आइपिएलमा नेपाली क्रिकेटरको जादू

१७ वर्षीय नेपाली क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने यतिवेला विश्वमा चर्चा कमाइरहेका छन् । सन्दीपले जुन किसिमको चर्चा बटुलेका छन्, त्यो स्वभाविक पनि छ । सीमित लगानीमा जुन सफलता सन्दीपले दिलाए, त्यो विरलै देख्न पाइन्छ । विश्वकै सबैभन्दा ठूलो व्यावसायिक क्रिकेट लिग इन्डियन प्रिमियर लिग (आइपिएल) को यस संस्करणमा दिल्लीले सन्दीपलाई अक्सनमार्फत आफ्नो टिममा राखेपछि नेपाली क्रिकेटले नौलो पहिचान दिलाउने अवसर पायो । जुन अवसरलाई सन्दीपले शनिबार दिल्ली डेयर डेभिल्सको खेलमा जोगाए । आइपिएलमा सन्दीपको डेब्यूपश्चात् नेपाल क्रिकेटको पहिचान अझ उँचो भएको छ । किनकी नेपाली क्रिकेटले अवसर पाएमा विश्व खेलकुदप्रेमीमा तरंग ल्याउन सक्छ, नेपालको नाम विश्वका हरेक देशका नागरिकको मनमनमा बसाउन सक्छ भन्ने आभास सन्दीपले दिएका छन, पहिलो खेलमै । सन्दीपको यो काम नेपालको लागि गोरेटोबाट नयाँ राजमार्ग बन्न सक्छ । यसअघि पनि सन्दीप बंगलादेशको प्रिमियर लिग र पाकिस्तान सुपर लिगको ड्राफ्ट सूचीमा परेपछि नेपाली क्रिकेटप्रति स्वयं नेपालमा तरंग आएको थियो । जसलाई सन्दीपले सन् २०१६ को यू–१९ विश्वकप र अन्य उमेर समूहको अन्तर्राष्ट्रिय क्रिकेटमा गरी कुल ४९ विकेट लिएपछि एसोसिएट राष्ट्रमार्फत नेपालले विश्वको ध्यान आफूतिर मोड्न बाध्य बनायो । त्यसैबीचमा अस्ट्रेलियन क्रिकेट टिमका पूर्वकप्तान माइकल क्लार्कले सन्दीपलाई आफ्नो एकेडेमीमा खेल्ने अवसर दिलाए । जुन कामलाई नेपाली क्रिकेटमाथि विश्व क्रिकेटका हस्तीले तारिफ सुरु गरे ।
क्लार्ककै विश्वास र भरोसाका कारण पनि सन्दीपलाई दिल्लीको प्लेइङ सेटमा खेलाउन दिल्लीका म्यानेजमेन्ट बाध्य भयो । जुन परीक्षामा नेपाली क्रिकेटर सन्दीप खरो उत्रँदै आमनेपालीलाई खुसियाली दिए, नेपाली क्रिकेटमाथिको भरोसालाई अझै बलियो बनाए । दिल्लीको १२औँ खेलमा सन्दीपले ४ ओभर बलिङमा गर्दा २५ रन खर्चिएर १ विकेट लिए । जुन दिल्ली टिमका लागि सबैभन्दा किफायती बलिङ थियो । त्यसक्रममा सन्दीपले भारतीय राष्ट्रिय क्रिकेट टिमका पूर्वसदस्यसमेत रहेका पार्थिव पटेललाई ६ रनमै एलबिडब्लुको सिकार बनाए । साथै, उनले विश्व क्रिकेटका आक्रामक ब्याट्सम्यानको छवि बनाएका एबि डी भिलियर्स र विराट कोहलीजस्ता हस्तीलाई खुलेर ब्याटिङ गर्ने अवसर नै दिएनन् । उनको बलिङसामु फिका सावित बने क्रिकेटका हस्ती कहलिएका ब्याट्सम्यानहरू । यद्यपि, त्यो खेल दिल्लीले हार्यो । तर, सन्दीपले आफ्नो व्यक्तिगत करिअर र नेपाली क्रिकेटको भविष्यलाई भने सगरमाथाको सिरमा पुर्याएका छन् । जसको प्रमाण एबिडी स्वयंको भनाइ हो । एबिडीले भनेका थिए, ‘सन्दीप १७ वर्षका छन् तर उनले निकै उत्कृष्ट खेले ।’
परीक्षामा खरो उत्रिएर नेपाली क्रिकेटरले अवसर पाए अब्बल सावित हुन्छन् भन्ने परिणाम दिएकै कारण उक्त खेलका विश्लेषक र विश्व क्रिकेटका हस्तीले समेत सन्दीपको खुलेरै तारिफ गरेका छन् । सन्दीपले आइपिएलमा पहिलो खेल प्रदर्शन गर्नुअघि नै नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत सन्दीप र नेपाली क्रिकेटको तारिफ गर्नु विश्वलाई ठूलो सन्देश बनिसकेको छ । वेस्ट इन्डिजमा हुने क्यारेबियन प्रिमियर लिगका लागि पनि सन्दीप छनोटमा परिसकेका छन् । लन्डनमा भएको ड्राफ्टमा सन्दीपलाई विश्व टी–२० क्रिकेटका उत्कृष्ट ब्याट्सम्यान क्रिस गेलको सेन्ट किट्स एन्ड नेविस पेट्रियट्सले पाँच हजार अमेरिकी डलरमा खरिद गरिसकेको छ । जुन सन्दीप र नेपाली क्रिकेटका लागि आइपिएलमा दिल्लीको बाँकी दुई खेलले थप ठूलो अवसर दिलाउन सक्छ । नेपाली क्रिकेटले एक्सपोजर पाएमा आफूलाई प्रमाणित गर्न सक्दछ भन्ने सन्देश दिल्लीको १२औँ खेलले सन्दीपमार्फत दिएको छ । अब नेपाल सरकारले नेपाली खेलाडीको वृत्तिविकास र विवाद समाधानतिर ध्यान केन्द्रित गर्नुपर्छ । खेलाडी अब्बल छन् तर राजनीतिक घटनाका सिकार बनिरहेका छन् भन्ने तथ्यहरूले प्रष्टै देखिन्छ । त्यसैले अब नेपाल सरकार र नेपाली खेलकुदका उच्च निकायले पनि नेपाली क्रिकेटको विवाद समयमै सुल्झाएर नेपाली क्रिकेटलाई नयाँ ऊर्जा दिन जरुरी छ ।

प्रतिक्रिया