काठमाडौं । अहिलेसम्म नेपालमा १० हजार १ सय ९९ वटा उद्योगहरू दर्ता भएका छन् । त्यसमध्ये कति उद्योगहरू सञ्चालनमा आएका छन्, यसको यकिन तथ्यांक सरकारसँग छैन । निजी क्षेत्रको भनाइअनुसार हाल नेपालमा साढे ४ हजार उद्योग सञ्चालन भइरहेका छन् । यदि यो तथ्यांकमाथि विश्वास गर्ने हो भने उद्योग विभागमा दर्ता भएका उद्योगहरू मध्ये ६० प्रतिशत उद्योगहरू सञ्चालनमा आउन सकेको छैन । यसले उद्योग विभागमा उद्योग दर्ता हुन्छ । तर, दर्ता भएको उद्योग सञ्चालन भयो कि भएन भनेर विभागले कुनै पनि जानकारी राखेको देखिँदैन । उद्योग मन्त्रालयसँग पनि कुनै तथ्यांक छैन ।
तर, निजी क्षेत्रको भनाइलाई मान्ने हो भने धेरै उद्योग दर्ता हुन्छन् तर धेरै कममा मात्रै लगानी भएर सञ्चालन हुन्छ । ०६९ सालमा गरेको १०औँ औद्योगिक गणनापछि कति उद्योग सञ्चालनमा आए ? कति बन्द भए ? कतिले रोजगारी पाएका छन् ? भन्नेलगायत कुनै पनि अद्यावधिक औद्योगिक तथ्यांक छैन । उद्योग विभागले उद्योग दर्ता गर्छ तर दर्ता भएका उद्योग सञ्चालनमा आए कि आएनन् भनेर अनुगमन कसैले गर्दैन । यसको तथ्यांक उद्योग मन्त्रालयसँग पनि छैन । यसै विषयमा केन्द्रित भएर सरोकारवालासँग गरिएको कुराकानी ।
उद्योगमा सरकारले सहयोग गर्नुपर्छ -दिनेश श्रेष्ठ
उपाध्यक्ष
नेपाल उद्योग वाणिज्य महासंघ
उद्योग दर्ता त धेरै हुन्छन् तर सञ्चालनमा धेरै कम आउने गर्छन् । अझै पनि अनुकूल औद्योगिक वातावरण नबनेकै कारणले उत्साहका साथ उद्योगमा लगानी आउन सकेको छैन । उद्योगीले उद्योग दर्ता गरे पनि सरकारले उचित सहयोग नगर्दा उद्योगहरू राम्रोसँग सञ्चालनमा आउन सकेको छैन । उद्योग सुरु गर्दादेखि सञ्चालन र खारेज गर्दासम्म विभिन्न किसिमहरू समस्याहरू आउने गर्छन् ।
जसले गर्दा पनि कतिले उद्योग दर्ता त गर्छन् तर त्यसलाई चलाउन सक्दैनन् ।जसले गर्दा उद्योगमा अपेक्षित र आवश्यकताअनुसार लगानी पनि आउन सकेको छैन । यसबाहेक कतिपय लगानीकर्ताले निहीत स्वार्थ पूरा गर्नका लागि उद्योग दर्ता मात्रै गर्ने गरेको उदाहरण पनि देखिन्छ । स्वदेशी लगानीका कुल ६ हजार ५ सय २४ वटा स्वदेशी लगानीका उद्योग दर्ता भएको दखिन्छ ।
करिब १ खर्ब ३६ अर्ब रुपैयाँ लगानी रहने उद्योगले ५ लाख २१ हजार ८ सय जनालाई प्रत्यक्ष रोजगारी दिने प्रतिबद्धता जनाएको थियो । सोही समयमा ३ हजार ६ सय ७५ वटा विदेशी लगानीका उद्योग पनि दर्ता भएको थियो । करिब १ खर्ब ९७ अर्ब रुपैयाँ लगानी हुने भनिएका ती उद्योगले पनि २ लाख १७ हजार ५ सयलाई रोजगारी दिने प्रतिबद्धता गरेका थिए । यसलाई आधारमान्दा मुलुकमा हालसम्म १० हजार १ सय उद्योगहरू सञ्चालनमा आइसक्नुपर्ने थियो ।
यदि ती उद्योगहरू सञ्चालनमा आएका भए अहिले करिब ३ खर्ब ३३ अर्ब रुपैयाँ लगानी भएका ती उद्योगमा ७ लाख ३९ हजार ३ सयले रोजगारी पाउन सक्थे । यसरी दर्ता भएकामा करिब ४० प्रतिशतभन्दा कम उद्योगहरू मात्रै सञ्चालनमा आउने गरेको छ । आधारभूत सुविधा तथा पूर्वाधारका कारण व्यवसाय सञ्चालनका लागि औद्योगिक क्षेत्र उपयोगी मानिन्छन् । सुरक्षाको दृष्टिकोणले पनि औद्योगिक क्षेत्र उद्योग सञ्चालनका लागि उपयुक्त स्थान हो । नेपालमा पनि औद्योगिक विकास गर्ने उद्देश्यले ०१६ सालमा औद्योगिक क्षेत्रको स्थापना सुरु गरिएको थियो ।
