एयर इन्डियापछि भारतमा फेरि हेलिकप्टर दुर्घटना हुँदा सात जनाको मृत्यु

देहरादून । भारतमा यर इन्डियापछि फेरि हेलिकप्टर दुर्घटना हुँदा बालकसहित सात जनाको मृत्यु भएको छ । भारतमा आइतबार हिन्दू तीर्थयात्रीहरूलाई तीर्थस्थलबाट लैजाने क्रममा हेलिकप्टर दुर्घटना हुँदा बालकसहित सात जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।

बिहीबार पश्चिमी भारतीय सहर अहमदाबादको आवासीय क्षेत्रमा एयर इन्डियाको विमान दुर्घटना हुँदा कम्तीमा २७९ जनाको मृत्यु भएकोमा आफन्तहरूले शोक व्यक्त गर्दा फेरि यो घातक दुर्घटना भएको हो ।

उत्तराखण्ड राज्यको केदारनाथ मन्दिरबाट उडान भरेको हेलिकप्टर दुर्घटनामा पाइलट र सबै ६ जना यात्रुको मृत्यु भएको आपत्कालीन प्रतिक्रिया अधिकारी नन्दन सिंह राजवारले बताए ।

राज्यका मुख्यमन्त्री पुष्कर सिंह धामीले अत्यन्त दुःखद समाचारपछि उद्धार टोलीहरू घटनास्थलमा पठाइएको बताए । जिल्ला पर्यटन अधिकारी राहुल चौबेका अनुसार खराब मौसमका कारण दुर्घटना भएको हुन सक्छ ।

केदारनाथ मन्दिर तीन हजार ५८४ मिटर (११ हजार ७५९ फिट) उचाइमा अवस्थित छ र गर्मीको समयमा यहाँ पहुँच सम्भव हुँदा तीर्थयात्रीहरूको भीड लाग्छ ।

हेलिकप्टर चार्टर फर्महरूको कुटीर उद्योग भारतीय हिमालयका तीर्थस्थलहरू भ्रमण गर्न चाहने तर कठिन पदयात्राबाट बच्न रुचाउने धनी तीर्थयात्रीहरूलाई सेवा दिन विकसित भएको छ । गत महिना मन्दिर जाने बाटोमा भएको अर्को हेलिकप्टर दुर्घटनामा ६ जनाको मृत्यु भएको थियो ।– एएफपी

प्रतिक्रिया