-सुस्मिता लाल सन् २०११ देखि हालसम्मको सात वर्षमा सडक दुुर्घटनाबाट मृत्यु हुनेको संख्या झन्डै डेढ गुणाले वृद्धि भएको छ । सरकारले १० वर्ष (२०११–२०२०) सम्ममा सडक दुर्घटनाबाट मृत्यु हुनेको संख्या आधाले घटाउने लक्ष्य लिएको थियो । तर, त्यसको विपरीत मृत्युदर बढ्दै गएको छ । ०६६÷६७ (२००९÷०१०) मा कुल १ हजार ७ सय ३४ जनाको मृत्यु भएको थियो । यसलाई ०२० मा आधा अर्थात् ८ सय ६७ जनामा सीमित गर्नुपर्ने सरकारी लक्ष्य छ । जब कि, बितेका आर्थिक वर्ष ०७३÷७४ (२०१६÷०१७) मा मात्रै मृत्यु हुनेको संख्या २ हजार ३ सय ८४ छ ।
सडक दुर्घटना संसारमा जहाँसुकै हुन्छ । दुर्घटना शून्य गर्न सम्भव छैन, तर पनि यसलाई कम गर्ने विभिन्न उपाय अपनाउन सकिन्छ । खासगरी गाडीले क्षमताभन्दा बढी यात्रु राखेका कारण गाडी अनियन्त्रित हुनु, चालकले मादक पदार्थ सेवन गरी गाडी चलाउनु, सवारीसाधन मर्मत सम्भारको अभावमा बिग्रनु आदि सवारी दुर्घटनाका प्रमुख कारणहरू मानिन्छ । सडकको दुर्दशा त सवारी दुर्घटनको प्रमुख कारण हो र त्यसमा सवारी साधन र चालक दुवैको गल्ती कम वा न्यून हुन्छ ।
हाम्रो देशमा सबै भन्दा बढि दुर्घटना हुने सडकहरूमा काठमाडौंबाट दक्षिणकाली हुँदै हेटौँंडा जाने बाटो, खानीदेखि भीमफेदी, काठमाडौं–नारायणघाट सडक, कलंकी–नौबीसेको बाटो, मुग्लिङ–नारायणघाटको बाटोलगायत छन् । यस क्षेत्रका कुनै बाटोको निर्माण हुँदैछ । बाटोमा खाल्डाखुल्डी रहेको छ, बाटो साँघुरो छ । वर्षाको मौसममा बाटो निकै नै चिप्लो हुन्छ, जसले गर्दा दुर्घटनाको समस्या बढी नै रहन्छ । पहाडी भागहरूमा सिन्डिकेटका गाडी चल्छन् ।
यहाँ पनि सिन्डिकेटका गाडी चल्ने रहेछन् । थोरै बस चलाउने र खचाखच यात्रु, सामान लोड गरेर मात्र बस चलाउने र अरू व्यवसायीलाई छिर्न नदिने प्रवृत्तिले यात्रुहरूलाई यस्तो कष्टकर यात्रा गर्न बाध्य बनाउने गरेको पाइन्छ । सिन्डिकेट प्रणाली यस्ता दुर्घटनाको सहायक कारण बन्ने गरेको छ । जे–जति कारणले दुर्घटना भए पनि यी सबै कमजोरीको नतिजाचाहिँ यात्रुहरूले ज्यान माया मारेर ज्यान गुमाएर भोग्नुपर्ने हाम्रो नियति छ ।
हाम्रा ग्रामीण भागमा चल्ने बसभित्र कोचिएर उभिनुपर्ने, ढोकामा झुन्डिएर उभिनुपर्ने, छतमा खचाखच भएर यात्रा गर्नुपर्ने समस्यालाई सामान्य कुराको रूपमा लिने गरेको पाइन्छ । यसलाई सामान्य रूपमा नलिएर पनि उपाय केही छैन ।
गाडी चलाउँदा चालकले ध्यान दिनुपर्छ – वीरेन्द्रबहादुर स्वार प्रवक्ता (यातायात व्यवस्था विभाग)
