बेपत्ता हुनेको विस्तृत अनुसन्धान सुरु

 सञ्जिता आचार्य  काठमाडौं । सशस्त्र द्वन्द्वका समयमा बेपत्ता पारिएका व्यक्तिको अनुसन्धान गर्न जिम्मेवारी पाएको बेपत्ता छानबिन आयोगले चार जिल्लाबाट अनुसन्धान सुरु गरेको छ । एक वर्षको समयसीमा थप भएसँगै आयोगले नयाँ गतिका साथ काम सुरु गरेको हो । अघिल्लोपटक पनि निर्धारित समयमा काम गर्न नसकेको आयोगले अब तोकिएकै समयमा प्राप्त जिम्मेवारी सम्पन्न गर्ने जनाएको छ ।

‘सकभर एक वर्षमा सबै पीडितलाई न्याय दिने कोसिस गर्ने छाैँ,’ आयोगका सुचना अधिकारी सन्तोष गिरीले भने, ‘छिटोछरितो न्याय दिलाउने उदेश्यले उजुरीको विस्तृत छानबिन पनि सुरु गरेका छौँ ।’ आयोगमा बेपत्ता पारिएका व्यक्तिको ३ हजार ९३ उजुरी परेका छन् । तीन वर्षको समयावधिमा २ सयको अनुसन्धान सम्पन्न गरेको आयोगले बाँकी उजुरीको विस्तृत अनुसन्धान गर्ने भएको छ । २ हजार २ सय ९४ उजुरीको विस्तृतमा पुगसिकेको गिरीको दाबी छ । आयोगले पहिलो चरणमा उपत्यका तथा काभे्रमा विस्तृत अनुसन्धान गरेको सूचना अधिकारी गिरीले बताए ।

अहिले झापा, कञ्चनपुर, मकवानपुर सिन्धुलीमा विस्तृत अनुसन्धान सुरु भएको छ ।  चार जिल्लाको अनुसन्धानका लागि आठ टोली परिचालन गरिएको छ ।  टोलीमा एक अनुसन्धानकर्ता र दुई कर्मचारी छन् । टोलीले पीडितसँग बसेर अन्तरक्रिया गर्ने र गोप्य जानकारी लिने गिरीले बताए । द्वन्द्वमा २ सय ७० मानिस बेपत्ता भएको बर्दियामा अझै अनुसन्धान हुन सकेको छैन । बेपत्ता हुनेको संख्या बर्दियामा नै सबैभन्दा बढी छ । जनशक्ति अभावका कारण सबै क्षेत्रमा एकैसाथ काम गर्न नसकिएको आयोगले जनाएको छ ।

फेरि उजुरी हाल्न आह्वान
यसैबीच, आयोगले बेपत्ता परिवारका सदस्यको खोजबिनका लागि पुनः उजुरी आह्वान गरेको छ । दुर्गम भेगका पीडितले उजुरी दर्ता गराउन नपाएको भन्दै आयोगले पुनः उजुरी हाल्न माग गरेको हो । १ फागुनदेखि १ चैतसम्मको अवधिमा उजुरी दर्ता गर्न सकिने आयोगले जनाएको छ । थप गरिएको समयमा २० भन्दा बढी उजुरी आउने अनुमान गरिएको छ ।

प्रतिक्रिया