राष्ट्रिय सभा निर्वाचन : वाम गठबन्धन दुईतिहाइ नजिक

सौर्य समाचार
काठमाडौं । राष्ट्रिय सभामा निर्वाचनमा वाम गठबन्धन झन्डै दुईतिहाइको नजिक पुगेको छ । बुधबार सम्पन्न निर्वाचनको पछिल्लो मतपरिणामअनुसार वाम गठबन्धनले ५६ मध्ये ३६ सिटमा जित हासिल गरेको छ । यो समाचार तयार पार्दा प्रदेश–६ को खुलातर्फको मतगणना जारी थियो । यसअघि नै २४ जना निर्विरोध भएका थिए भने बुधबार ३२ सिटका लागि मात्र मतदान भएको हो ।

पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेले सबैभन्दा ठूलो पार्टी बन्दै २५ सिट जितेको छ । नेपाली कांग्रेसले १३ सिट जित्दा माओवादी केन्द्रले ११ सिट जितेको छ । यसैगरी, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी दुई÷दुई सिटमा विजयी भएका छन् ।

५९ सदस्यीय राष्ट्रिय सभामा एक महिलासहित तीन जना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने व्यवस्था छ । राष्ट्रिय सभामा दुईतिहाइका लागि ४० सिट आवश्यक पर्दछ । वाम गठबन्धनले यसअघि प्रतिनिधिसभामा पनि दुईतिहाइ नजिकको जित हासिल गरेको थियो । ७ प्रदेश मध्ये प्रदेश–२ मा सबै पद निर्विरोध भएका थिए ।

राष्ट्रिय सभाको यो निर्वाचनसँगै संविधान कार्यान्वयनको पहिलो खुट्किलो पार गरेको छ । संविधानमा व्यवस्था भएअनुसार तीन तहको निर्वाचनमध्ये राष्ट्रिय सभाको निर्वाचन अन्तिम प्रक्रिया हो । यो सँगै प्रतिनिधिसभामा बहुमत प्राप्त वाम गठबन्धनलाई सरकार गठनको बाटो खुलेको छ । प्रतिनिधिसभा र राष्ट्रिय सभाको निर्वाचनको अन्तिम मत परिणाम घोषणा भएको ३० दिनभित्र राष्ट्रपतिले बैठक आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।

निर्वाचन आयोगले दिएको जानकारीअनुसार निर्वाचनमा १ हजार ६ सय ७७ मतदाता मध्ये आठ जना अनुपस्थित भए । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले ९९ दशमलव ५२ प्रतिशत मतदान भएको जानकारी दिए । मतदानमा प्रदेश–१ बाट चार जना अनुपस्थित भएका थिए । संखुवासभाको मकालु गाउँपालिका अध्यक्ष खड्गबहादुर कटुवालको निधन भएको थियो भने संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी विष्णु तुम्बाहाम्फेले मतदान बहिष्कार गरेकी थिइन् ।

यस्तै, ताप्लेजुङ मिक्वाखोला गाउँपालिकाका उपप्रमुख रुद्रकुमारी साँवा र तेह्रथुम लालीगुराँस नगरपालिकाका प्रमुख अर्जुन मावुहाङ बिरामी भन्दै मतदानमा आएनन् । प्रदेश–४ मा राजीव गुरुङ उपस्थित भएनन् भने दुई जनाले मतदान गरेनन् । प्रदेश–५ मा राजपाका प्रदेशसभा सदस्य बिना पन्त र फोरमबाट बाँकेको नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाह मतदानमा सहभागी भएनन् । प्रदेश–७ मा राजपाका प्रदेश सांसद मालमति राना थारू र कृष्ण चौधरी अनुपस्थित भए । कसैले भोट माग्न नआएकाले मतदान गर्न नगएको उनीहरूको प्रतिक्रिया छ ।

