भक्तपुर, ९ माघ । सात वटै प्रदेशबाट राष्ट्रियसभा उम्मेदवारको टुंगो लगाउन नेकपा एमाले स्थायी कमिटी बैठक शुरु भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा उहाँकै अध्यक्षतामा मंगलबारको बैठकले थप १६ उम्मेदवारको नाम टुंगो लगाउने भएको छ ।
बैठकले प्रदेश नं १, २, ३ र ४ का राष्ट्रियसभा उम्मेदवार टुंगो लगाउने एमाले सचिव प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । सोमबार राति १० बजेसम्म बसेको बैठकले तीन वटा प्रदेशका १३ उम्मेदवारको नाम टुंगो लगाएको थियो ।
सोअनुसार प्रदेश नं ७ बाट कमला ओली महिला कैलाली, इन्दु कडेरिया विष्ट महिला कञ्चनपुर, शेरबहादुर कुँवर खुला अछाम र चक्रप्रसाद स्नेही दलित डडेल्धुरालाई उम्मेदवार बनाइने भएको छ ।
यसैगरी प्रदेश नं ६ बाट कविता बोगटी महिला हुम्ला, नन्दा शर्मा महिला सुर्खेत, नरपति लोहार दलित कालीकोट, भैरवसुन्दर श्रेष्ठ खुला जाजरकोट, ठगेन्द्र पुरी खुला पश्चिम रुकुमलाई उम्मेदवार बनाएको छ ।
प्रदेश नं ५ बाट रामलखन हरिजन दलित नवलपरासी बर्दघाट सुस्ता पश्चिमबाट खिमलाल भट्टराई खुला रुपन्देही, मीना बुढा महिला रोल्पा र कोमल वली महिला दाङलाई उम्मेदवार बनाइएको छ ।
यही माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनमा एमालेले नेकपा माओवादी केन्द्रसँग तालमेल गर्दै २९ स्थानमा उम्मेदवारी दिने भएको छ ।
प्रतिक्रिया