात्कारको घेराबाट पृथक राख्ने हो भने पीडक व्यक्ति वा समूहबाट हुने पीडाजन्य कार्यलाई तुरून्त अन्त्य गर्ने प्रयास गरिनुपर्छ । अन्यथा प्रतिशोधको ज्वालामा अनैतिक कार्य हुँदै हिंसात्मक व्यवहारले प्रतिहिंसाको जन्म हुनेछ । जसका कारण समाजमा आपराधिक तत्वको बोलवाला अत्यधिक मात्रामा बढ्न जानेछ ।

यसका बाबजुद पनि नागरिक समाजले नचाहँदा–नचाहँदै आपराधिक क्रियाकलापको घेराबन्दिमा पर्न सक्ने सम्भावनालाई अन्यथा लिन मिल्दैन । सरोकारवाला पक्षको ध्यान समयमै पुग्न सकेको खण्डमा यस्ता समाज विरोधी तत्वको चलखेलमा कमि आई आदर्श नेपाली समाजको परिकल्पना गर्न सहज हुनेछ । यस्ता सकारात्मक कार्यले एकातिर मानसिक पिडालाई न्यूनीकरण गर्न मद्दत पुर्याउछ भने अर्कोतर्फ अपराध नियन्त्रणमा सहयोगीको भूमिका निर्वाह गर्न सहायक सिद्ध भई आउनेछ ।

सामान्य अवस्थाको मानसिक बलात्कारको तुलनामा नारी अस्मितामाथि गरिएको प्रहार ज्यादै नै भयाभय हुने हुँदा उक्त मानसिक बलात्कारको पीडा पक्कै पनि शब्दमा वर्णन गर्न सकिँदैन । जुनसुकै तवरको बलात्कारलाई दबाउन शक्तिको प्रयोग गर्ने प्रवृत्तिले अन्तत : मानसिक पिडा बढ्ने निश्चित छ । किनकी, अपराध भई सकेपछि सम्भावित दण्ड जरिवानाबाट बच्न आफु अनुकुलको शक्तिको प्रयोग गर्नुलाई अन्यथा लिन मिल्दैन ।

मानसिक बलात्कारको हकमा सम्बद्ध पीडित पक्षलाई समाजमा प्रतिस्थापन गराउन जति सजिलो छ । त्यस्को तुलनामा यौनिक बलात्कारका घटनाका पीडित पक्षलाई समाजमा प्रतिस्थापन गराउनु निक्कै चुनौतीपूर्ण एवं जोपिखमले भरिपूर्ण कार्यसमेत हो । मानसिक एवं यौनिक बलात्कारको घटनालाई समाजमा प्रतिस्थापन गर्ने सन्दर्भमा विषेशगरी सम्बद्ध पीडित पक्षको पारिवारिक पृष्ठभूमि नै मूलतः बाधक तत्वको रूपमा देखा परेको छ ।

यस कार्यलाई सहजरूपमा अवतरण गर्नको लागि सरोकारवाला पक्षले विशेष सावधानी अपनाई कार्य गर्नुपर्ने हुन्छ । यदि सफल एवं सहजरूपमा प्रतिस्थापन गराउन सम्भव नभएको खण्डमा जुनसुकै तवरले भएको बलात्कृत समूहले आत्महत्याजस्ता मानवता विरोधी गतिविधिलाई अवलम्बन गर्न सक्ने खतरा हुन्छ ।

नेपालमा समेत प्रतिवर्ष आत्महत्याको दर बढ्नुको प्रमुख कारक तत्वहरूमध्ये केही हदसम्म बलात्कारको चपेटामा परेको पीडितहरूको समूहलाई सफलरूपमा समाजमा व्यवस्थित गर्न गराउन नसकेको परिणतीलाई मान्न सकिन्छ ।समाजमा कायम रहेको यस प्रकारको विकृतिजन्य पक्षलाई अन्त्य गर्नु आजको सामूहिक चुनौतीे हो ।

तसर्थ, बलात्कार मुक्त समाजले मात्र हिसांको अन्त्य गर्न सक्ने भएको हुँदा यसको दुष्प्रभावबाट टाढा रहनु मानव जातिको लागि श्रेयकर छ, जस्को सफलता नै आदर्श समाजको परिकल्पना समेत हो ।

प्रतिक्रिया