काठमाडौँ । इजरायल र इरानबीचको युद्ध थप चर्किंदै गएपछि इजरायलस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपालीलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्किन आग्रह गरेको छ । आइतबार दूतावासले विज्ञप्ति जारी गर्दै युद्धका कारण जोखिम बढेको भन्दै यस्तो भनेको हो ।
युद्धका क्रममा इजरायलका विभिन्न ठाउँमा ठुलो जनधनको क्षति भएको र त्यहाँको होम फ्रन्ट कमान्डद्वारा सर्वसाधारणका लागि लगातार अद्यावधिक निर्देशन जारी गरिरहेकाले शैक्षिक संस्था एवं अत्यावश्यकबाहेकका कार्यालय बन्द रहने जनाइएको छ । त्यस्तै, सभा–भेला नगर्न पनि सरकारद्वारा निर्देशन जारी भइरहेको हुँदा स्थानीय सुरक्षा प्रोटोकल पालना गर्न पनि दूतावासले ध्यानाकर्षण गराएको छ । नेपालीको सुरक्षा र हितका लागि २४ घन्टे हटलाइनको व्यवस्था गरेको पनि दूतावासले जनाएको छ ।
दुवै देशका नेपाली सुरक्षित
यसैबीच, परराष्ट्र मन्त्रालयले इजरायलमा रहेका ५ हजार ५०० र इरानमा रहेका १२ जना नेपाली सुरक्षित रहेको जनाएको छ । परराष्ट्रका अनुसार पछिल्ला ३ दिनयता इरान र इजरायलबीच विकसित घटनाक्रमबारे मन्त्री डा. आरजु राणाले तेलअभिभ र दोहास्थित नेपाली दूतावासमा फोन सम्पर्क गरी नेपाली नागरिकको सुरक्षामा ध्यान दिन निर्देशन दिएकी छिन् । सरकारले २ देशबीचको द्वन्द्वलाई नजिकबाट नियालिरहेको भन्दै विज्ञप्तिमा त्यहाँ रहेका नेपालीको हित सुनिश्चित गर्न आवश्यकताअनुसार उपयुक्त कदम चालिने जनाइएको छ ।
इरानविरुद्ध इजरायलले आक्रमण गरेपछि सुरु भएको मिसाइल प्रहारको शृंखला तेस्रो दिन पनि जारी छ । शनिबार मध्यराति पनि इजरायलले इरानको तेल प्रशोधन केन्द्र लक्षित गरी आक्रमण गरेपछि इरानले जबाफी कारबाही गरेको छ । इरानले शनिबार रातभरि २ पटक गरेर इजरायलमा कैयौँ क्षेप्यास्त्र प्रहार गरेको थियो ।
इरानले प्रहार गरेको क्षेप्यास्त्रका कारण इजरायलको हाइफा आयल रिफाइनरीमा आगो लागेको बिबिसीले जनाएको छ । इरानको सरकारी टेलिभिजनले आइफा र तेलअभिभलाई लक्षित गर्दै इजरायलमा १०० भन्दा बढी क्षेप्यास्त्र प्रहार गरेको बताएको थियो ।
आइतबार बिहान इजरायलले इरानको प्रमुख सहर इस्फहानमा हवाई आक्रमण गरेको छ । इरानको मध्य क्षेत्रमा रहेको यो सहर इरानको परमाणु संरचनाको मुख्य क्षेत्र हो । यसबाहेक इरानका अन्य सहरमा स्थित युरेनियम खानी र अन्य प्लान्टलाई पनि निशाना बनाइएको छ । इस्फहान नजिक इरानका केही ठुला सैन्य संरचना पनि छन् ।
प्राप्त पछिल्लो तथ्यांकअनुसार इरानको मिसाइल आक्रमणमा परी १३ जना इजरायलीको मृत्यु भएको छ भने २०० भन्दा बढी घाइते र २० जनाभन्दा बढी बेपत्ता छन् । त्यसैगरी इजरायली आक्रमणमा १३८ जना इरानी मारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले दाबी गरेका छन् । तर, अलजजिराले भने इरानी सरकारी निकायलाई उद्धृत गर्दै अहिलेसम्म ८० जना मारिएको बताएको छ । पछिल्ला आक्रमणमा इजरायलले इरानको रक्षा मन्त्रालयसहित परमाणु कार्यक्रमसँग सम्बन्धित क्षेत्रहरूलाई निसाना बनाएको बताएको छ ।
हुथी विद्रोहीको साथ इरानलाई
२ देशबीच युद्धको तेस्रो दिन यमनस्थित हुथी विद्रोहीले आफूले इजरायलमाथि ब्यालेस्टिक मिसाइल प्रहार गरेको दाबी गरेको छ । पछिल्लो ३४ घन्टाको अवधिमा इरानसँग मिलेर इजरायलमा दुइटा ब्यालेस्टिक मिसाइल हानेको र ती मिसाइल तेलअभिभलाई लक्षित गरिएको हुथीको दाबी छ ।
लडाइँ सहजै रोक्न सक्ने ट्रम्पको दाबी
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायलबीच जारी युद्ध सहजै अन्त्य गर्न सक्ने दाबी गरेका छन् । उनले ट्रुथमा लेखेका छन्, ‘अमेरिका इरानमाथि भएको आक्रमणमा कुनै हालतमा संलग्न छैन ।’ साथै उनले कुनै प्रकारले इरानले अमेरिकामाथि आक्रमण गरे त्यसको जबाफ अमेरिकी सेनाले पूरा शक्तिका साथ दिने चेतावनीसमेत दिएका छन् ।
प्रतिक्रिया