पाकिस्तानमा तेस्रो लिंगी समाचार वाचिका

इस्लामावाद । पाकिस्तानको एउटा स्थानीय टेलिभिजन च्यानल कोहिनूरले एकजना तेस्रो लिंगी समाचारवाचिका मारवीय मलिकलाई स्थान दिएको छ । कोहिनूर टेलिभिजनको उक्त कदमको सामाजिक सञ्जालमा त्यहाँ निकै प्रशंसा भइरहेको छ । पाकिस्तानको पछिल्लो जनगणना अनुसार तेस्रो लिंगीहरूको संख्या १० हजार ४ सय १८ छ । सामाचार वाचिकाको रूपमा जागिर पाएकी मलिक लाहोरकी हुन् ।

पहिलो तेस्रो लिंगी समाचार वाचिका बनेकी मलिकले यसअघि ‘मोडलिङ’ गरिसकेकी छन् । बिबिसी उर्दुसँग कुराकानी गर्दै मलिकले भनिन्, ‘कोहिनूर न्यूज पुनः आउन लागेको चर्चा सुनेर मैले पनि समाचार वाचिकाका लागि आवेदन दिएँ । अन्तर्वार्तामा धेरै महिला तथा पुरूष सहभागी थिए ।’ ‘मेरो पालो आएपछि कर्मचारीले मलाई कुर्न भने । पछि मलाई भित्र बोलाइयो र तपाईंलाई हामी प्रशिक्षण दिन्छौँ, कोहिनूर न्युजमा स्वागत छ भने । यति सुनेर खुसीले मेरा आँखाहरू रसाए ।’

उनले थपिन्, ‘मैले देखेको सपनाको पहिलो खुड्किलोमा टेकेकोले मेरा आँखाहरू रसाएका हुन् । प्रशिक्षणका क्रममा मलाई कुनै कठिनाइ भएन । अरूलाई जस्तै मलाई पनि उनीहरूले सिकाए । मैले कुनै प्रकारको भेदभाव महसुस गरिनँ ।’
समाचार वाचिकाको प्रशिक्षणपछि हालै मलिक लाहोरमा ¥याम्पमा उत्रिएकी थिइन् । उनले आफू पाकिस्तानकी पहिलो तेस्रो लिंगी मोडल पनि भएको बताइन् ।

मलिकले लाहोर ‘फेसन सो’ मा ठूला मोडलहरूसँग सहभागी भएको बताइन् । उनले भनिन्, ‘म आफ्नो समुदायका लागि केही गर्न चाहन्छु ता कि उनीहरूको अवस्था राम्रो हुन सकोस् ।’ मलिकले थपिन्, ‘मैले समाचारवाचिकाको जागिर पाएँ । तर, मेरो र सडकमा माग्ने एवं नृत्य गर्ने तेस्रो लिंगीहरूको कथा उस्तै छ । र, त्यसलाई बदल्न जरूरी छ ।’

प्रतिक्रिया