१ वैशाखदेखि अमलेखगञ्जमा ‘लक’ सिस्टम

बारा । नेपाल आयल निगम अमलेखगञ्ज शाखाले पेट्रोलियम पदार्थ बोक्ने ट्यांकरहरूलाई ‘लक’ प्रक्रियामा ल्याउने भएको छ । पेट्रोलियम पदार्थ बोक्दा ट्यांकरहरूबाट हुने गरेको चुहावट कम गर्न सो प्रक्रिया लागू गर्न लागेको हो ।  भारतको मोतिहारी–रक्सौलदेखि नेपालको अमलेखगञ्जसम्म आइपुग्दा सवारी चालककै मिलेमतोमा ट्याकरवाट पेट्रोलियम पदार्थ चुहावट हुने गरेका घटना बढ्न थालेकाे छ ।

यसलाई नियन्त्रण गर्न नेपाल आयल निगम अमलेखगञ्ज शाखाले १ वैशाखदेखि यो प्रक्रिया लागू गर्न लागेको हो । ‘लक’ प्रक्रिया लागू भए भारतीय क्षेत्रमा लोड भएका पेट्रोलियम ट्यांकरहरू नेपाल आयल निगम वा सम्बन्धित क्षेत्रमा पुगेपछि त्यहाँका कर्मचारीको सहयोगमा मात्रै खोल्न सकिनेछ । कर्मचारीको निगरानीमा ‘लक’ बन्द हुने र खोलिने भएपछि चुहावट शून्य आउने नेपाल आयल निगम अमलेखगञ्ज शाखाका क्षेत्रीय प्रमुख इन्जिनियर प्रदीपकुमार यादवले जानकारी दिए ।

उनले सवारी धनीलाई १ वैशाखभित्र आफ्ना सबै ट्याकरमा अनिवार्य लकिङ सिस्टम लागू गर्न जानकारी गराइसकेको बताएका छन् । छिमेकी मुलुक भारतमा लागू भइसकेको यो ‘लक’ प्रक्रिया नेपालका नयाँ सवारी साधनमा रहेको तर पुरानो सवारी साधनमा नरहेकोले अब अनिवार्य गर्न लागिएको यादवको भनाइ छ ।

अहिले आयल निगम अमलेखगञ्ज शाखाअन्र्तगत मात्रै दैनिक झन्डै ३ सयको हाराहारीमा ट्यांकर सञ्चालनमा रहेको छ । जसमध्ये हालसम्म एक सय ५० ओटा ट्यांकरमा मात्र ‘लक’ प्रक्रिया सुचारु रहेको निगमले जनाएको छ ।

प्रतिक्रिया