ललितपुर, ९ फागुन । लगनखेलस्थित पाटन अस्पतालबाट थापाथलीस्थित प्रसूतिगृह, वीरअस्पताल, कान्ति अस्पताल, शिक्षण अस्पताल हुँदै गंगालाल अस्पतालसम्म होचो बस गुड्नेछ ।
यस बसमा ज्येष्ठ नागरिक सजिलै चढ्न र झर्न सक्नेछन् । अपांगता भएका व्यक्तिलाई पनि बसमा चढ्नका लागि अरुको सहयोगको आवश्यकता पर्ने छैन ।
बसमा सवार बालबालिका, गर्भवती महिला वा अशक्तलाई आवतजावत गर्न हैरान हुनुपर्ने छैन । अस्पतालमा जानका लागि होस् वा अन्य ठाउँमा जानका लागि ज्येष्ठ नागरिक अपांग, अशक्तले कसरी पुग्ने भन्ने चिन्ता गर्नुपर्ने छैन ।
झट्ट सुन्दा नपत्याउँदो लागे पनि केही महिनापछिको काठमाडौँ उपत्यकाको दृष्य हुनेछ यो । साझा यातायातले गत साता होचो (सेमि लो फ्लोर) बस भित्र्याइसकेको छ । नेपालमा पहिलोपटक अपांग र अशक्तमैत्री बस गुड्न लागेको हो ।
बस अर्को महिनाबाट सञ्चालनमा ल्याउन लागिएको साझा यातायातले जनाएको छ । बस अहिले दर्ताको प्रक्रियामा रहेको साझा यातायातका कामु प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले बताए ।
उनले भने, “दर्ता सकिएपछि रुटको काम हुनेछ ।” करोडभन्दा बढी मूल्यको यो गाडी साझाले झण्डै रु ३५ लाखमा भित्र्याएको हो । बसको क्षमता ४१ जना रहेको छ ।
साझाले बोलपत्रमार्फत बस खरिद गरेको हो । भारतीय कम्पनी अशोक लेल्याण्डले सहुलियत दरमा बस किनेको पाण्डेय बताउँछन् ।
रुट छान्दा साझाले लक्षित वर्गलाई सजिलो पर्ने र बस पनि गुड्न सक्ने कुरामा ध्यान दिएको छ । होचो बस हुनाले खाल्डाखुल्डी सडकमा गुड्न नसक्ने पाण्डेयले बताए ।
उनले भने, “लगनखेलबाट बाँसबारीसम्म सडक तुलनात्मक रुपमा राम्रो छ ।” बसमा एउटा मात्रै खुड्किला हुन्छ जसले गर्दा अपांगता भएका व्यक्ति सजिलै उक्लन र ओर्लन सक्छन् ।
त्यो एउटा स्टेप पनि सजिलै फोल्ड गर्न मिल्छ । ह्विलचेयर सजिलै उक्लन र ओर्लन सक्ने साझाले जनाएको छ ।
साझाका अरु बसमा जस्तै यसमा पनि ७० वर्ष कटेका ज्येष्ठ नागरिकले निःशुल्करुपमा यात्रा गर्न पाउने उनी बताउँछन् । क र ख वर्गका अपांग र पाँच वर्षका बालबालिकाले निःशुल्करुपमा यात्रा गर्न पाउँछन् ।
उनी भन्छन्, “महँगोमा खरिद गरेको भए पनि बसमा लक्षित वर्गमध्ये निःशुल्क चढ्ने यात्रु धेरै छन् ।” साझाले उपत्यकाभित्र चल्ने र बाहिरका लागि गरेर २९ वटा नयाँ बस ल्याउन लागेको छ ।
यी बसमा सिटी बस र डिलक्स दुवै छन् । अहिले साझाका ४६ वटा बस सञ्चालनमा छन् । ४४ वटा बस अहिले काठमाडौँ उपत्यकामा र दुई वटा बस काठमाडौँदेखि बागलुङसम्म गुडिरहेका छन् ।
काठमाडौँ उपत्यका र उपत्यका बाहिर दुवैतिर साझाको माग छ । साझा अहिले स्थानीय निकाय र सरकारी लगानी सबैभन्दा बढी भएको यातायात सेवा भएको छ ।
यसमा काठमाडौँ महानगरपालिकाले रु १५ लाख र ललितपुर महानगरपालिकाले रु एक करोडको शेयर खरिद गरेका छन् । उपत्यकाका अन्य नगरपालिका पनि साझासँग सहकार्य गर्न इच्छुक रहेको बताइएको छ ।
प्रतिक्रिया