पर्यटन र जलस्रोतमा अथाह सम्भावना भएर पनि मुलुकका हरेक स्थानले यसबाट उपलब्धि लिन भने सकेका छैनन् । भूकम्पीय जोखिम क्षेत्र भएकाले समयसमयमा गइरहने भूकम्पले यी दुवै क्षेत्रलाई अत्यन्त प्रभावित पार्दाेरहेछ भन्ने नेपालमा ०७२ मा गएको शक्तिशाली भूकम्प र त्यसपछि सयौँपटक गएको पराकम्पले देखाएको छ । अर्कोतर्फ लामो अस्थिर राजनीतिक अवस्थाले पनि मुलुकको अर्थतन्त्रमा प्रभाव पारेको देखिएको छ ।
यस्तो कठिन अवस्थाबाट चाँडै माथि उठ्नसमेत जरुरी बन्दै गएको छ । हाम्रो सम्पन्नताको आधार पर्यटन र जलस्रोत हो । पर्यटनबाट देशले मात्र होइन आमनागरिकले पनि आर्थिक विकास गर्न सक्छन् । तर, भूकम्पले मुलुकको पर्यटन ध्यस्त भएको नकारात्मक सन्देश विश्वव्यापी हुँदा मुलुकको पर्यटन क्षेत्र अझ तहसनहस भएको छ ।
भूकम्पले पारेको प्रभावभन्दा भूकम्प गएपछिको कुप्रचारले यो क्षेत्रमा विध्वंश मच्चिएको छ । यो कुप्रभाव चिर्न भएका संरचनाको प्रवद्र्धन गर्न र नयाँ पूर्वाधार निर्माण गर्दै अघि बढ्न आवश्यक भइसकेको छ । यसका लागि कुनै एक जिल्ला एक गन्तव्यको एक्लो प्रयासले सम्भव छैन । आपसी सहकार्य र सामूहिक प्रयासले यसको विकास र प्रवद्र्धन चाँडो हुन सक्ने आंकलन गर्न सकिन्छ ।
पूर्वका तीन गन्तव्य
लामो समयदेखि पूर्वको पर्यटनको कुरा भए पनि पूर्वको पर्यटनले पश्चिमको पर्यटनजस्तो गति लिन सकेको छैन । पूर्वका आमनागरिकले पर्यटनबाट पाउनुपर्ने उपलव्धि लिन सकेका छैनन् । यहाँ हुनुपर्ने पूर्वाधार विकास पनि हुन सकेको छैन । आन्तरिक पर्यटकहरूको रोजाइ पूर्व भए पनि तेस्रो मुलुकका पर्यटकहरूको रोजाइ यो क्षेत्र बन्न सकेको छैन ।
काठमाडौं, पोखरा र चितवनमा आधारित ‘गोल्डेन ट्रयांगल’ भत्किएको यो वेला पर्यटकहरूलाई नयाँ गन्तव्य दिन जरुरी छ । नयाँ गन्तव्यसँगै जाने नयाँ सन्देशले एकैपटक पर्यटक र स्थानीयमा नयाँ ऊर्जा प्रदान गर्न सक्नेछ । पर्यटनका लागि आवश्यक गन्तव्य, पहुँच, पूर्वाधार र आमनागरिकको सहभागिता भएका पूर्वका तीन गन्तव्य धरान, इलाम र ताप्लेजुङलाई समेटेर ‘ग्रिन इस्ट’ को अवधारणा तयार गरिएको छ ।
यसलाई सम्भावनाको खोजी मात्र भन्नुको साटो यसलाई आवश्यक ठानिएको हो । तीन गन्तव्यमा अधिकांश महिना पर्यटकहरूका लागि आवश्यक हेर्ने, डुल्ने मनोरञ्ज गर्ने, अध्ययन गर्ने सुविधा उपलब्ध हुन्छ ।
के हो ‘ग्रिन इस्ट’
पूर्व क्षेत्रको सबल पक्ष प्रकृतिमा आधारित पर्यटन हो । यो क्षेत्रमा सर्वोच्च शिखर सगरमाथा, कञ्चनजंगा, कञ्चनजंगा संरक्षण क्षेत्र, मकालु वरुण निकुञ्ज, कोसीटप्पु वन्यजन्तु आरक्ष, इलामको प्राकृतिक सौन्दर्य, तेह्रथुम ताप्लेजुङको लालीगुराँस, भेडेटार, कोसी तमोर नदीजस्ता प्राकृतिक सम्पदाहरूले यो क्षेत्रको प्रचुरता प्रष्ट पार्दछ । एकैपटक सबै क्षेत्रलाई समेटेर लाग्दा पूर्वाधार पहुँचको अभावमा पर्यटकहरूले खोजेजस्तो सुविधा दिन सकिँदैन ।
