८५ वर्षीय वृद्धको अनुकरणीय प्रयास

विद्यालयको पहुँचबाट एकजना पनि बालबालिकालाई बाहिर नराख्ने अभियान सरकारले सुरु गरेको छ । कुल जनसंख्याको करिब १० प्रतिशत हिस्सा ‘बिहान खाए बेलुका के खाऊँ , बेलुका खाए बिहान के खाऊँ ’ को अवस्थामा छ । हिमाली तथा उच्च पहाडी क्षेत्रका कतिपय गाउँ बस्तीमा विद्यालय छैनन् , विद्यालय भए पनि शिक्षक बस्दैनन् । यस्तो अवस्थामा एक जना बालबालिकालाई पनि विद्यालयको पहुँच बाहिर नराख्ने सरकारको अभियान जति सह्रानीय छ त्यति नै चुनौतिपूर्ण पनि छ । सार्वजनिक पद धारण गर्नेहरू तथा क्षमता हुनेहरूले कम्तिमा एक जना बालबालिकाको अभिभाकत्व ग्रहण गर्ने कार्यक्रम सरकारले अघि सारेको छ । यो कार्यक्रमको प्रभावकारिता कति हुन्छ ? परिणाम आउन बाँकी छ । गरिबीका कारण विद्यालय जान नसकेका सुगम क्षेत्रका बालबालिकाका निम्ति त यो कार्यक्रम प्रभावकारी होला तर गरिबीमाथि भौगोलिक कठिनाइसमेत थपिएको क्षेत्रका बालबालिकाका लागि भने यो कार्यक्रमले आशातित परिणाम दिन सक्ने अवस्था छैन । विकट भौगोलिक क्षेत्रका अभावग्रस्त बालबालिकाका लागि छुट्टै कार्यक्रम ल्याउनु जरुरी छ । मुलुकको हिमाली तथा उच्च पहाडी क्षेत्रमा छरिएर रहेको बस्ती छ । १५–२० घर भएको बस्तीमा विद्यालय स्थापना सम्भव छैन । एक बस्तीबाट अर्को बस्तीमा पुग्न भीरको बाटो २–३ घण्टा पैदल हिँड्नुपर्ने अवस्था छ । यस्ता गाउँका बालबालिकाहरुलाई कसरी विद्यालयसम्म पुर्याउने ? भन्ने चुनौती हाम्रा अगाडि छ ।
काठमाडौंको बौद्धस्थित मंगलदीप माध्यामिक विद्यालयबाट मुलुकका नीति निर्माताहरुले पाठ सिक्नुपर्छ । विद्यालय नभएका उच्च पहाडी तथा हिमाली क्षेत्रका गाउँका बालकालिकालाई लक्षित गरी उक्त विद्यालय सन् १९८७ मा स्थापना गरिएको हो । उक्त विद्यालयमा ५ सय विद्यार्थीका लागि आवास सहितको पठन पाठनको व्यवस्था मिलाइएको छ । यसका लागि खर्चको जोहो थ्राङ्डु रिम्पोछेले गर्दै आएका छन् । खर्चको जोहोका लागि दान दातव्यको अनुरोध गर्दै उनी देश विदेश पुग्ने गर्छन् । यतिबेला उनी उमेरले ८५ वर्ष पुगिसके । कम्तीमा एकजना विपन्न बालबालिकाको जिम्मा लिइदिन सरकारले यत्रो आग्रह गर्दा पनि मुलुकको हुनेखाने वर्ग कानमा तेल हालेर बसिरहेको अवस्थामा एक जना ८५ वर्षीय वृद्ध एक्लैले ५ सय जना बालबालिकाको अभिभावकत्व ग्रहण गर्दै आइरहेका छन् भन्ने समाचारले धेरैलाई आश्चर्यचकित पार्ला तर मुलुकको वास्तविकता यही हो । मौका पाउनासाथ राजश्व लुटिहाल्ने, आँफूभन्दा निमुखालाई ठगिहाल्ने कुलंगारहरू मात्रै होइन थ्राङ्डु रिम्पोछे जस्ता महामनाहरू पनि हाम्रो मुलुकमा छन् । तर, उनीहरू प्रचारमा आउन चा“हदैनन् । आफ्नो ठाउँमा बसेर उनीहरूले शिक्षा क्षेत्रका लागि महत्वपूर्ण योगदान पुर्याइरहेका छन् ।
महामना थ्राङ्डु रिम्पोछेको यो एक्लो प्रयास अत्यान्त स्तुत्य छ । उनी हार्दिक नमनका पात्र हुन् । उनको यो प्रयासलाई सरकारले कदर गर्नुपर्छ । उनको शेषपछि यो अभियानलाई कसरी निरन्तरता दिने ? भन्ने विषयमा मुलुकका नीति निर्माताहरू गम्भीर हुनै पर्छ । बालबालिकालाई माध्यमिक तह सम्मको शिक्षा सकेसम्म आफ्नै गाउँ तथा परिवेशमा दिलाउनु उत्तम हुन्छ । राजधानी काठमाडौंमा आएर प्रारम्भिकदेखि उच्च शिक्षा हासिल गरेको हिमाली तथा उच्च पहाडी क्षेत्रको थुप्रै जनशक्ति नेपालमा छ तीमध्ये थोरै व्यक्तिले मात्रै आफ्नो गाउँ ठाउँमा सेवा पुर्याएका छन् । अधिकांश व्यक्तिहरू एकपटक पनि फर्केर आफ्नो गाउँ ठाउँ पुगेका छैनन् । महावीर पुन , डा. सन्दुक रुइत लगायत केही अपवादलाई छाड्ने हो भने हिमाली तथा उच्च पहाडी क्षेत्रमा जन्मेको जनशक्ति सहरमुखी बनेको छ । आफ्नो ठाउँमा विकास लैजानुभन्दा विकास भएकै ठाउँमा बसोवास गर्न सजिलो पनि छ । हिमाली तथा उच्च पहाडी क्षेत्रको जनजीवन पछि पर्नुको मुख्य कारण यो पनि हो । आवासीय सुविधा दिएर हिमाली तथा उच्च पहाडी क्षेत्रमै विद्यालय स्थापना गर्नु जरुरी छ । आवासीय सुविधा विना हिमाली तथा उच्च पहाडी क्षेत्रका विपन्न बालबालिकाहरूले शिक्षा आर्जन गर्न सक्ने अवस्था नरहेको देखिइसकेको छ ।

प्रतिक्रिया