बाटो बिराएको प्रतिपक्ष

संघीय संसदको दोस्रो अधिवेशन आइतबारबाट सुरु भएको छ । झण्डै दुई तिहाइ मत पाएको जननिर्वाचित सरकारको नीति तथा कार्यक्रम र बजेट यसै अधिवेशनले पारित गर्नुपर्नेछ । यस्तो वेला सरकार आगामी बर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणमा जुट्नु स्वभाविक हो । यसकारले आम नागरिकलाई अनुभूति हुने गरी केही सह्रानीय कामलाई अघि बढाएको छ । खासगरी, विकास निर्माण आयोजनालाई समयमै सम्पन्न गराउने अभियानसहित बर्दीको आडमा अपराध गर्ने र सिन्डिकेट लादेर जनता ठग्ने तथा सरकारलाई झुक्न बाध्य पार्ने यातायात व्यवसायीविरुद्ध सरकारले अत्यन्तै निर्मम कदम चालेको छ । जसलाई आम नागरिकले खुलेर प्रशंसा गरिरहेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले अघि सारेका यी कामलाई नागरिकले अत्यन्त सही ठानेका छन् । तर, सरकारलाई चेक गर्न बसेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस यतिवेला बाटो बिराएको अवस्थामा देखिएको छ । चुनावी पराजयको समीक्षा गर्न बसेको महिना दिन लामो बैठकपछि कांग्रेस झनै गलत बाटोतिर हिँड्न लागेको हो कि भन्ने आभाष पनि नागरिकमा हुन थालेको छ । आन्तरिक विवादमा फस्दै केन्द्रीय समिति बैठकसमेत बहिस्कारको विन्दुमा पुगेको वेला कांग्रेसले जनताको हित विपरित अडान लिन थालेको छ । खासगरी सिन्डिकेटविरुद्ध सरकारले चालेको सही कदमलाई साथ दिनुको साटो कांग्रेसले सिन्डिकेट लादेर जनता ठग्न पाउनुपर्ने जस्तो अडान राखेको छ ।
पछिल्लो केही घटनाक्रम हेर्दा लाग्छ, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिपक्षको धर्म नै सरकारको जे कामको पनि विरोध मात्रै गर्ने हो, सरकारलाई अवरोध मात्रै गर्ने हो, समृद्धिको योजनामा बाधक बन्ने हो, नागरिक आशा र अपेक्षामाथि पानी खन्याउने हो, जताततै अवरोध नै अवरोध पैदा गर्ने हो भन्ने अत्यन्त गलत र आपत्तिजनक मानसिकतामा रहेको छ । यातायात क्षेत्रमा लामो समयदेखि कायम रहेको सिन्डिकेट तोड्न सरकारले जे काम गरेको छ, यसबाट अवका दिनमा नागरिकले यात्रामा सुरक्षाको महसुस गरेका छन् । गठीबाट बचेको महसुस नागरिकमा छ । तर कांग्रेस विज्ञप्ति नै निकालेर सिन्डिकेटको पक्षमा वकालत गर्छ । फौजदारी अभियोग लागेका सांसदलाई निलम्बन गर्न नपाइने भन्दै जस्तासुकै अपराध प्रमाणित भए पनि सांसद पद कायम रहने, निलम्बनसमेत नहुने अडानमा बस्छ । लामो समय राजनीतिक अस्थिरताको शिकार बन्दै समृद्धिका सपनासमेत देख्न छाडेका नागरिक अब तीव्र गतिमा विकासको चाहना राखिरहेका छन् । तर, कांग्रेस आर्थिक समृद्धिको काममा साधक बन्दैन । लामो समय सरकारको नेतृत्व गरेको कांग्रेस प्रमुख प्रतिपक्षमा बस्नु पर्दाको पीडाबाट माथि उठ्न नसकेको परिणाम हुन यी । यसबाट माथि नउठ्दासम्म कांग्रेसले प्रमुख प्रतिपक्षको धर्म के हो ? काम के हो ? देशका लागि आवश्यक कुराहरू के हुन् ? भन्ने यथार्थ बुझ्नै सक्दैन । केवल प्रतिपक्षको धर्म नै विरोध गर्नु हो भनेर आफैँ पुरिने खाल्डो खन्ने काम हुन्छ ।
अहिलेको आवश्यकता सरकारलाई समृद्धिको दिशामा सघाउ पुर्याउनु सबैको कर्तव्य र दायित्व हो । समृद्ध देशको नागरिक बन्न सक्दा विश्व समुदायमा नेपालीको पहिचान बेग्लै हुन्छ । नेपाली भन्न साथ नेपालमा काम नपाएर विदेशतिर भौतारिँदै हिँड्ने देशका नागरिक भन्ने शक्तिशाली राष्ट्रका नागरिकको बुझाइमा परिवर्तन आउँछ । देशको हितमा काम गर्दा सघाउनु प्रतिपक्षीको पनि धर्म हो । तर केही समय यताका घटनाक्रम हेर्दा कांग्रेसले यी तथ्य र मुलुकको आवश्यकतालाई बुझ्नै नसकेको वा बुझ्न नचाहेको देखिन्छ । समयमै कांग्रेसले यी कुरा बुझेन भने उसैले अहिलेको भन्दा पनि ठूलो बर्वादीको सामना गर्नुपर्छ । मुुलुकले पनि गति पाउन सक्दैन । यसतर्फ सचेत भई कांग्रेस सत्ताबाट फालिएको मनोरोगबाट मुक्त भई रचनात्मक र विकाशमा साझेदारी लिने प्रतिपक्षको भूमिकामा आउनुपर्छ । यही नै अहिलेको आवश्यकता हो । कांग्रेसलाई जनताको मनमा राखिरहन यस्को विकल्प छैन ।

प्रतिक्रिया