तीन मन्त्रीले खिचे सबका ध्यान

काठमाडौं । अथमन्त्रीमा डा. युवराज खतिवडा आएसँगै अर्थ मन्त्रालयका पुरानादेखि नयाँ कर्मचारी अब त सच्चिनु पर्छ भन्दै परदर्शिताको वकालत गर्न थालेका छन् । विगतमा आउने मन्त्रीलाई जानकारीका नाममा फसाउन माहिर कर्मचारीसमेत अब डाक्टरलाई ढाँट्न सकिन्न भन्दै कार्यालय समयमा निकै सचेत बनिरहेका देखियो ।  कमिसन लिन र पैसा नआएसम्म फाइल अड्काउने लामो शृंखलाबाट गुज्रिएका कर्मचारीहरू बहालीकै दिन ई–पेमेन्टको निर्णय अर्थमन्त्रीले लिएपछि शानदार इन्ट्री भन्दै मन्त्रीको योजनाअनुसार काम गर्ने मनस्थिति बनाएका छन् ।

अर्थ मन्त्रालयकै कर्मचारी बाधक रहेको कारण लामो समयसम्म सरकारी आम्दानी र भुक्तानी ई–पेमेन्टमार्फत गर्ने निर्णय हुन सकेको थिएन । तर, मन्त्रीको शपथअगावै खतिवडाले पद बहालीमा ई–पेमेन्टको फाइल सदर गर्नै जनाई निर्देशन दिएर काम अघि बढाएपछि कर्मचारी थर्किए । अर्थमन्त्री खतिवडाले छोटो समयमै प्रवेशसँगै बजेट निर्माणको प्रगतिदेखि आयोजनाहरूको अवस्थाबारे विस्तृत जानकारी मागेर निर्देशन दिन भ्याइसकेका छन् । तर, कर्मचारीले भेट्ने बहानामा काममा अवरोध आउन थालेपछि खतिवडाले पुरानो शैलीले अब नचल्ने भन्दै सतर्क गराए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले खतिवडालाई अर्थको बागडोर सुम्पिएलगत्तै आमनागरिकमा उत्साहको सञ्चार भएको अनुभूति गरेपछि उनी सोहीअनुसार काममा व्यस्थ बनेका छन् । खतिवडा मात्रै होइन, अर्का दुई मन्त्री लालबाबु पण्डित र मातृकाप्रसाद यादवले पनि जनताको ध्यान आफूतिर खिचेका छन । वातावरण मन्त्री पण्डित हरेक बिहान कुचो लिएर कुनै न कुनै टोल सफाइबाट आफ्नै दैनिकी सुरुआत गर्छन् । प्रधानमन्त्री ओलीले आफ्नो शपथकै समय मन्त्री नियुक्त गरेदेखि अहिलेसम्म यादव आफूसँगै नागरिकलाई सहभागी गराई सफा काठमाडौं बनाउने अभियानमा छन् ।

बिहान आफैँ सफाइमा सरिक हुने, कार्यालय समय सुरु हुनभन्दा अगावै पुग्ने उनको शैलीबाट मन्त्रालयका सबै कर्मचारी सतर्क बनेका छन् । सबैतिरको निरीक्षण र फाइल अध्ययनपछि मन्त्री पण्डित प्रदूषणमापन यन्त्र निरीक्षणमा पुगे । उनले थालेको कामबाट आमनागरिकको ध्यान खिच्यो । टोलटोलमा जम्मा भएर अब आफ्नो टोल आफैँ सफा गरौँ भन्ने अभियान चल्न थाल्यो । यो क्रम बिस्तारै बढ्दै गएको छ । केही दिनअघि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले पनि मन्त्रालयका कर्मचारीलाई काम पहिला भन्ने सन्देश दिइसकेका छन् ।

उनको मन्त्रालयमा कोही पनि कर्मचारी काम नगरी बस्ने विगतको शैली परिवर्तन गरिसकेका छन् । सुरुमै फाइल अध्ययनविना हस्ताक्षर नगर्ने जनाई कर्मचारीलाई काबुमा लिएका थिए । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले ‘आजको काम भोलि गर्ने छुट छैन’ भन्ने निर्देशन दिएपछि उनी पहिला कर्मचारीमा सुधार गरी सबै काम अघि बढाउने योजनामा छन् । ‘यादव मन्त्री भएर आएपछि कोही पनि कर्मचारी समयभन्दा पछाडि आउने विगतको समस्या समाप्त भएको छ, अहिले समयभन्दा अघि र कार्यालय समय सकिएभन्दा पछि मात्रै जाने गरेका छन्,’ मन्त्रालयका एक अधिकृतले भने ।

उनीसँगै मन्त्री बनेकी एमाले पोलिटब्युरो सदस्य थममाया थापा भने अहिलेसम्म जनताले मन्त्रीको अनुभूति गर्न पाएनन् । उनी मन्त्री भएलगत्तै गृहजिल्लातिर लागेपछि खासै राम्रो सुरुआत गर्न नसकेको मन्त्रालयका कर्मचारीको बुझाइ छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वका अन्य मन्त्रीबाट पनि जनताले शानदार सुरुआत खोजेका छन् । ओली सरकारमा हेभिवेटका नेता एमाले महासचिव ईश्वर पोखरेल रक्षामन्त्री छन् ।

यसैगरी माओवादी नेता रामबहादुर थापा गृहमन्त्रीका रूपमा रहेका छन् । रक्षामन्त्री पोखरेल र नेता थापा पार्टी एकताका लागि गठित कार्यदलमा समेत रहेको कारण मन्त्रालयतिर भन्दा पार्टीकै काममा व्यस्थ छन् । यसबीचमा गृहमन्त्री थापाले नेपाल प्रहरीको मुख्यालय पुगेर निरीक्षण र निर्देशन दिई थप बुझ्ने काममा छन् भने रक्षामन्त्री पोखरेल पनि प्रधानसेनापतिबाट बिफ्रिङ लिने काममै व्यस्थ छन् ।

प्रतिक्रिया