हालसम्म नेपालमा १० ओटा औद्योगिक क्षेत्र स्थापना भइसकेका छन् । तर, भएका औद्योगिक क्षेत्रमा पर्याप्त पूर्वाधार तथा उचित सुविधा उपलब्ध नहुँदा उद्योग सञ्चालनमा कठिनाइ हुने गरेको देखिन्छ । यदि सरकारले उद्योग क्षेत्रलाई सहयोग ग¥यो भने उद्योग क्षेत्रमा लगानी बढ्न सक्छ । अहिले लोडसेडिङ पनि निकै कम भएको छ, यसले पनि उद्योग क्षेत्रमा लगानीको वातावरणलाई बढाउन सक्छ ।
तथ्यांक अद्यावधिक गर्ने काम सुरु – गोपीकृष्ण खनाल
सहसचिव
इन्डस्ट्रियल प्रमोसन डिभिजन
अहिले उद्योग मन्त्रालयले पनि कति उद्योगहरू अहिलेसम्म दर्ता भएका छन् र कति उद्योगहरू सञ्चालनमा छन् भन्ने कुराको जानकारी लिइरहेको छ । यसका लागि अहिले मन्त्रालयले औद्योगिक तथ्यांकलाई अद्यावधिक गर्ने तथा औद्योगिक प्रोफाइल बनाउने काम सुरु गरेको छ । विभिन्न कारणले जायज र नाजायज कम्पनीहरू दर्ता हुने गर्छन् ।
तर, कति सञ्चालन हुन्छन् कति हुँदैनन् । कतिले उद्योगहरूको नवीकरण गर्छन् भने कतिले यसको नवीकरण गर्दैैनन् । जसले गर्दा पनि दर्ता भएको उद्योगको संख्या बढी देखिन्छ । कतिले सिर्फ आफ्नो फाइदाका लागि मात्रै कम्पनीहरू दर्ता गर्ने गर्छन् । यसलाई रोक्नका लागि कम्पनी ऐन तयार भएर संसद्मा गएको छ ।
दर्ता भएकामध्ये धेरै उद्योग सञ्चालनमा आएका छैनन् । दर्ता भएका कति उद्योग चल्यो भन्ने यकिन तथ्यांक उद्योग मन्त्रालयसँग छैन । तर, दर्ता भएका उद्योग मध्ये निकै कम उद्योग मात्रै सञ्चालनमा रहेको अनुमान गर्न सकिन्छ । सरकारसँग अद्यावधिक औद्योगिक तथ्यांक छैन । ०६९ सालमा गरेको १०औँ औद्योगिक गणनापछि कति उद्योग सञ्चालनमा आए ? कति बन्द भए ?
कतिले रोजगारी पाएका छन् ? भन्नेलगायत कुनै पनि अद्यावधिक औद्योगिक तथ्यांक छैन । हाल नेपालमा बालाजु, पाटन, भक्तपुर, हेटौँडा, धरान, नेपालगञ्ज, पोखरा, बुटवल, धनकुटा र गजेन्द्रनारायण सिंह राजविराज गरी जम्मा १० ओटा औद्योगिक क्षेत्र छन् ।०१६ सालमा अमेरिकी सहयोगमा बनेको बालाजु औद्योगिक क्षेत्र नेपालको जेठो औद्योगिक क्षेत्र हो । त्यस्तै, ०४४ मा भारतीय सहयोगमा बनेको गजेन्द्रनारायण कान्छो औद्योगिक क्षेत्र हो । अधिकांश औद्योगिक क्षेत्रमा नयाँ पूर्वाधार केही पनि थपिएका छैनन् । भएका पूर्वाधारको समेत विस्तार तथा उचित मर्मतसम्भार हुन सकेको छैन ।
एकातर्फ औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले ‘उद्योग सञ्चालनका लागि एक मात्र सुविधासम्पन्न क्षेत्र भनेकै औद्योगिक क्षेत्र हो’ भन्दै नयाँ औद्योगिक क्षेत्र निर्माणका लागि दौडधुप गरिरहेको छ ।अर्कातर्फ औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगहरूले आवश्यक पूर्वाधार तथा सुविधा अभावमा कामै गर्न नसक्ने अवस्था आएको छ । केन्द्रीय तथ्यांक विभागले ०६९ असारमा सार्वजनिक गरेको १०औँ औद्योगिक गणनाले मुलुकमा ४ हजार ७६ वटा उद्योग रहेको देखाएको थियो । जबकि, ०६९ असारसम्ममा उद्योग विभागमा ७ हजार ९ सय २६ वटा उद्योग दर्ता भइसकेका थिए ।
यसले दर्ता भएका आधा अर्थात् ३ हजार ८ सय ५० वटा उद्योग सञ्चालनमा आउन नसकेको देखाउँछ । उक्त गणनाले ०६५ देखि ०६९ सम्ममा ६ सय ३० वटा उद्योग थपिएको देखाएको थियो । जबकि, उक्त अवधिमा २ हजार ५ सय ३६ वटा उद्योग दर्ता भएको उद्योग विभागको तथ्यांक छ । सोही समयसम्ममा उद्योगमा २ लाख ४ हजार जनाले रोजगारी गरिरहेको विभागको तथ्यांक छ । जबकि, दर्ता भएका उद्योगको प्रतिबद्धता ६ लाख ३९ हजार ३ सयलाई रोजगारी दिने थियो ।
प्रतिक्रिया