त्यसैले भएकामध्ये अधिकांश गन्तव्य, पहुँच र पूर्वाधार समेटेर तयार पारिएको पर्यटकीय उत्पादन हो ‘ग्रिन इस्ट’ । धरान, इलाम र ताप्लेजुङलाई समेटेर ‘ग्रिन इस्ट’ को अवधारणा विकास गरिएको हो । धरानलाई मुख्य ‘हब’ बनाएर इलाम र ताप्लेजुङ सहितको ‘ग्रिन इस्ट’ ले पर्यटकहरूलाई विविध ‘टेस्ट’ दिन सक्ने देखिन्छ । आरक्ष, हिमाल, कृषि, साहसिक खेल, सांस्कृतिक गतिविधि र धरोहर, सहरी वातावरण, हिल स्टेसनलगायत समेटेर यी क्षेत्रमा पर्यटकीय गतिविधि गर्न सकिन्छ ।
तेस्रो मुलुकबाट आउने अधिकांश पर्यटक काठमाडौं उत्रिन्छन् । विराटनगरसम्म हवाई यात्रापश्चात् धरान उनीहरूको ‘हब’ बन्न सक्छ । धरान र वरपरका स्थानहरू कोसीटप्पु, वराहक्षेत्र, तमोर नदी, भेडेटार, डाँडाबजा र राजारानी, विजयपुरमा उनीहरूले खोज्ने अधिकांश गतिविधि उपलब्ध हुनेगरी पूर्वाधारहरू निर्माण भइसकेका छन् । केही निर्माणको क्रममा छन् ।
इलामको प्राकृतिक सौन्दर्य र कृषिमा आधारित पर्यटन, माई पोखरी, अन्तु कन्यामले उनीहरूको बसाइँलाई मनोरञ्जन अवश्य दिन सक्नेछ । ताप्लेजुङको कञ्चनजंगा, कुम्भकर्ण, कञ्चनजंगा संरक्षण क्षेत्र, पाथिभरा र गुराँसले पर्यटकहरूका लागि साहसिक क्रियाकलाप, प्राकृतिक अवलोकन र हिमालको आवश्यकता पूरा गर्ने विश्वास दिलाउन सकिन्छ । यसरी तीन क्षेत्रमा विविध गतिविधि गराएर पर्यटकलाई आकर्षित गर्ने गरी ‘ग्रिन इस्ट’ को अवधारणा विकास गरिएको हो ।
पर्यटकीय सम्भावना
नेपाल आउने पर्यटक मध्ये अधिकांश दोहोर्याएर आउन चाहन्छन् । दोहो¥याइ तेहे¥याइ आउने पर्यटकहरूले नयाँनयाँ गन्तव्य खोज्ने गरेका छन् । गोल्डेन ट्रयांगलको विकल्प ‘ग्रिन इस्ट’ बन्न सक्ने सम्भावना प्रचुर देखिएको छ । सबै प्रकारका पर्यटकीय गन्तव्य, गतिविधि र क्रियाकलाप प्राप्त हुन सक्ने देखिएकोले पनि ‘ग्रिन इस्ट’ मा पर्यटकहरूलाई आकर्षित गर्ने सम्भावना देखिन्छ ।
धराने पर्यटन
धरान शिक्षा स्वास्थ्य र पर्यटकीय पूर्वाधारयुक्त सहर बनाउने १८ वर्ष पुरानो अवधारणाले धरानमा पर्यटनको सम्भावना प्रचुर देखिएको छ । धरान ‘ग्रिन इस्ट’ को मुख्य हब बन्न सक्छ । यहाँ राम्रा होटलहरू छन् र स्टारस्तरका होटलहरू पनि निर्माणको क्रममा (निर्माणाधीन) छन् । धरानको साइडसिनका लागि एक दिन लाग्नेछ । विजयपुरका मन्दिर, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, गल्फकोर्ष, वराहक्षेत्रका लागि एक दिनको प्याकेज तयार हुन सक्छ ।
