काठमाडौं । देश बचाउन भन्दै पूर्वराजा ज्ञानेन्द्र शाह दुई साता लामो भ्रमणका लागि सोमबार छिमेकीमुलुक भारत प्रस्थान गरेका छन् । भारतीय देशी गाई जोगाउन सक्रिय श्रीमार्ग नामको संगठनले आयोजना गर्ने विभिन्न धार्मिक कार्यमा संलग्न हुन कोलकाता प्रस्थान गरेका शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली झण्डासहित आएका राजावादीले बिदाई गरे ।
कोलकाता जानुअघि विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै शाहले हिन्दूत्वका विषयमा आफूले खुल्ला छलफल चाहेको बताए । उनले राष्ट्रले लिएका मान्यताहरू व्यावहारिक रूपमा सबैलाई मान्य हुनुपर्नेमा जोड दिँदै लक्ष्य पूरा नभएसम्म सिद्धान्त नछाड्ने स्पष्ट पारे ।
‘लक्ष्य पूरा नभई अर्को बाटो रोज्नु परे पनि सिद्धान्त भने छाड्न हुँदैन, हाँगा र पात त पलाइ रहन्छन् तर जरा जोगिनु ठूलो कुरा हो, त्यही जरा संरक्षण मेरो कोसिस हो, त्यसकै लागि भारत जाँदै छु’, शाहको भनाइ छ । उनले भारत भ्रमणका विषयमा घुमाउरो भाषामा स्पष्ट रूपमा सन्देश दिन खोजेका छन् । घुमाउरो भाषामा आफू राजसंस्था र हिन्दू राष्ट्र जोगाउन भारतमा गएर सबैसँग सहयोग माग्ने उनको आशय थियो ।
पछिल्लो केही समयदेखि खुलेर नेपाललाई हिन्दूराष्ट्र बनाउनुपर्ने र राजसंस्था फर्काउनुपर्ने भन्दै वकालत गर्दै आएका पूर्वराजा शाह केही पहिले पनि यही मुद्दा बोकेर भारतको उत्तर प्रदेश पुगेका थिए । नेपालगञ्जको लामो बसाइँपछि उनी त्यहाँ गएर मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता गर्दै यसमा सहयोग गरिदिन आग्रह गरेको सम्बद्ध स्रोत बताउँछ । यो भ्रमणमा पनि पूर्वराजाले नेपालमा हिन्दूत्वको मुद्दाबारे भारतीय नेताहरूसँग कुरा हुनसक्ने संकेत दिएका छन् । उनले राजनीतिक भेटवार्ता हुने नहुने बारेमा केही जानकारी नदिए पनि उनका निकटस्थले भने केही नेतासँग भेटवार्ता हुन सक्ने बताएका छन् ।
उडिसामा शनिबारदेखि आगामी बुधबारसम्म हुन लागेको गौ संरक्षण महोत्वसमा शाहलाई प्रमुख अतिथिका रूपमा बोलाइएको छ । उनलाई पठाइएको निमन्त्रणमा संस्थाले नेपालको राजाकै हैसियत दिइएको छ । पछिल्लोसमय धार्मिक गतिविधिमा सक्रिय पूर्वराजाले भारतमा पनि महोत्सवको अन्तिम दिन महायज्ञमा पूर्णाहुति दिने तालिका आयोजकले सार्वजनिक गरेको छ । नेपालबाट राजसिंहासन खोसिएका ज्ञानेन्द्र शाहलाई उडिसामा भारतीय हिन्दूवादीले भने राजसिंहासनमै राखेर अभिषेक पनि गर्ने भएका छन् । भ्रमणका क्रममा पूर्वराजा शाहद्वारा गौशाला उद्घाटन, उडिसास्थित जगन्नाथ पुरी, लिंगराज मन्दिर आदिमा पूजा गर्ने कार्यक्रम तय भएको छ ।
प्रतिक्रिया