सौराहाको पर्यटक आगन्तुक केन्द्र पुनःसञ्चालन

चितवन, १९ माघ । पाँच वर्षदेखि बन्द रहेको चितवनको सौराहास्थित पर्यटक आगन्तुक केन्द्र शुक्रबारदेखि पुनःसञ्चालनमा ल्याइएको छ ।

चितवन राष्ट्रिय निकुञ्ज र यस क्षेत्रमा पाइने वन्यजन्तु तथा वनस्पतिबारे सूचना उपलब्ध गराइने उक्त केन्द्र पुनःसञ्चालन गरिएको हो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले उक्त केन्द्र शुभारम्भ गर्दै यसलाई अझै व्यवस्थित बनाउनुपर्नेमा जोड दिए ।

विश्व सीमसार दिवसका अवसरमा आजबाट पुनःसञ्चालन गरिएको निकुन्जको पूर्वी सेक्टरमा रहेको उक्त सूचना केन्द्रबाट पर्यटकले निःशुल्क रुपमा सूचना लिन सकिन्छ ।

उक्त केन्द्रमा २०५० सालको बाढीले क्षति पुर्याएकामा गएको साउनको बाढीले थप डुबानमा पारेको र उचित मर्मत नहुँदा ओझेलमा परेको थियो ।

अब भने नियमितरुपमा यसलाई सञ्चालन गर्ने चितवन निकुञ्ज पूर्वी सेक्टर कार्यालयका प्रमुख अभिनय पाठकले बताए । करिब रु तीन लाखको लागतमा केन्द्र सञ्चालनमा ल्याइएको उनले जानकारी दिए ।

यो केन्द्रमा चितवन निकुञ्जको वस्तुस्थितिका साथै वन्यजन्तु, गैंँडा, अर्नाको स्थानान्तरणको सूचना र सीमसारका जीवबारे जानकारी पाइन्छ ।

वन्यजन्तु अपराध सम्बन्धी कानूनी व्यवस्था, संरक्षण र अपराध विरुद्ध सूचना दिनेलाई पुरस्कारका दिने कुरालगायत सूचना पनि यहाँ छ ।केन्द्रमा गैँंडा, गौरीगाई, मृग, अर्ना, बाघको पञ्जालगायत वन्यजन्तुका अखेटोपहार समेत राखिएको छ ।

पर्यटन व्यवसायी तथा संरक्षणकर्मी वासु ढुंगाना, टीका गिरी तथा सदर चिडियाखाना जाउलाखेलका प्रमुख डा. चिरञ्जीवी पोखरेलले सूचना केन्द्रलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

यसैबीच वश्व सीमसार दिवसको अवसरमा शुक्रबार सौराहामा सरसफाइ कार्यक्रम गरिएको बाघ संरक्षण उपसमितिका संयोजक जितु तामाङले जानकारी दिए । यहाँ तीन दिने कार्यक्रमसहित सीमसार दिवस मनाइँदै छ ।

प्रतिक्रिया