प्रदेश–१
प्रदेश–१ मा आठ मध्ये ६ सिट वाम गठबन्धनले जितेको छ । पाँच सिट एमाले र एक सिट माओवादी केन्द्रले जितेको हो भने नेपाली कांग्रेसले दुई सिट जितेको छ । अन्य सिटमा निर्विरोध भए पनि दलित, अपांग र अल्पसंख्यक सिटमा निर्वाचन भएको थियो ।

बुधबार भएको निर्वाचनमा दलित कोटाबाट एमालेका खेम नेपाली निर्वाचित भए । उनको मतभार ६ हजार २ सय ७० मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका विनकुमार विश्वकर्माको मतभार २ हजार ८ सय ३२ मत प्राप्त गरी विजयी भएका हुन् । यस्तै, अपांग र अल्पसंख्यकबाट एमालेकै अगमप्रसाद बान्तवा राई विजयी भए । उनले ६ हजार १ सय ३८ मतभार ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका महेशकुमार जाजुले २ हजार ८ सय ९८ मत प्राप्त गरे । बुधबार भएको निर्वाचनमा यस प्रदेशबाट १२ जनाको मत बदर भएको छ ।

यसअघि प्रदेश–१ बाट एमालेका नैनकला ओझा, पर्शुराम मेघी गुरुङ, हरिचरण शिवाकोटी, माओवादी केन्द्रबाट बिना पोखरेल र नेपाली कांग्रेसबाट सरिता प्रसाईं र रमेशजंग रायमाझी निर्विरोध विजयी भएका थिए ।

प्रदेश–२
राष्ट्रिय सभा सदस्यमा प्रदेश–२ बाट निर्वाचित सदस्यहरूलाई प्रमाणपत्र वितरण गरिएको छ । निर्वाचन अधिकृतको कार्यालय जनकपुरले निर्वाचित आठ जना राष्ट्रिय सभा सदस्यलाई प्रमाणपत्र वितरण गरेको हो ।
उनीहरू सबै निर्विरोध निर्वाचित भएका हुन् । यो प्रदेशबाट राजपा, संघीय समाजवादी फोरम र नेपाली कांग्रेसले दुई÷दुई तथा एमाले र माओवादी केन्द्रले एक÷एक सिट जितेका छन् । नेपाली कांग्रेसका जीतेन्द्र देव, मुक्ताकुमारी यादव, राजपाका रमेशप्रसाद यादव, वृषेशचन्द्रलाल विजयी भए । संघीय समाजवादी फोरमका प्रमिला कुमारी, रामपृत पासवान तथा एमालेबाट सुमनराज प्याकुरेल र माओवादी केन्द्रकी शशीकला दाहाल निर्वाचित भएका हुन् ।

प्रदेश–३
सबैभन्दा बढी प्रतीक्षाका साथ हेरिएको प्रदेश–३ बाट वाम गठबन्धनले ६ सिट जितेको छ । यहाँबाट नेपाली कांग्रेसले दुई सिटमा जित हासिल गरेको छ ।

वाम गठबन्धनबाट एमालेका बलरामप्रसाद बाँस्कोटा, महिलामा दिलकुमारी रावल (पार्वती) र उदया पौडेल शर्मा, दलितमा सिंहबहादुर विश्वकर्मा र अल्पसंख्यकमा रामचन्द्र राई विजयी भएका छन् । माओवादी केन्द्रबाट रामबहादुर थापा बादल विजयी हुँदा कांग्रेसबाट राधेश्याम अधिकारी र धनकुमारी खतिवडा विजयी भएका हुन् । यो प्रदेशमा कांग्रेस उम्मेदवारलाई विवेकशील साझा पार्टीको पनि समर्थन थियो ।