तमोर नदीमा एक दिने वा दुई दिने र्याफ्टिङको प्याकेज उपलब्ध छ । कोसी टप्पुमा चरा अवलोकनका लागि एकरातको समय थोरै नै मान्नुपर्दछ । डाँडा बजारको झुल्केघाम, भेडेटार, राजारानी, नमस्ते झरना, पाथीभरा मन्दिरका लागि एक दिनको समय पर्याप्त नहुन पनि सक्दछ । प्याराग्लाइडिङ पनि सञ्चालनको क्रममा छ । साइक्लिङ र प्याराग्लाइडिङले पर्यटकलाई थप एक दिन रमाइलो दिन सक्नेछ । यसरी धरान र धरान वरपर चारदेखि सात दिनको प्याकेज तयार गर्न सकिन्छ ।
इलामको पर्यटकीय सम्भावना
कृषि पर्यटनमा आधारित इलाममा पर्यटकहरूले प्राकृतिक सौन्दर्य र आत्मीय आतिथ्यता पाउने निश्चित छ । अन्तुको होमस्टे र सूर्याेदय, कन्यामको चिया बगान, इलाम माइपोखरी यात्राका लागि न्यूनतम दुई दिनको प्याकेज निर्माण गर्न सकिन्छ । इलामबाट साइकिलिङ यात्रामा माइपोखरी, सन्दकपुर, छिन्तापु जाने हो भने न्यूनतम सात दिनको यात्राको प्याकेज बनाउन सकन्छि ।
यहाँ छोटो समयका लागि आउने र साहसिक यात्रा चाहने दुवै प्रकारका पर्यटकहरूका लागि क्रियाकलाप तयार गर्न सकिन्छ । इलाममा स्तरीय होटलहरू, पार्क, भ्यु टावर, कोसेली घर आदि उपलध छन् । साइकिलिङ व्यवसायको खाँचो छ । त्यो पनि निकट भविष्यमा सुरु हुन सक्नेछ ।
ताप्लेजुङ किन जाने ?
कञ्चनजंगा (तेस्रो अग्लो हिमाल), तमोर, ओलाङचुङगोला, हिमाल आरोहण गर्नका लागि उत्कृष्ट गन्तव्य हो । प्रख्यात पाथीभरा देवीको दर्शन र त्यहाँ फुल्ने गुराँस, चिमाल, चाप आदिका कारण पर्यटकहरूलाई सजिलै लोभ्याउन सकिन्छ । हिमाल विदेशीका लागि र पाथीभरा आन्तरिक एवं भारतीय पर्यटकहरूका लागि उपयुक्त गन्तव्य बन्न सक्छ । पाथीभराकै दर्शन र हिमाल अवलोकन गरेर फर्किने हो भने पनि ताप्लेजुङका लागि न्यूनतम तीन दिन प्याकेज तयार हुन्छ ।
ताप्लेजुङको दोभानबाट ¥याफ्टिङ यात्रा सात दिनदेखि १० दिनसम्मको उपलब्ध छ । पाथीभरा जाने क्रममा ताप्लेजुङको सुकेटारसम्म कालोपत्रे सडक सञ्जाल पनि तयार छ । यसरी गन्तव्य र पहुँचका दृष्टिले ‘ग्रिन इस्ट’ उत्कृष्ट सम्भावनायुक्त क्षेत्र हो ।
होटल, होमस्टे, गाडीको सहजता, आत्मीय आतिथ्यता र सांस्कृतिक रूपले सम्पन्न भएका कारण पनि ‘ग्रिन इस्ट’ सांस्कृतिक पर्यटकीय ‘प्रोडक्ट’ हुन सक्ने देखिन्छ । यसरी पर्यटकीय ‘प्रोडक्ट’को रूपमा ‘ग्रिन इस्ट’ को सम्भावना रहेको देखिन्छ । पर्यटकीय प्रोडक्ट बिक्री गर्ने ट्राभल एजेन्टहरूका लागि पनि बेग्लै सांस्कृतिक गतिविधी, बेग्लै भूगोल र नयाँ गन्तव्य भएकाले उनीहरूले पनि पर्यटनलाई बिक्री गर्नका लागि नयाँ ‘प्रोडक्ट’ हुनेछ । जसले उनीहरूको व्यवसायमा विविध ‘भेराइटी’ दिने र पर्यटकहरूका लागि नयाँ गन्तव्य हुनेछ ।
