वैकल्पिक विमानस्थल अत्यावश्यक

राजधानी काठमाडौं उपत्यकासँगै जोडिएको काभ्रे जिल्लामा आन्तरिक विमानस्थल निर्माण गर्ने अभियानले गति लिएको छ । विगत १० वर्षदेखि नै यो चर्चा चले पनि काम अघि बढ्न सकेको थिएन । गत बुधबार पर्यटन मन्त्री रविन्द्र अधिकारीले विमानस्थल निर्माणका लागि काभ्रे जिल्लाका प्रस्तावित तीन वटा ठाउँको स्थलगत निरीक्षण गरी यथाशीघ्र काम अघि बढाउने प्रतिबद्धता जाहेर गरेका छन् । काठमाडौं उपत्यकामा रहेको मुलुकको एक मात्रै अन्तर्राष्ट्रिय विमानस्थलले यात्रुको चाप धान्न छाडेको करिब एक दशक भइसकेको छ । वार्षिक ६० लाख यात्रु व्यवस्थापन गर्ने क्षमता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको छ । तर, अहिले वार्षिक ७५ लाख यात्रुको व्यवस्थापन गर्दै आएको छ । यात्रुको चाप हरेक १५ वर्षमा दोब्बर हुने गरेको तथ्यांक छ । विदेशी पर्यटकको वृद्धिदर चालु आर्थिक वर्षकै रफ्तारमा हुने हो भने त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा यात्रुको चाप अबको १० वर्षमै दोब्बर हुने अवस्था छ ।
एक मात्रै अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक उडानको चाप पनि त्यतिकै छ । मुलुकका प्रायः सबै मुख्य सहरहरूमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै उडान गर्नुपर्ने बाध्यता छ । जसका कारण त्रिभुवन विमानस्थलमा हवाई ट्राफिकको समस्या देखिएको छ । यो समस्या समाधान गर्ने एक मात्रै विकल्प भनेको काठमाडौं उपत्यका आसपासमा अर्को विमानस्थल बनाउने र त्यहीँबाट आन्तरिक उडान भर्ने हो । आन्तरिक उडानका लागि विकल्पको व्यवस्था गर्ने हो भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई ट्राफिकको समस्या धेरै हदसम्म समाधान हुने अवस्था छ । यसका लागि विज्ञहरूले डेढ दशकअघि नै सरकारलाई सुझाव दिएका थिए । काभ्रे जिल्लाको नागिडाँडा, ठूलीचौर र चिसापानी क्षेत्रको अध्ययन गरिएको थियो । तर, सरकारले खासै चासो नलिएका कारण काम अघि बढ्न सकिरहेको छैन । अब तत्कालै धमाधम काम अघि बढाउने हो भने पनि निर्माण सम्पन्न हुन पाँच वर्ष लाग्ने जनाइएको छ । पाँच वर्ष भनेको लामो समय हो त्यतिञ्जेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले धान्न सक्ने अवस्था छैन । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम पनि भारतले रुट परमिट दिन आनाकानी गरेका कारण अघि बढ्न सकिरहेको छैन् । चीनको सहयोगमा लुम्बिनीमा निर्माण भइरहेको अन्तर्राष्ट्रिय विमानस्थलको काम अबको दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । तर, भारतले रुट परमिट नदिए लुम्बिनी विमानस्थल पनि आन्तरिकमा सीमित हुने अवस्था छ । त्यसैले काभ्रेमा विमानस्थल निर्माण गर्ने अभियानलाई युद्धस्तरमा अघि बढाउनुपर्छ । पाँच वर्ष होइन तीन वर्षभित्रै सम्पन्न हुने गरी काम अधि बढाउनुपर्छ ।
त्रिभुवन विमानस्थलको विकल्पमा नजिकै अर्को विमानथल नहुँदा कस्तो समस्या आइपर्दो रहेछ भन्ने कुरा तीन वर्ष अघि विनाशकारी भूकम्प आउँदा मुलुकले बेहोरिसकेको छ । प्राकृतिक विपत्ति आइपरेको अवस्थामा तत्काल उद्धार तथा राहतका लागि विमानस्थल नै सबैभन्दा उपयुक्त माध्यम हो । राजधानी काठमाडौं उपत्यकाको जनसंख्या ४० लाख पुगिसकेको अवस्थामा विमानस्थलको विकल्प एउटा होइन दुई वटा हुनुपर्छ । काभ्रेका अलावा नुवाकोटमा पनि विमानस्थल निर्माणको तयारी अहिलेदेखि नै गर्दा उपयुक्त हुन्छ । टोखा–छहरे सुरुङ मार्ग, मध्यपहाडी लोकमार्ग तथा केरुङ–काठमाडौं रेलमार्ग निर्माण हुन गइरहेको अवस्थामा नुवाकोटमासमेत विमानस्थल निर्माण गर्ने र पश्चिम नेपालतर्फको आन्तरिक उडान त्यहीँबाट गर्ने व्यवस्था मिलाउन सकियो भने धेरै नै राहत मिल्ने अवस्था छ । पाँच वर्षभित्र विदेशी पर्यटकको आगमन वार्षिक ३० लाख पुर्याउने लक्ष्य चुनावी घोषणापत्रमा उल्लेख गरेको वाम गठबन्धन यतिबेला करिब दुईतिहाइ बहुमतका साथ सरकारमा छ । लक्ष्य अनुसार विदेशी पर्यटकको आगमन भयो भने त्रिभुवन विमानस्थलले धान्ने अवस्था छैन । घोषणापत्रमा उल्लिखित यो लक्ष्य पूरा होस् भन्ने चाहने हो भने सर्वप्रथम वैकल्पिक विमानस्थल निर्माणको काम सम्पन्न गरिसक्नुपर्छ । कुवामा गइयोस् कि समुन्द्रमा आफूसँग जत्रो भाँडो छ त्यति मात्रै पानी ल्याउन सकिन्छ । यतिबेला हामीसँग विदेशी पर्यटक भित्र्याउन सकिने अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता अत्यन्त सीमित छ । त्यसैले यथाशीघ्र विकल्प निर्माण गर्ने सरकारको प्रयास सराहनीय छ ।

प्रतिक्रिया