संखुवासभा, १० फागुन । संखुवासभाको खाँदबारी नगरपालिका–३ मानेभञ्ज्याङस्थित महेन्द्र माविमा छात्रभन्दा छात्राको संख्या बढी छ । हाल अध्ययतरत ६ सय २४ विद्यार्थीमध्ये छात्राको संख्या ३ सय ४० र छात्रको संख्या २ सय ८४ जना रहेको विद्यालयले जनाएको छ ।
सोही विद्यालयमा रहेको अपांगता भएका व्यक्तिहरू मध्ये सुस्तश्रवण भएका विद्यार्थीलाई अध्ययन अध्यापन गराइन्छ । जहाँ रहेका कुल १७ जना सुस्तश्रवण भएका विद्यार्थी मध्ये ११ जना छात्रा रहेका छन् भने ६ जना छात्र रहेका छन् ।
पाँचखपन नगरपालिकास्थित शिव मावि स्याबुनमा पनि छात्रभन्दा छात्राको संख्या बढी छ । यी केही उदाहरण मात्र हुन् जिल्लाका अधिकांश सामुदायिक विद्यालयमा छात्रको संख्याभन्दा बढी छात्राको संख्या देखिएको छ ।
जिल्ला शिक्षा कार्यालय संखुवासभाको विद्यार्थी विवरण ०७४ अनुसार जिल्लाको कुल विद्यालयका विद्यार्थीको संख्यालाई हेर्दा छात्रको संख्या बढी देखिए पनि सामुदायिक विद्यालयमा छात्राकै संख्या बढी छ ।
जिल्लामा कुल विद्यार्थी संख्या ४० हजार ५ सय ७४ रहेका छन् जसमध्ये छात्राको संख्या २० हजार १ सय ७५ रहेको छ । जिल्लामा छात्रको कुल संख्या २० हजार ३ सय ९९ रहेको तथ्यांकले देखाउँछ ।
तर, सामुदायिक विद्यालयमा अध्ययन गर्ने कुल विद्यार्थी संख्या ३५ हजार ८ सय ८६ मध्ये छात्राको संख्या १८ हजार १ सय ५७ रहेको छ भने छात्रको संख्या १७ हजार ७ सय २९ जना रहेको छ ।
सामुदायिक विद्यालयमा छात्रभन्दा छात्राको संख्या बढी देखिनुका विविध कारण छन् । देशको कुल जनसंख्यामा महिलाको संख्या बढी देखिएकाले सोही प्रभाव विद्यालयमा देखिएको जिल्ला शिक्षा अधिकारी चेतप्रसाद पोख्रेलले बताए ।
‘विद्यालयमा छात्राकै संख्या बढी देखिनुको खास कारण अनुसन्धानविना भन्न अप्ठ्यारो छ,’ पोख्रेलले भने, ‘छोरालाई राम्रो स्कुलमा पठाउने र छोरीलाई गाउँकै सामुदायिक स्कुलमा पढाइनुले पनि यस्तो हुन गएको हुन सक्छ ।’
जिल्लामा सामुदायिकतर्फ ४३ वटा मावि, ६२ वटा निमावि, २ सय ४७ वटा प्रावि र २० ओटा उच्च माध्यमिक विद्यालय छन् । संस्थागत मावि ५, निमावि १४, मावि ५ र उच्च मावि १ वटा रहेका छन् ।
त्यसमध्ये कमै विद्यालयमा मात्र छात्रको संख्या बढी छ । अधिकांश विद्यालयमा छात्राकै संख्या बढी देखिन्छन् । पितृसत्तात्मक समाजमा अहिले पनि छोरालाई प्राथमिकता दिने प्रवृत्ति छ ।
अधिकांश अभिभावकले छोरालाई निजी स्कुलमा पठाउने र छोरीलाई सामुदायिक विद्यालयमा पढाउने गरेका कारण सामुदायिक विद्यालयमा छात्राको संख्या बढी देखिने गरेको महेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक मेदिनी घिमिरेले बताए ।
घिमिरेले भने, ‘छोरालाई बोर्डिङ वा सहरका राम्रो स्कुलमा पठाएर छोरीलाई गाउँकै सामुदायिक स्कुलमा पठाउने विभेदले पनि यस्तो भिन्नता देखिएको हो ।’
जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक सन्तोष बरालका अनुसार एसइई पूरा गरेका कतिपय छात्रले रोजगारीका लागि विद्यालय छाड्ने गरेका कारण पनि छात्राको संख्या बढी देखिने गरेको छ ।
उनले भने, ‘पहिला छोरी जन्मिए छोराका लागि अरू सन्तान जन्माउने पितृसत्तात्मक सोचको असरले पनि छात्राको संख्या बढी हुन आएको हो, छोरा जन्मिए जन्मान्तर कम गर्ने तर छोरी जन्मिए छोरा खोज्दै निरन्तर बच्चा जन्माउने प्रवृत्तिका कारण पनि महिलाको संख्या बढी हुन गएको हो ।
यसबाहेक १६र१७ वर्ष पुगेपछि ग्रामीण क्षेत्रका अधिकांश किशोर रोजगारीका लागि विद्यालय छाड्ने गरेका कारण पनि विद्यालयमा छात्रा बढी देखिएको खाँदबारीस्थित हिमालय माविका प्रधानाध्यापक वीरबहादुर राईले बताए ।
प्रतिक्रिया