सरकारी अस्पतालको अमानवीय काम

कर्णाली प्रदेशको राजधानी सुर्खेतमै एक विपन्न गर्भवती महिला सडकमै बच्चा जन्माउन बाध्य भएकी छन् । दैलेखको विकट क्षेत्र डाँडापराजुलबाट आएकी सिर्जना विक कमजोर आर्थिक अवस्था र सरकारी अस्पतालको चरम बेइमानी र अमानवीयताको शिकार बनेर सडकको पेटीमै बच्चा जन्माउन बाध्य भइन् । सडकमा सन्तानलाई जन्म दिनु सिर्जनाको रहर नभई बाध्यता थियो । आर्थिक अवस्था निकै कमजोर रहेकी सिर्जनामा निजी अस्पताल पुगेर प्रसूति गराउन सक्ने हैसियत थिएन । सबैका लागि सर्वसुलभ शिक्षा र स्वास्थ्य भन्ने नाराबाट प्रभावित सिर्जनाले सरकारी अस्पताल नै रोजिन् । उनी प्रसूतिको समयभन्दा तीन दिन अगावै आफूहरूजस्ता गरिब र असहायका लागि लागि खोलिएको सरकारी अस्पताल पुगिन् । उनको रोजाइ क्षेत्रीय अस्पताल कालागाउँ पर्यो । तर अस्पतालमा उनले निकै ठूलो अपमान र पीडा सहनुपर्यो । ज्यान जोखिममा राखेर सन्तान जन्माउनुपर्ने आमाको पीडासमेत भुल्यो अस्पताल प्रशासनले । अनि चिकित्सक र प्रशासनले प्रसूतिको पीडामा रहेकी महिलालाई बेड छैन भन्ने बहाना बनाएर होटलमा बस्न बाध्य बनायो । प्रसूति महिलाको लागि कति ठूलो जोखिमपूर्ण हुन्छ भन्ने जान्दाजान्दै मानवीयताको विरुद्धमा चिकित्सक लागे पनि उनी हरेक दिन अस्पताल धाइरहिन् । बेड खाली हुनासाथ हुनेखानेलाई दिने चलन मौलायो । उनको समस्याको सुनुवाइ भएन । हुनेखाने वर्गको सेवामा तल्लिन सरकारी चिकित्सक र अस्पताल प्रशासनले उनको पीडा बुझ्ने प्रयास नै गरेन ।
विकट गाउँकी एक दलित महिला ठानेर अस्पताल प्रशासनले सामान्य मानवीयतासमेत भुल्यो । परिणाम सभ्य समाजलाई नै गिज्याउने गरी सडकमै बच्चा जन्माउनुपर्ने दुःखदायी अवस्था आइलाग्यो । सुत्केरी गराउन दैलेखको डा“डापराजुलदेखि आएकी सिर्जनाले शनिबार बिहान ६ बजेतिर सडकको पेटीमा बच्चा जन्माइन । सरकारी अस्पतालले बेड खाली नभएको बताएपछि उनी होटलमा बस्दै आएकी थिइन् । चार दिनअघि सुरक्षित प्रसूति सेवाका लागि क्षेत्रीय अस्पताल कालागाउँमा आएकी विकलाई अस्पतालले बेड छैन भन्दै फिर्ता पठायो । आर्थिक अवस्था निकै कमजोर भएकाले निजी अस्पताल जान सक्ने क्षमता उनीमा थिएन । शनिबार बिहानबाटै व्यथाले च्याप्न सुरु गर्यो । अस्पताल लैजाने तयारी गर्दा गर्दै सडकको पेटीमै बच्चा जन्मियो । सिर्जनाले कर्णाली प्रदेशको सदरमुकाम वीरेन्द्रनगर–६, बुद्धपथनजिकै रहेको देउराली होटलबाहिरै कम्बलको सहारामा बच्चा जन्माइन् । सरकारी अस्पतालले विपन्न आर्थिक अवस्थामा रहेका ग्रामीण महिलाको पीडा नबुझ्दाको पीडादायी घटनाका रूपमा यसलाई समाजले बुझेको छ । एउटा गरिब र दलित महिलाको पीडालाई अस्पतालले भद्दा मजाकको विषय बनाएको घटना पनि क्रमशः सार्वजनिक हुँदै छ । अनि सरकारी अस्पतालले सरकारकै नीतिलाई धज्जी उडाउन्दै आफ्नो कर्तव्य र जिम्मेवारीसमेत भुलेको तथ्य फेरि एकपटक उजागर भएको छ ।
विपन्न दलित महिलाको यो पीडादायी घटनाले यतिवेला सिंगो समाजमाथि प्रश्न गरिरहेको छ । मुलुकभर हुनेखानेको मात्रै सेवा गर्ने मानसिकतामा रहेका चिकित्सक र अस्पताल प्रशासनले कति धेरै सिर्जना जन्माइरहेका होलान ? यतिवेला सबैको मनमा यही प्रश्न उठेको छ । सिर्जनाको घटनाले सरकारी अस्पतालमा कार्यरत चिकित्सक र कर्मचारीको क्षमता, व्यवहार र जनताको सेवा गर्ने भावनाप्रति कति सक्षम छन् भन्ने तथ्य पनि उजागर गरेको छ । सरकारी निकाय र संस्थाहरूले विपन्नलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ । तर आर्थिक अवस्था नाजुक रहेकाहरूका लागि सरकारी अस्पतालले सेवा दिनुपर्नेमा उल्टै सेवाग्राहीलाई होटलको वास बनाउनेजस्तो आपत्तिजनक काम अस्पताल प्रशासनले गरेको छ । शनिबार सुर्खेतको घटनाबाट पाठ सिक्दै सरकारी अस्पतालमा कार्यरत सबै चिकित्सक र कर्मचारीलाई सचेत गराउँदै अब दोहोरिन नदिन लाग्नुपर्छ । साथै सरकारले यस्ता अमानवीय काम नहोस् भन्नेतर्फ सचेत गराउँदै सर्वसुलभ स्वास्थ्यका लागि कठोर कदम चाल्न जरुरी छ । कागजको घोषणाले मात्र काम गर्दैन भन्ने तथ्य सुर्खेत घटनाले दिइसकेको छ । अब कागजलाई व्यवहारमा उतार्ने समय आएको छ । वर्तमान सरकारले यसतर्फ तत्कालै पहलकदमी लिन जरुरी छ । अन्यथा सरकारको नीति एउटा हुने, नागरिकले समस्या बेहोर्नुपर्ने अवस्थाको सामना गर्नुपर्नेछ ।

प्रतिक्रिया