महिला हिंसाको रूपः दाइजो नपाउँदा किडनी चोरी !

दाक्षिण एसिया त्यसमा पनि भारत र नेपालमा हुने गरेका महिला हिंसाका घटनाहरू निकै डरलाग्ला हुँदै गएका छन् । दाइजोका नाममा पत्नी र बुहारीहरू जिउँदै जल्नु वा पासोमा झुन्ड्याइएका घटनाहरू विवसताका साथ दिनहुँजसो सुन्न र पढ्न पाइन्छ । तर, पछिल्ला दिनमा भएका हिंसाका घटना त्योभन्दा निकै घृणित र डरलाग्दो छ । दोहो¥याएर यस्ता घटना सुन्न र पढ्न नपरोस् ।

हालै पश्चिम बंगालको रीता सरकार नामकी महिलाले पति र देवर मिलेर दाइजो नपाएको निहुँमा आफ्नो एउटा मिर्गाैला चोरेको आरोप लगाएपछि सुन्नेको आङ सिरिंग बनाएको छ । सुन्दा पत्याउन कठिन त्यो घटना पत्याउनै पर्ने थियो । महिलालाई वस्तुका रूपमा उपयोग गर्ने मानसिकता र सोचाइले यस्ता घृणित कार्य हुने गरेको हो ।

पीडित महिलाले पति र देवरका नाममा प्रहरीहरूमा उजुरी गरेपछि उक्त घटना सार्वजनिक भइएको हो । र यसले हाम्रो समाज कता जाँदै छ ? मान्छे धनको लालसामा कति तल झर्छ ? प्रश्न बग्रेल्ती छन् । बंगालकी ती महिलाका पति र देवरले दुई वर्षअघि उनलाई पेट दुःखेका कारण अस्पताल भर्ना गराएका थिए । पेटमा दुःखाइ बढेको ती महिलालाई के थाहा रोग फाल्न प्रेमपूर्वक अस्पताल लगेका आफन्तले उनको महत्वपूर्ण अंग निकालेर बेच्लान् भन्ने ? महिलालाई अस्पतालमा ‘एपेन्डिसाइटिस’ को उपचार र शल्यक्रिया गर्न भनेर व्यवस्था मिलाएको थियो । सँगै मर्ने बाँच्ने कसम खाएर जन्मघर छाडी आएकी उनले पति र परिवारप्रति शंका गर्ने कुरो पनि भएन ।

उनी आफ्नो परिवारप्रति पूर्णरूपले विश्वस्त थिइन् । अझ पतिले गरेको राम्रो व्यवहारले उनी खुसी पनि थिएन । के थाहा पतिको मायामा त्यति ठूलो स्वार्थ लुकेको उनलाई । तर, सन् २०१७ को अन्त्यमा मेडिकल परीक्षणमा उनको एउटा मिर्गाैला नभएको देखाएको । यो रिपोर्टले उनलाई छाँगाबाट खसेजस्तै बनायो । बिहे भएर भित्रिएदेखि सधैँ दाइजो नपाएर गुनासो गर्ने पति र उनको परिवारको असली हर्कत त्यतिवेला मात्र उनले थाहा पाइन् । पीडित महिलाले पति र परिवार उनीसँग खुसी नभएको खुलासा गरेकी छन् ।

उनको बानीबेहोराका कारण परिवार बेखुस भएका होइनन् । उनले परिवार र पतिका लागि मनग्य दाइजो नल्याएका कारण परिवार उनीसँग सन्तुष्ट थिएनन् । उनका पति वेलावेलामा खुलेरै माइतीसँग दाइजोका लागि दबाब दिन पत्नीलाई तनाव दिने गरेको रीताको आरोप छ । महिलाका लागि भारत कति सुरक्षित छ ? यो प्रश्न निकै गम्भीर बनेको छ । घर बाहिर आक्रमण हुनु इज्जत लुटिनु र मारिनु सामान्य जस्तै भएको छ । तर, घरभित्रै अंग हराउनु त्यो कति गम्भीर कुरा हो ? भारतमा सन् १९६१ मा नै परम्परागत रूपमा बेहुलीका परिवारले बेहुलाको परिवारलाई दिने दाइजोमाथि भारतमा प्रतिबन्ध लगाइएको छ ।