नेपालमा सार्वजनिक सवारीसाधन चालकको लापरबाही सडक दुर्घटनाको मुख्य कारण रहेको छ । त्यसबाहेक मादक पदार्थ सेवन (मापसे), तीव्रगति, ओभरटेक, सडकको वर्तमान संरचना पनि सडक दुर्घटनाको कारण बन्ने गरेको छ । सडक दुर्घटना बढ्नुको मुख्य कारणमा चालकको लापरबाही ६७ प्रतिशत, यात्रुको गल्ती ४ प्रतिशत, ओभरटेक ४ प्रतिशत, तीव्र गति १५ प्रतिशत, यान्त्रिक गडबडी ४ प्रतिशत र अन्य ६ प्रतिशत छन् । सडक दुर्घटनाका अन्य कारणमा सडकको अवस्था, मापसे, चौपाया, ओभरलोड, मौसमको अवस्था आदि छन् ।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार यातायात विभागलाई सवारीधनीलाई ब्लु–बुक दिने, सवारी दर्ता खारेज गर्न सक्ने, लाइसेन्स दिने र निलम्बन तथा खारेज गर्न सक्ने अधिकार छ । त्यस्तै, रुट परमिट दिन सक्ने, यातायात सेवा सञ्चालन अनुमति रद्द गर्न सक्ने, यात्रु संख्या र मालसामानको वजन तोक्न सक्ने, ट्राफिक संकेत टाँस्ने वा जडान गर्ने, पार्किङ तथा बस बिसौनी निर्धारण गर्ने र दुर्घटना रोक्न प्रचारप्रसार गर्ने काम पनि विभागकै हो ।
यातायात व्यवस्थाका कर्मचारीले बढी अधिकार पाएका छन् । तर, उनीहरू सडकमा खटिँदैनन् । सार्वजनिक सवारीसाधनमा छत राख्नु हुँदैन, यसो भएमा यात्रु गाडीको छतमा बस्न पाउँदैनन् र दुर्घटना कम हुन्छ । पहाडी क्षेत्रमा सबैभन्दा बढी दुर्घटना हुनुको कारण साँघुरो र बिग्रेको सडक हो । त्यसैले यी क्षेत्रमा साना बस चलाउनुपर्छ । गाडी चलाउने चालकको उमेर कम्तीमा पनि ३० वर्षको हुनुपर्छ । लामो दुरीको गाडी चलाउनुभन्दा पहिले चालकहरूले १–२ वर्षजति छोटो दुरीको गाडी चलाएकै हुनुपर्ने व्यवस्था जरुरी छ ।
धेरै अनुभवी भइसकेपछि मात्रै लामो दुरीको गाडी चलाउन दिनुुपर्छ । वेलावेलामा सवारी चालकको मेडिकल जाँच गराइरहनुपर्छ । सडक दुर्घटना रोक्नको लागि रुट परमित लिएर मात्रै गाडी चलाउनुपर्छ । पहाडी क्षेत्रमा पुराना गाडी चलाउनुहुन्न । अहिले कति ठाउँमा सडकहरू बन्दै छन्, यस्तो अवस्थामा सरकारले कसरी सवारीसाधनलाई रुट परमिट दिन सकिन्छ । यातायात समितिहरू सबै नीतिनियममा आउन जरुरी छ ।
दुर्घटना रोक्न सडकको मर्मत जरुरी छ-सरोज सिटौला (महासचिव) नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ
अहिले केही समयदेखि सडक दुर्घटना दिन प्रतिदिन बढी नै रहेको छ । सरकारी पक्षको कमजोरीले गर्दा सडक दुर्घटना बढेको हो । सार्वजनिक सवारी दुर्घटना हुनुको सबैभन्दा ठूलो कारण बिग्रेको सडक रहेको छ । सवारी दुर्घटना रोक्न ट्राफिक प्रहरीले बाटोबाटोमा गाडीको जाँच राम्रोसँग गर्नुपर्छ । कुन गाडीमा कति यात्रु चढेका छन् भन्ने कुरा ट्राफिक प्रहरीले नै हेर्नुपर्ने हुन्छ । दुर्घटना रोक्न सरकारले ट्राफिक प्रहरीको संख्या बढाउनुपर्छ । सडक दुर्घटना रोक्न सरकारी क्षेत्रबाट नै पहल हुनुपर्छ । ग्रामीण क्षेत्रमा गाडीको संख्या कम हुने गर्छ । यसकारण यात्रु एउटै गाडीमा चढ्न बाध्य हुन्छन् । सवारी साधनले बढी यात्रु बोकेकाले त्यस्तो सवारीसाधन दुर्घटनामा पर्ने गर्छन् । यस्तो सडक दुर्घटना रोक्न सहरी क्षेत्रमा मात्र नभएर ग्रामीण क्षेत्रमा पनि सवारीसाधनको संख्या बढाउनुपर्छ ।
