मोदीका विशेष दूत स्वराज भोलि नेपाल आउँदै

-राजन भट्टराई   काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका भावी प्रधानमन्त्री केपी शर्मा ओलीको सन्देशपछि आफ्ना विशेष दूतका रूपमा विदेशमन्त्री सुस्मा स्वराजलाई नेपाल भ्रमणमा पठाउने निर्णय लिएको पाइएको छ । पटक–पटकको फोनवार्तामा वाम गठबन्धनका कमान्डरसमेत रहेका एमाले अध्यक्ष ओलीले आफू र आफ्नो सरकार भारतसँग इतिहासकै सबैभन्दा मजबुत सम्बन्ध कायम राख्ने समृद्धिको खाका कोर्न आतुर रहेको बताएपछि मोदीले विदेशमन्त्री स्वराजलाई नेपाल भ्रमणमा पठाउने निर्णय लिएका हुन् ।

भारतीय विदेशमन्त्री स्वराज भोलि नेपाल भ्रमणमा आउँदै छिन् । दुई दिने नेपाल भ्रमणको क्रममा स्वराजले ओलीसहित वाम गठबन्धनका अर्का नेता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग विशेष वार्ता गर्नेछिन् । स्वराजले नेपाल बसाइँको क्रममा अब बन्ने सरकारको नेतृत्वकर्ता ओलीलाई मोदीको सहकार्य सन्देश दिने नेपालस्थित भारतीय दूतावास स्रोतको भनाइ छ । सत्तारूढ भारतीय जनता पार्टीकी वरिष्ठ नेतृसमेत रहेकी विदेशमन्त्री स्वराजको यो भ्रमण नेपालमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि हुन लागेको पहिलो भ्रमण हो ।

वामपन्थी गठबन्धनको सरकार बन्नुअघि नै आफू नयाँ सरकारसँग सहकार्य गर्न इच्छुक रहेको सन्देश दिन मोदीले स्वराजलाई पठाउन लागेको परराष्ट्र स्रोतको भनाइ छ । भारतीय दूतावासको विज्ञप्तीले पनि यस कुरालाई पुष्टि गरेको छ ।  दूतावासले मंगलबार जारी गरेको विज्ञप्तिमा भ्रमणमा स्वराजले नेपालका राजनीतिक नेताहरूसँग छलफल गर्ने जनाइएको छ । भारतीय दूतावास स्रोतका अनुसार नयाँ सरकार गठन हुनुअघि नै भएको स्वराजको यो भ्रमणले मोदीले नेपाललाई उच्च प्राथमिकतामा राखेको सन्देश दिनेछ ।

निर्वाचनको परिणाम लगत्तै भारतीय प्रधानमन्त्री मोदीले नेपालका प्रमुख तीन दलका नेतासँग एकै दिन टेलिफोन वार्ता गरेका थिए । उनले कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालसँग टेलिफोन वार्ता गरेका हुन् । त्यसका अतिरिक्त उनले ओलीलाई दोस्रोपटक टेलिफोन गर्दै भावी प्रधानमन्त्रीका रूपमा बधाई दिएर भारत भ्रमणको निम्तोसमेत दिइसकेका छन् । संविधान जारी भएलगत्तै ओली र मोदीको सम्बन्ध बिग्रिएको थियो ।

भारतले लगाएको नाकाबन्दीका बेला त्यो निकै खराब भएर गयो । नाकाबन्दी विरोधी अडान र भारतसँग नझुकेकै कारण ओलीको व्यक्तित्व नेपालमा सबैभन्दा माथि पुग्यो । निर्वाचनमा ओलीको त्यही राष्ट्रवादी अडानमा जनताले साथ दिए । जसका कारण ओलीकै नेतृत्वमा एमालेले तीनै तहका निर्वाचन जित्न सफल भयो । स्रोतका अनुसार निर्वाचनपछि मोदी आफँैले ओलीसँग सम्बन्ध सुधार गर्न चाहेका हुन् ।

यसैको परिणाम स्वराजको भ्रमण भएको र नेपाली जनताको म्यान्डेट पाएको वामपन्थी सरकारसँग सहकार्य गर्न मोदी तयार छन् भन्ने सन्देश दिन लागिएको हो ।  पछिल्लो समय जनमतविपरीत नेपालका केही राजनीतिक दलहरूले भारतको नाम लिएर आफ्नो स्वार्थ पूर्ति गर्ने काम बढेपछि मोदीले नेपालको राजनीतिक चलखेलमा भारतको कुनै भूमिका नहरेको र नरहने सन्देश पनि स्वराजमार्फत पठाउन लागेका छन् ।

‘नेपालका हरेक नेताहरू आफ्नो स्वार्थका लागि भारतलाई जोडने गरेका छन्, पछिल्लो समय भारतको संस्थापनको समर्थन भन्दै जनताले छानेका वाम गठबन्धन र एमाले अध्यक्ष ओलीको विकल्पमा भारतले सोचिरहेको छ भन्ने खेती चलेपछि प्रधानमन्त्रीले जनताबाट म्यान्डेट प्राप्त ओली नेतृत्वको सरकारसँग उच्चस्तरको सहकार्य गर्ने आफ्नो चाहनासहितको सन्देश पठाउन लागेका हुन्,’ दूतावास स्रोतले भन्यो ।

ओलीको सन्देशले मोदी दंग
एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारत सरकारसँग सहकार्य गर्न आतुर रहेको सन्देश पठाएका छन् । भारतको गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्री मोदीलाई पठाएको सन्देशमा ओलीले दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउन आफू ले मोदीसँगै काम गर्न चाहेको बताएका हुन् ।

‘यो अवसरमा सबै सफलताका लागि म शुभेच्छा व्यक्त गर्दछु, दुई देश र जनताबीचको सहकार्य अझ मजबुत हुने अपेक्षा राख्दछु’ भारतीय दूतावासमार्फत पठाइएको सन्देशमा ओलीले भनेका छन् ‘भर्खरै सम्पन्न निर्वाचनबाट चुनिएको एक जनप्रतिनिधि र संघीय संसद्को सबैभन्दा ठूलो दलको नेताको हैसियतमा म तपाईं र तपाईंको सरकारसँग दुई देशको उज्ज्वल भविष्यका लागि सँगै काम गर्न आतुर छु ।’

सन्देशमा भारतले मुलुकको सार्वभौमसत्ताका लागि गरेको बलिदान र ती संघर्षका परिणामलाई संस्थागत गरेको महत्वपूर्ण इतिहास रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले भारतको संविधान जननिर्वाचित प्रतिनिधिले लेखेको जनभावना र आकांक्षाको विस्तृत दस्तावेज भएको बताएका छन् । सन्देशमा भारतीय संविधान कार्यान्वयनको अनुभवबाट नेपालले सिक्दै गरेको उल्लेख गर्दै ओलीले संघीयतातर्फ पाइला अघि बढाएको बताएका छन् ।

केही दिनअघि भारतीय प्रधानमन्त्री मोदीले एमाले अध्यक्ष ओलीलाई फोन गरी भावी प्रधानमन्त्री भन्दै बधाई दिएका थिए । ओलीको सो सन्देशले नेपाल–भारत सम्बन्ध नयाँ उचाइमा पुग्ने भन्दै भारतीय प्रधानमन्त्री मोदीले खुसी व्यक्त गरेको दूतावास स्रोतको भनाइ छ ।

 

प्रतिक्रिया