तर, यतिका वर्ष बितिसक्दा पनि दाइजोका नाममा छोरी जन्माएको आरोपमा भारतमा महिला जल्ने र पासोमा झुन्डिनु (लड्किनु) परम्पराजस्तै बनेको छ । तर, रीताको घटनापछि यो प्रश्न मात्र होइन भारतमा महिलाले आफ्नो महत्वपूर्ण अंग अब घरभित्रै कसरी सुरक्षित राख्लान् चिन्ता र चासोको विषय बनेको छ । केही दिनअघि भारतीय सञ्चारमाध्यमसँग आफ्नो पीडा पोख्दै रीताले भनिन, ‘म घरभित्रै प्रसस्त दाइजो ल्याउन नसकेको कारण वर्षौंदेखि घरेलु हिंसामा पर्दै आएको थिएँ, परिवारले वेलावेला मलाई दाइजो ल्याउन नसकेको भन्दै यातना दिन्थे । तर, पतिले यतिसम्म गर्लान् भन्ने सोेचेको पनि थिइनँ ।’ घर बिग्रने डरले उनी परिवारका सबै प्रकारका हिंसा सहँदै आएकी थिइन् ।

समयसँगै पतिको मन पग्लने र परिवारको माया पाउनेमा उनी आशावादी थिइन् । तर, उनको आशा मिर्गौला हराएको वास्तविकता थाहा पाएसँगै हरायो । कहिल्यै नफर्कने गरी । भारतीय अखबार हिन्दुस्तान टाइम्सले उनलाई उद्धृत गर्दै लेखेको छ, ‘मेरा पतिले मलाई कोलकातास्थित एक निजी नर्सिङ होममा लगे जहाँ मलाई मेरा पति र त्यहाँका कर्मचारीले शल्यक्रियाबाट सुन्निएको एपेन्डिक्स हटाए मेरो दुःखाई ठीक हुने बताएका थिए ।’ ती महिला पति र अस्पतालका चिकित्सकका कुरामा विश्वस्त थिइन् । उनलाई के थाहा रोग फाल्न गएको उनले शरीरको महत्वपूर्ण अंग पनि गुमाउनुपर्ला भन्ने ? दाइजोमा मस्ती गर्न नपाएको उनको पति आफ्नै पत्नीको मिर्गौैला बेचेर सन्तुष्ट थिए ।
यतिवेला उनले उपचार गर्दाको दिन सम्झँदै भनेकी छन्, ‘मेरो पतिले कोलकातामा भएको उपचारबारे कसैलाई केही नभन्न सचेत गराएका थिए ।’ मिर्गौला गुमाएको महिनौँपछि उनी बिरामी भइन् परिवारका सदस्यले उनलाई अस्पताल लगे । उपचारका क्रममा उनको दाहिने मिर्गाैला नभएको पत्ता लागेको उनले बताइन् । सुरुको परीक्षणमा उनलाई विश्वास भएन । उनीसँग जानेले पनि पत्याएनन् । दोस्रो परीक्षणको रिपोर्टले पनि उनको मिर्गाैला नभएको प्रमाणित भयो । उनलाई आफूले दाहिने मिर्गौला वर्षौं पहिले गुमाएको यथार्थ विश्वास गर्न निकै कठिन भयो । तर, विश्वास नगरी सुख्खै थिएन । ‘मैले त्यसपछि बुझेँ किन मेरो पतिले मलाई यसबारे कसैलाई नभन्नू भनेका थिए’, उनले बताएकी छन् । पत्नीको अंग बेचेर खाने पतिले पत्नीलाई कति माया गर्ला ? मानवीय संवेदना भएकाहरूका लागि चोटिलो प्रश्न बनेको छ ।

अत्यत्नै भावुक र परिवारप्रतिको घृणा मिश्रित स्वरमा उनले भनिन्, ‘मेरो परिवारले दाइजोको माग पूरा गर्न नसकेको हुनाले मेरो मिर्गाैला बेचेका हुन् ।’ सुन्नेका लागि पनि त्यो परिवारप्रति कति घृणा जाग्ला ?  बिरामी हुँदा अस्पताल जानु कोसँग ? रोग मिल्काएर निरोगी हुन गएको एउटी महिला शरीरको अंग आफन्तले बेचेर खाएको थाहा पाउँदा कस्तो अवस्थामा पुग्लिन ? त्यहाँमाथि पनि सबैभन्दा विश्वास भनेको नै पतिपत्नीबीच नै हुन्छ । यस्तो घटनाले अब कोमाथि विश्वास गर्ने भन्नेमा प्रश्न चिन्ह जन्माएको छ । विश्वासले भरिएको दुनियाँमा आफन्त नै धन र दौलतका लागि यतिसम्म तल झर्छन् भने मानवीय संवेदना कहाँ खोज्ने ? (एजेन्सीको सहयोगमा)

प्रतिक्रिया