प्रदेश–४
प्रदेश–४ मा नेकपा एमाले र नेपाली कांग्रेसले समान तीन÷तीन सिट जित्दा माओवादी केन्द्रले दुई सिट जितेको छ । एमालेबाट खुलामा गणेश तिमिल्सिना, खुला महिलामा दीपा गुरुङ र शान्ति अधिकारी विजयी भए । नेपाली कांग्रेसबाट खुलातर्फ सुरेन्द्र पाण्डे, महिलातर्फ विन्दादेवी आलेराना र अल्पसंख्यक वा अपांगतातर्फ प्रकाश पन्थ विजयी भए । माओवादी केन्द्रका तर्फबाट खुलामा दीनानाथ शर्मा र दलितबाट खिमबहादुर विक विजयी भएका छन् ।  प्रदेश–४ मा ८ पदका लागि १२ जनाको उम्मेदवारी परेको थियो । खुलातर्फ प्रदेशसभा सदस्यमा एक र स्थानीय तहका ६ जनाले हालेको मत बदर भएको थियो ।

प्रदेश–५
यो प्रदेशमा एमालेले ४ सिट जित्दा माओवादी केन्द्र र नेपाली कांग्रेसले दुई÷दुई जितेका छन् । खुलामा एमालेबाट रूपन्देहीका खिमलाल भट्टराई ३ हजार ६, माओवादी केन्द्रबाट अर्घाखाँचीका चन्द्रबहादुर खड्का २ हजार २ सय ८० र कांग्रेसबाट रूपन्देहीका दुर्गाप्रसाद उपाध्याय २ हजार ४ सय १८ मतभारका साथ विजयी भए । दलित कोटामा एमालेबाट पश्चिम नवलपरासीका रामलखन चमार ५ हजार ५ सय ८ मतभार प्राप्त गरी विजयी हँुदा अपांग तथा अल्पसंख्यक कोटामा माओवादी केन्द्रबाट रोल्पाका राजकुमार कुँवर ५ हजार ३ सय ४० मतभार प्राप्त गरी विजयी भए । यसअघि, महिलाबाट एमालेकी कोमल वली, मीना बुढा र कांग्रेसबाट अनिता देवकोटा विजयी भएका हुन् ।

प्रदेश–६
यस प्रदेशमा वाम गठबन्धनले यो समाचार तयार पार्दा ८ मध्ये ५ सिट जितेको छ । एमाले ३ र माओवादी केन्द्रले २ सिट जितेको छ । यो समाचार तयार पार्दा खुलातर्फको मतगणना जारी थियो । महिलातर्फ एमालेबाट कविता बोगटी, नन्दा शर्मा र माओवादी केन्द्रबाट युटुल लामा विजयी भए । यस्तै, दलितबाट एमालेका नरपति लोहार र अपांग वा अल्पसंख्यकबाट माओवादीका जीवन बुढा विजयी भएका छन् ।

प्रदेश–७
प्रदेश–७ मा एमालेले चार सिट जितेको छ भने माओवादी र कांग्रेसले समान दुई÷दुई सिट जितेका छन् । ६ सिट पहिला निर्विरोध भएको यो प्रदेशमा दलित कोटाबाट एमालेका चक्र स्नेही र अपांग कोटाबाट माओवादी केन्द्रका महेशकुमार महरा विजयी भए ।

स्नेहीले ३ हजार ७ सय ८ मतभार ल्याएर विजयी हुँदा उनका निटकतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शेरेराम पार्कीले १ हजार ८ सय ९० मत प्राप्त गरे । अल्पसंख्यक अपांगतर्फ माओवादी केन्द्रका महेशकुमार महराले ३ हजार ७ सय ८ मतभार प्राप्त गरी विजयी भए । उनका प्रतिस्पर्धी कांग्रेसका छत्रराज जोशीले १ हजार ९ सय ८ मतभार प्राप्त गरे । यसअघि एमालेका कमला ओली, इन्दु कडेरिया विष्ट र शेरबहादुर कुँवर निर्विरोध भएका थिए । यस्तै कांग्रेसका तारादेवी भट्ट र बद्रीप्रसाद पाण्डे र माओवादी केन्द्रका हरिराम चौधरी निर्विरोध भएका हुन् ।

प्रतिक्रिया