उत्तर कोरिया जान मुनलाई गाह्रो !

सोल । उत्तर कोरियाका नेता किम जङ–अनले दक्षिण कोरियाका राष्ट्रपति मुन जे–इनलाई भ्रमणका लागि दिएको निमन्त्रणा स्वीकार गर्नुअघि निश्चित शर्तहरू पालना हुनुपर्नेतर्फ दक्षिण कोरियाका प्रधानमन्त्री ली नाग–यानले संकेत गरेका छन् । तर, ती शर्तबारे प्रस्ट भनिएको छैन । चुनावताका उत्तर कोरियासँगको वार्तालाई मुद्दा बनाएका दक्षिण कोरियाली राष्ट्रपतिलाई निमन्त्रणा अस्वीकार गर्न अप्ठ्यारो पर्ने देखिन्छ ।

शनिबार उत्तर कोरियाली नेताकी बहिनी किम यो–जङले दक्षिण कोरियाली राष्ट्रपति मुनसँग भएको भेटवार्ताका क्रममा सो निमन्त्रणापत्र हस्तातन्तरण गरेकी थिइन् । उत्तर कोरियाली सञ्चारमाध्यमहरूका अनुसार उक्त भेटवार्ता ‘खुला र सहृदयी’ थियो । तर, किम जङ–अनले मुनसँग प्योङयाङमा गर्न प्रस्ताव गरेको शिखरवार्ताबारे भने ती सञ्चारमाध्यमहरूमा केही उल्लेख गरिएको छैन ।
दक्षिण कोरियाको साझेदार संयुक्त राज्य अमेरिकाले भने उत्तर कोरियाले उसको पारमाणविक अस्त्रबारे छलफल गर्न तयार नभएसम्म दुई कोरियाली नेताहरूबीचको ‘भेट’ लाई स्वागत नगर्ने ठानिएको छ ।

प्रतिक्रिया