झापा, ३ फागुन । उदयपुरको तपेश्वरी-१ की अनिषा ढुंगाना ११ वर्षकी भइन् । उनी बिर्तामोड नगरपालिका-२ रामचोकस्थित मोहनमाया माविमा कक्षा २ मा अध्ययनरत् छिन् ।
आठ वर्षकी हुँदा स्कूल भर्ना भएकी उनी झट्ट हेर्दा साङ्गजस्तो देखिए पनि शारीरिक रुपमा अशक्त छिन् । अनिषामा सुन्ने र बोल्ने शक्ति छैन । आठ वर्षसम्म उनको बोली नआएकाले अध्ययनका लागि उदयपुरबाट झापा ल्याइएको थियो ।
पढाइको महत्व बुझेका उनका हजुरबुबाले मोहनमायामा सुस्तश्रवण भएका विद्यार्थीलाई आवाससहित पढाइन्छ भन्ने थाहा पाएर तीन वर्षअघि पूर्व प्राथमिक तह (बाल शिक्षा) को विशेष कक्षामा भर्ना गराएका थिए ।
उनीमात्र होइन इलाम जिर्मलेकी युनिषा स्याङ्बो पनि शारीरिक रुपमा अशक्त छिन् । उनमा पनि त्यही समस्या छ । बाह्र वर्षीया युनिषा पनि कक्षा २ मा अध्ययनरत् छिन् ।
मोरङ टाँडीकी टीका भट्टराई र झापा जलथलकी जमुना लिम्बू पनि सोही विद्यालयका छात्रा हुन् । टीका कक्षा २मा अध्ययनरत् छिन् भने जमुना कक्षा ४मा अध्ययनरत् छिन् ।
शारीरिक रुपमा अशक्त भएका विद्यार्थीका लागि मोहनमायाले २०५२ सालदेखि विशेष कक्षा सञ्चालन गर्दै आएको छ । अहिले सो विद्यालयमा सुस्तश्रवण भएका २१ विद्यार्थी विशेष कक्षामा अध्ययनरत् छन् ।
विसं २०२४ मा स्थापना भएको मोहनमाया जिल्लाकै नमूना विद्यालयमध्येकै एक हो । सो विद्यालयमा अहिले ७४३ विद्यार्थी अध्ययनरत् रहेको विद्यालयका प्रधानाध्यापक शेरबहादुर श्रेष्ठले जानकारी दिए ।
सामुदायिक विद्यालयतर्फ जिल्लाकै नमूना विद्यालयका रुपमा परिचित मोहनमायामा सुस्तश्रवण भएका विद्यार्थीका लागि सञ्चालित विशेष कक्षा पनि अब्बल छ ।
आवाससहित अध्ययनरत् बालबालिकाका लागि विद्यालयमा अम्बिका दाहाल र कमला न्यौपाने अधिकारी दुईजना ‘केयर टेकर’का रुपमा कार्यरत् छन् ।
उनीहरुले विद्यार्थीलाई २४सै घण्टा रेखदेख गर्छन् भने अध्यापनका लागि दुईजना विशेष शिक्षक कार्यरत् रहेको बताइएको छ ।
पाँच कक्षासम्म विशेष कक्षा सञ्चालन हुँदै आएको मोहनमायामा अहिले दुई वटा कक्षामात्र सञ्चालनमा रहेको विद्यालयकी शिक्षक सिर्जना पौडेलले बताए ।
विद्यार्थी अभावका कारण कक्षा २मा नौ छात्रासहित ११ र कक्षा ४ मा पाँच-पाँच छात्रछात्रा अध्ययनरत् रहेको उनकोे भनाइ छ । यसअघि सो विद्यालयमा कक्षा ५ सम्म नै पठनपाठन हुँदै आएको थियो ।
सुस्तश्रवण भएका बालबालिकालाई सांकेतिक भाषामा पढाउनुपर्ने हुन्छ । हाल उपलब्ध पाठ्यक्रममा सांकेतिक भाषा छैन । सामुदायिक विद्यालयसरहकै पाठ्यक्रम हुँदा बालबालिकालाई सिकाउन कठिनाइ भइरहेको शिक्षक पौडेलको भनाइ छ ।
सरकारले सुस्तश्रवण तथा दृष्टिविहीन, सुस्तमनःस्थिति भएका बालबालिकाको शिक्षाका लागि मासिक रु चार हजार प्रदान गर्दै आएको छ ।
सोही रकमबाट विद्यार्थीले अध्ययन गर्ने गरेका छन् । सरकारले १० महिनामात्र त्यस्ता विद्यार्थीका लागि प्रत्येक वर्ष रकम प्रदान गर्दै आएको छ ।
दृष्टिविहीन तथा सुस्तश्रवण भएका बालबालिकाका लागि सरकारले उपलब्ध गराउने रकम न्यून भएकाले उनीहरुलाई आवाससहित अध्यापनका लागि सहज नहुने विद्यालयले जनाएको छ ।
टाढाटाढाका विद्यार्थी पढ्न आउने हुँदा बस्न, खान र पढ्न सरकारले उपलब्ध गराएको रकमले नपुग्ने विद्यालय स्रोतले जनाएको छ ।
मोहनमाया माविमा विशेष कक्षामा अध्ययनरत विद्यार्थीले प्रत्येक महिना रु पाँच-पाँच बचत गर्दै आएका छन् । २ र ४ कक्षामा अध्ययनरत २१ विद्यार्थीले प्रत्येक महिना लक्ष्मी बैंकमा रु पाँच-पाँच सय बचत गर्दै आएको विद्यालयकी शिक्षक पौडेलले बताइन् ।
प्रतिक्रिया