दुर्घटना रोक्न पहिलेभन्दा कडा कानुन ल्याउनुपर्छ । सचेतनाको कमीले पनि दुर्घटना बढेको हो । चालक र सहचालकले राम्रोसँग प्रशिक्षण लिएको हुनुपर्छ । सडक दुर्घटना रोक्न सरकारले ध्यान पु¥याउनुपर्छ । सडक दुर्घटना रोक्न सरकारले यातायातको नीतिनियममा पनि ध्यान दिनुपर्छ । सडक दुर्घटना रोक्न अहिले सरकारले कुनै चासो देखाएको छैन । सरकारले आफ्ना कमी कमजोरीलाई सुधार्नुपर्छ ।
वर्षाको समयमा धैरेजासो सडक दुर्घटना हुने गर्छ । धेरैजसो सडक दुर्घटना ग्रामीण भेगमा हुने गर्छ । यसमा सबैको कमी कमजोरी रहेको छ । सरकारले हाई वेमा ट्राफिकको लाइन र यू टियुनहरू बनाइदिनुपर्छ । हाई वेमा जनचेतना दिने खालका होर्डिङ बोर्डहरू मात्रै राख्नुपर्छ, अन्य होर्डिङ बोर्डहरू हटाउनुपर्छ । चालकले पनि होसियारीपूर्वक गाडी चलाउनुपर्छ, साथै गाडीहरू मर्मत पनि समयमा नै गर्नुपर्छ । यात्रुहरू पनि गाडीमा चढ्न हतारिनुहुँदैन । जुन ठाउँमा गाडी जान सक्दैन, त्यस्तो ठाउँमा सरकारले सांकेतिक चिह्नहरू राखिदिनुपर्छ ।
एक अर्कामाथि दोष लगाउन छोडेर यसको समाधान गर्नुपर्छ । यातायात विभागले राम्रोसँग अनुगमन गर्नपर्छ । गाडी गुड्ने सडकनजिक पसल खोल्नुहुन्न, बाटोमा सामानहरू सुकाउनुहुन्न, सडकमा सभा, गोष्ठीहरू गर्न भएन , यात्रुहरू पनि गाडीमा मादक पदार्थ खाएर चढ्न भएन । हरेक नागरिकले कर बुझाएका छन्, त्यसैले खाल्डाखुल्डी राख्न भएन ।सरकारले यो सबै कुराको अनुगमन गर्नु जरुरी छ । सरकारले ०४९ को ऐनलाई छिटै संसोधन गर्न जरुरी छ ।
अहिले यातायात व्यवसायीमाथि चौतर्फी आक्रमण भइरहेको छ । दुर्घटना हुनुमा सबै दोष हाम्रो हो जस्तो गरी प्रचार गरिएको छ । वास्तविकता बुझ्ने प्रयत्न कसैले गरेका छैनन् । यो समस्या सिन्डिकेट, सिन्डिकेट भनेर नारा लगाउँदैमा समाधान हुने होइन । ९० प्रतिशत दुर्घटना कच्ची सडकमा हुने गरेका छन् । सडक कच्ची हुनुमा व्यवसायीको के दोष ? त्यसो भए पिच गरेको सडक महिना दिनमा भत्किनु पनि हाम्रै कमजोरी होला ।
यातायात क्षेत्रमा हाम्रो तीन अर्ब लगानी छ । राजस्वमा १९ प्रतिशत योगदान छ, प्रत्यक्ष–अप्रत्यक्ष गरी ४० लाख जनालाई रोजगारी दिएका छौँ । तपाईं विचार गर्नुस्, बैंकको ऋणमा किनेको गाडी दुर्घटनामा परोस् भनेर कुनचाहिँ व्यवसायीले सोच्छ होला ? सरकारले व्यवस्थापन नगरेपछि बाध्य भएर हामीले आलोपालो प्रणाली लागू गरेका हौँ । हाम्रो कमजोरी नै छैन भन्न खोजेको होइन, तर खास सिन्डिकेट सरकारले गरिरहेको छ ।
प्रतिक्रिया