ग्रिन इस्ट सात दिने प्याकेज
यी सबै सम्भावनाको खोजीपश्चात् ‘ग्रिन इस्ट’ मा आन्तरिक पर्यटकहरूका लागि न्यूनतम सात दिनको प्याकेज निर्माण गर्न सकिन्छ । आन्तरिक पर्यटकहरू छोटो समयका लागि निस्कने भएकोले यी क्षेत्रमा अलगअलग प्याकेज निर्माण र अलगअलग गन्तव्यमा यात्रा गराउन सकिन्छ । पाथीभरा जान रुचाउनेलाई इलाम र धरान आउन रुचाउनेलाई इलामको समेत प्याकेज बिक्री गर्न सकिन्छ ।
भारतीय पर्यटकहरू साहसिक पर्यटनमा त्यति धेरै रुची राख्दैनन् । किशोर र युवाहरू मनोरञ्जनात्मक पर्यटनमा र बढी उमेर भएका धार्मिक पर्यटनमा रुची राख्ने भएकोले उनीहरूका लागि पनि सातदेखि १० दिनको प्याकेज तयार गर्न सकिन्छ । भारतीयहरू अध्यात्ममा बढी विश्वास गर्छन् । त्यसमा पनि शक्ति र वैभवको प्राप्तिका लागि उनीहरू ईश्वरमा बढी भरोसा गर्छन । शक्ति र वैभव प्रदान गर्ने पाथीभरा देवी भारतीय पर्यटकहरूका लागि जानैपर्ने ठाउँको रूपमा विकास हुन सक्छ ।
त्यसो भएको खण्डमा नजिकका भारतीयहरूका लागि पनि ताप्लेजुङ छोटो समयको गन्तव्य बन्न सक्छ । विदेशी पर्यटक हिमाल, नदी, पहाड र वन्यजन्तु प्रति आकर्षित हुने तथा उनीहरू हतारको यात्रा नगर्ने भएकोले उनीहरूका लागि यी क्षेत्रमा १० देखि १५ दिने प्याकेज तयार गर्न सकिन्छ । हिमाल आरोहणमा जानेहरूका लागि बेग्लै समयको प्याकेज राजधानीबाट बिक्री भइरहेको छ । त्यसबाहेक ‘ग्रिन इस्ट’ मा नै उनीहरूलाई दृष्यावलोकन, हिमाल अवलोकन, पहाडी यात्रा, साहसिक खेल, मनोरञ्जन, वन्यजन्तु चरा अवलोकन, सांस्कृतिक गतिविधि लगायतका लागि १०÷१५ दिन उपयुक्त हुनसक्छ ।
सामना गर्नुपर्ने चुनौती
यत्तिका धेरै सम्भावना भएर पनि ‘ग्रिन इस्ट’ का केही चुनौतीहरू छन् । ती चुनौतीका विषयमा बृहत् छलफल गरी त्यसको निराकरणको प्रयास पनि गर्न जरुरी हुन्छ । सर्वप्रथम ‘ग्रिन इस्ट’ बारे पूर्वकै सरोकारवालाहरूलाई ‘कन्भिन्स’ गर्न जरुरी छ । क्षेत्रीयतावादी सोचहरूले हाम्रा मनमा जरा गाड्दै गएका छन् । त्यसैले यी जिल्लाबाहेकका जिल्लावासीको मन जित्न कठिन हुनेछ । आफ्नो जिल्ला ‘ग्रिन इस्ट’ मा नपर्दा अन्य जिल्लावासीका लागि ‘ग्रिन इस्ट’ ईष्र्याको विषय बन्न सक्नेछ ।
त्यस्तै यसको ब्रान्डिङ, प्याकेजिङ र मार्केटिङमा यहाँका पर्यटन व्यवसायीहरूको क्षमता उच्च देखिँदैन । उनीहरूलाई आफैँ प्रोडक्टको ब्रान्डिङ, प्याकेजिङ र मार्केटिङका लागि क्षमता विकास गराउन पनि जरुरी छ । अर्कातर्फ यी सबै प्रोडक्टको प्रत्यक्ष मार्केटिङ गर्ने राजधानीका ठूला पर्यटन व्यवसायीहरू हुन् । उनीहरूलाई पूर्वतर्फ आकर्षित गर्नसमेत कठिन छ । परम्परागत बजार उनीहरूका लागि सहज छन् ।
