नयाँ वर्षको शुभकामना

विक्रम संवत्को नेपाली पात्रोअनुसार शनिबारदेखि पुरानो वर्ष समाप्त भई नयाँ वर्ष आरम्भ भएको छ । विक्रम संवत्लाई राष्ट्रिय संवत् तथा सरकारी कामकाजका रूपमा अपनाउने विश्वको एक मात्रै मुलुक हो नेपाल । नेपालमा विक्रम संवत्को प्रचलन कहिलेदेखि सुरु भयो भन्ने यकिन छैन, तर सरकारी कामकाजमा प्रचलनमा आएको भने नेपाल एकीकरणदेखि नै हो । त्यसअघि विभिन्न राज्यका अलग–अलग संवत् प्रचलनमा थिए । तत्कालीन गोरखा, लमजुङ राज्यमा भने विक्रम संवत् नै प्रचलनमा रहेको अभिलेख पाइन्छ । विक्रम संवत् वैशाखबाट सुरु भई चैतमा समाप्त हुन्छ । प्रकृतिले पनि पुरानो स्वरूप परिवर्तन गरी नयाँ स्वरूपमा प्रवेश गर्ने भएका कारण पनि वैशाखलाई विक्रम संवत्ले नयाँ वर्षको प्रारम्भ मानेको हुनुपर्छ । रुख विरुवाहरूमा नयाँ पालुवा पलाई फूल फुल्न सुरु हुने, चराचुरुंगीहरूले पनि गुँड बनाई बचेरा हुर्काउने मौसम यही हो । वसन्त ऋतुलाई प्रकृतिको राजा भन्ने प्रचलन पनि छ । सरकारी कामकाजमा प्रयोग भए पनि धार्मिक क्रियाकलापमा भने विक्रम संवत् प्रचलनमा छैन । नेपाल संवत्को पात्रोअनुसार नै धार्मिक क्रियाकलाप हुँदै आएको पाइन्छ । अर्थात् हाम्रा धार्मिक क्रियाकलापहरू मितिका आधारमा नभएर तिथिका आधारमा हुँदै आएका छन् । तसर्थ, विक्रम संवत्को धार्मिक तथा सांस्कृतिक महत्व खासै छैन भन्दा पनि हुन्छ ।

नयाँ वर्षको प्रारम्भ भनेको बितेको वर्षको समीक्षा गर्दै नयाँ योजनाका साथ अघि बढ्ने समय पनि हो । खास गरी शुभकामना साटासाट, मनोरञ्जन तथा पूजाआजा गरी नयाँ वर्ष मनाउने परम्परा छ । विश्वभर छरिएर रहेका नेपालीहरूले विभिन्न कार्यक्रमका साथ नयाँ वर्षको उत्सव मनाएका छन् । बाढी, पहिरो तथा डुबानजस्ता प्राकृतिक प्रकोपबाहेक ०७४ साल नेपालीका निम्ति सुखद् नै रह्यो । विशेष गरी राजनीतिक रूपमा ०७४ साल निकै उपलब्धिमूलक रह्यो । स्थानीय तह, प्रादेशिक तह र केन्द्रीय तहको निर्वाचन यही वर्ष सम्पन्न भयो । संविधानले परिकल्पना गरेका सबै तह, अंग तथा निकायहरूमा एक वर्षको अवधिमै जनप्रतिनिधि पुग्नु भनेको सानो उपलब्धि होइन । साथै, धेरै वर्षको अन्तरालपछि मुलकमा बहुमतको सरकार निर्माण भएको छ । केन्द्रमा मात्रै होइन, प्रदेश–२ छाडेर अरू ६ वटा प्रदेशमा पनि बहुमतका सरकार बनेका छन् । संविधान कार्यान्वयनको सुखद् गति मुलुकले पक्रिएको छ । केन्द्र तथा प्रदेश तहका सरकारहरूले विकास तथा आर्थिक समृद्धि मुख्य एजेन्डा बनोस् भन्ने जनचाहनाअनुसार मार्ग तय गरेका छन् । साथै, राजनीतिक पार्टीहरूले पनि एकीकरण, सहमति र सहकार्यको दिशा पक्रेका छन् । मुलुकका दुई ठूला कम्युनिस्ट पार्टीहरू नेकपा एमाले र माओवादी केन्द्र एकीकरणको प्रक्रियामा छन् । विकास निर्माण तथा आर्थिक गतिविधिका हिसाबले बितेको वर्ष मिश्रितजस्तै रह्यो । विगतका वर्षहरूमा जस्तै विकास बजेट कार्यान्वयनको अवस्था नाजुक देखियो । यसका बाबजुद बहुप्रतिक्षित मेलम्ची सिँचाइ आयोजनाको सबैभन्दा जटिल मानिएको सुरुङ निर्माणको काम यही वर्ष सम्पन्न भएको छ । भेरी–बबई डाइभर्सन बहुउद्देस्यीय आयोजना, लुम्बिनी र पोखरामा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलको काम उत्साहजनक रूपमा अघि बढेको छ । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको निर्माण पनि सम्पन्न हुने चरणमा पुगिसकेको छ । बाढी तथा पहिरोका कारण कृषि उत्पादन केही घटे पनि निराशाजनक अवस्था छैन । विप्रेषणको वृद्धिदर केही घटे पनि निराशाजनक अवस्था भने छैन । तर, आयत वृद्धिको तुलनामा निर्यात वृद्धि हुन नसक्दा चालु आर्थिक वर्षको पहिलो आठ महिनामा व्यापार घाटा सात खर्ब रुपैयाँ नाघेको छ । सेयरको कारोबार घटेको छ । राजस्वको वृद्धि लक्षअनुसार हुन सकिरहेको छैन । तर, विदेशी पर्यटकको आगमन भने बढेको छ । अघिल्लो वर्षको तुलनामा विदेशी पर्यटकको वृद्धि करिब २० प्रतिशत देखिएको छ ।
बितेको वर्षका राम्रा पक्षहरूलाई आत्मसात गर्नु र गलत पक्षबाट पाठ सिक्नु अहिलेको आवश्यकता हो । ०७४ सालले राजनीतिक मुद्दा समाप्त गरी मुलुकलाई विकास, आर्थिक समृद्धि र समाजिक न्यायको मुद्दामा प्रवेश गराएको छ । ०७५ सालको मुख्य लक्ष भनेकै विकास, आर्थिक समृद्धि र सामाजिक न्याय हुनुपर्छ । यसका लागि सरकारले उचित कार्यक्रम ल्यउनु र ती कार्यक्रम सफल पार्न सहयोग गर्नु सबैको दायित्व हो । ०७५ सालको नयाँ वर्षले सबैलाई त्यो प्रेरणा देओस्, सुख, शान्ति तथा खुसीका साथ ०७५ साल बितोस् । हार्दिक शुभकामना ।

प्रतिक्रिया