कुष्ठरोगी खोजी अभियान सुरु

मिक्साङ वाइबा तामाङ

काठमाडौं । सरकारले कुष्ठरोग अतिप्रभावित चार जिल्लामा कुष्ठरोग निवारण अभियान सुरु गरेको छ । कुष्ठरोग अतिप्रभावित जिल्लामध्ये कैलाली, कपिलवस्तु, रूपन्देही र नवलपरासीमा अभियान सञ्चालन हुने स्वास्थ्य सेवा विभागअन्तर्गत कुष्ठरोग नियन्त्रण महाशाखाले जनाएको छ ।

शुक्रबारदेखि सुरु अभियानअन्तर्गत तालिमप्राप्त स्वयंसेविकासहित स्वास्थ्यकर्मी सम्मिलित टोली घर–घरमा गएर कुष्ठरोगीको खोजी गर्ने र रोग पहिचानका लागि स्वास्थ्य संस्थामा पठाइने कुष्ठरोग महाशाखाका कार्यक्रम प्रमुख महेशकुमार पुरीले जानकारी दिए ।

अभियानअन्तर्गत घर–घरमा गई नयाँ कुष्ठरोग प्रभावितको पहिचान गर्र्ने, स्थानीय जनप्रनिधिलाई कुष्ठरोगबारे जानकारी दिने तथा रोगबारे विभिन्न जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम रहेको महाशाखाले जनाएको छ ।

अभियानका क्रममा भेटिएका नयाँ कुष्ठरोगीलाई निःशुल्क उपचार गरिनेछ । पहिलो चरणमा कैलाली, कपिलवस्तु, रूपन्देही र नवलपरासी गरी चार जिल्लामा अभियान सञ्चालन हुनेछ ।

अभियानअन्तर्गत आगामी ८, ९ र १० माघमा कपिलवस्तुमा कार्यक्रम सञ्चालन गरिने कार्यक्रम प्रमुख पुरीले जानकारी दिए । आगामी २० माघसम्ममा चार वटै जिल्लामा अभियान सम्पन्न गर्ने सरकारको लक्ष्य छ । त्यसका साथै अन्य जिल्लामा पनि चरणबद्ध रूपमा स्थानीय जनप्रतिनिधिसँगको समन्वयमा कार्यक्रम सञ्चालन हुने महाशाखाले जनाएको छ ।

हाल विषेशगरी तराईका १८ वटा जिल्लामा कुष्ठरोगको प्रभाव बढी देखिएको महाशाखाको भनाइ छ । महाशाखाका अनुसार कपिलवस्तुका साथै रूपन्देही, सर्लाही, बारा, पर्सा, रौतहट, धनुषा, महोत्तरी, मोरङ, सुनसरी, दाङ, नवलपरासी, कैलाली, कञ्चनपुरलगायत जिल्लामा वर्षेनी नयाँ कुष्ठरोगीको संख्या थपिँदैछ ।

आर्थिक वर्ष ०७३÷७४ मा ३ हजार ४ सय कुष्ठरोगका नयाँ बिरामी भेटिएको महाशाखाको तथ्यांक छ । जसमध्ये २ हजार ६ सयजना अहिले उपचाररत रहेका कार्यक्रम प्रमख पुरीले जानकारी दिए । गत वर्ष ५ हजार ९ सय २२ जना कुष्ठरोगी भेटिएकामा ३ हजार ४० जना रोगमुक्त भएका थिए ।

के हो कुष्ठरोग ?
कुष्ठरोग माइक्रोब्याक्टेरियम लेप्री जीवाणुले गर्दा हुने दीर्घरोग हो । यो रोगले मुख्यतः छाला, आँखा र स्नायुमा असर गर्छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार यो रोग शरीरमा धेरै ढिलो गरी फैलिनुका साथै रोगका लक्षण प्रकट हुन पाँचदेखि २० वर्षसम्म लाग्न सक्छ ।

कुष्ठरोग सरुवारोग भए पनि धेरै कम सर्ने रोगमध्येमा पर्ने चिकित्सकहरू बताउँछन् । धेरै दिनदेखि उपचार नगराएका संक्रमित रोगीको सम्पर्कमा आए मात्र यो रोग सर्ने सम्भावना रहेको कुष्ठरोग विषेशज्ञ डाक्टर राजेश शाक्यले जानकारी दिए । यो रोग सर्ने क्रम संक्रमित व्यक्तिको रोग प्रतिरोधक क्षमतामा भर पर्छ ।

यो रोगको सुरुआती लक्षणमा जीउमा रातो, फुस्रो र छुँदा थाहा नहुने दाग देखा पर्न सक्छन् । यसका साथै, हात खुट्टा झमझमाउने, लाटो फुस्रो दागवरिपरि छालाको रङ उड्ने अथवा छाला कडा हुँदै जाने, हातखुट्टाको नासा सुन्निएर मोटो हुँदै जाने लगायतका लक्षणहरू देखा पर्छन् ।

यो रोगको सुरुआती चरणमै औषाधि उपचार गरे निको हुन्छ । कुष्ठरोग एउटा दीर्घरोग भए पनि समयमा उपचार नगरे अपांगता हुने सम्भावना रहन्छ । यो रोगको समयमै उपचार नगरी हेलचत्र्mयाइँ गरेमा हातखुट्टाका अंगहरू विस्तारै झर्दै जाने सम्भावना हुने डा. शाक्य बताउँछन् ।

नेपालमा प्रतिदशहजार व्यक्तिमा गरिएको अनुसन्धानमा शून्य दशमलव ९२ प्रतिशत कुष्ठरोगीमा अपांगता हुने सम्भावना रहेको कोष्ठरोग नियन्त्रण महाशाखाले जनाएको छ ।

 

प्रतिक्रिया