अहिलेसम्म पूर्वमा पर्यटक नपठाएका उनीहरूले यहाँ पर्यटकलाई व्यवहार हुने भन्नेमा सशंकित छन् । यहाँ गरिने व्यवहारले उनीहरूको व्यवसायमा दीर्घकालीन प्रभाव पर्ने भएकोले उनीहरू ‘ग्रिन इस्ट’ मा पर्यटक पठाएर चुनौती बेहोर्न चाहँदैनन् । राजनीतिकरूपमा बढी सचेत भएर होला पूर्वमा राजनीतिक गतिविधि मुलुकका अन्य स्थानको तुलनामा अलि धेरै हुन्छ । पूर्वमा बन्द भइरहन्छ भन्ने सन्देश बाहिर गएको छ । बन्द भइरहने ‘दाग’ चिर्न पनि कठिन छ । त्यसका लागि यहाँका राजनीतिक दलहरूकोे प्रतिवद्धता आउन जरुरी छ । क्षेत्रीयतावादी दलहरूको एजेन्डामा पर्यटन पर्नसकेको छैन ।
उनीहरूको एजेन्डामा पर्यटन पारेर पर्यटकहरूप्रति गर्नुपर्ने दायित्वमा परिवर्तन ल्याउनु पनि कम चुनौतीपूर्ण काम भने होइन ।यहाँका पर्यटनकर्मी र व्यवसायीहरूमा पर्यटनमा गर्नुपर्ने लगानीबारे प्रष्ट बन्न सकेका छैनन् । पर्यटनमा लगानी कम देखिन्छ । पर्यटकहरूले विविध गतिविधि चाहिरहने भएकोले पर्यटकीय पूर्वाधारमा निजी क्षेत्रलाई आकर्षित गर्दै लगानीमा बढोत्तरी गर्नु पनि एक चुनौती हो । त्यस्तै भारतीय पर्यटकहरू पैदल यात्रा गर्न आँट गर्दैनन् । पाथीभरा यात्राका क्रममा गरिने पैदल यात्राको असहजतालाई सहज बनाउन केबलकारको अभाव तथा घोडा भरियाको अभाव पनि एक चुनौती हो ।
निष्कर्ष
यी चुनौतीहरूमध्ये पनि सम्भावना बढी देख्न सकिन्छ ‘ग्रिन इस्ट’ मा । पर्यटनका लागि आवश्यक चारतत्वमा गन्तव्य, पहुँच, पूर्वाधार र नागरिक क्रियाकलाप पूर्वका यी स्थानमा विद्यमान छन् । यत्तिका धेरै गन्तव्य यहाँको अत्यन्त सबल पक्ष हो । सबै प्रकारका पर्यटकहरूलाई यी आकर्षणहरूले आकर्षित गर्न सक्छन् । यी आकर्षणहरूको गन्तव्यहरूमा सहज पहुँच पनि छ ।
सबै गन्तव्यमा बाह्रै महिना सञ्चालन हुन सक्ने कालोपत्रे सडक छन् । सामान्यदेखि राम्रा प्रकारका पूर्वाधारहरू पनि तयार नै छन् । उनीहरू पाहुनाको आतिथ्यताका लागि प्रतिक्षारत मात्र छन् । र, जनजातिको बृहत् बसोवासको क्षेत्र भएकाले यहाँ सांस्कृतिक गतिवविधिमा विविधता प्राप्त हुन्छ । यहाँका नागरिकको सहभागिता पर्यटन र कृषिमा छ नै तथापि अझै उत्कृष्ट बनाउन पनि सकिन्छ ।
यसरी हेर्दा यो क्षेत्रमा राज्य संयन्त्रको ध्यान आकृष्ट हुन र यस क्षेत्रको प्रवद्र्धन र पूर्वाधारमा लगानी, क्षमता विकासमा प्रयास भएको खण्डमा यो क्षेत्र ‘गोल्डेन ट्रयांगल’ जत्तिकै उपयुक्त हुन सक्छ । यसको विकास र प्रवद्र्धन भएको खण्डमा ‘ग्रिन इस्ट’ ले कसैसँग प्रतिष्पर्धा गर्नेभन्दा पनि मुलुकका पर्यटकीय गन्तव्यमा आफ्नो बेग्लै पहिचान दिनेछ । पर्यटकहरूका लागि आवश्यक विविधीकरणमा अर्को आकर्षण प्रदान गर्नेछ ।
प्रतिक्रिया