सञ्जिता आचार्य
काठमाडौं । काठमाडौं महानगरपालिकाले उपत्यकामा युरोपियन शैलिमा सार्वजनिक सौचालय स्थापना गर्ने बताए पनि व्यवहारतः त्यस्तो हुन सकेको छैन । अहिलेको शौचालय व्यवस्थापनलाई हेर्दा फितलो देखिएको छ । पर्याप्त सरसफाइको अभावमा उपत्यकाका अधिकांश सार्वजनिक शौैचालय पस्नै नसकिने खालका दुर्गन्धित छन् ।
सरसफाइको अभावले शौच गर्न पनि सकस हुने खालका छन् सार्वजनिक शौचालय । सार्वजनिक शौचालयको अवस्था दयनीय हुँदाहुँदै पनि काठमाडौं महानगरपालिका भने वास्तविकतालाई सहजै स्विकार्न तयार छैन । महानगरपालिकाका वातावरणीय विभाग प्रमुख हरि कुँवर आफूहरू सार्वजनिक शौचालयको व्यवस्थापनमा निरन्तर लागिपरेको बताउँछन् ।
महानगर क्षेत्रभित्र रहेका ४७ वटा शौचालयमध्ये अधिकांश आधुनिक शैलिमा रहेको उनको तर्क छ । बाँकी पुराना शौचालय पनि आधुनिक बनाउने लक्ष्यका साथ महानगर अगाडि बढेको उनको भनाइ छ । उनले भने, ‘बाँकी पुराना शौचालयलाई पनि केहि समयमा सम्पन्न गर्छौं ।’ नयाँ शैलिमा सौचालय बनाउन महानगर लागिपरेको र ती शौचालयहरूमा व्यवस्थापन राम्रो भएको उनको दाबी छ ।
महानगरले दावी गरेको शौचालयको राम्रो व्यवस्थापनको पक्ष कागजमा सीमित देखिन्छ । ती शौचालयमा पुग्ने प्रयोगकर्ताले कतिसम्मको दुर्गन्धित अवस्थालाई झेल्नुपर्ने हुन्छ भन्ने कुराबाट महानगर बेखबर भएको पाइएको छ ।
काठमाडौं महानगर क्षेत्रभित्र ४७ वटा सार्वजनिक शौचालय छन् । जसमध्ये अधिकांश ठाउँका शौचालयको अवस्था दयनीय छ । सार्वजनिक शौचालयको उचित व्यवस्थापनमा सबन्धित पक्षको ध्यान नजाँदा सर्वसाधारण भने सास्ती भोग्न बाध्य छन् ।
रत्नपार्कस्थित बसपार्कमा रहेको सार्वजनिक शौचालयमा पानी व्यवस्थापन राम्रो छैन । शौचालयको प्रयोगपछि राम्रोसँग हात पखाल्ने पानीको सुविधा पनि छैन । शौचालयको कुनै ढोकामा चुकुल छैन त कुनैमा प्वाल परेको छ ।
बसपार्कस्थित सार्वजनिक शौचालय प्रयोग गर्न आएकी भक्तपुरकी मैना तन्डुकारले दुर्गन्धित शौचालयको कारण सास्ती बेहोर्न बाध्य भएको बताइन् । पर्याप्त पानी र सरसफाइ नभएकाले अप्ठ्यारो भएको उनको भनाइ थियो । दिनहुँ कार्यालय आउजाउ गर्ने क्रममा बाटोमा पर्ने रत्नपार्कस्थित यस शौचालयलाई तन्डुकारले अहिलेसम्म सफासुग्घर देख्न पाएकी छैनन् ।
सार्वजनिक शौचालय प्रयोग गरेबापत पिसाबका लागि ५ र दिसाका लागि १० रुपैयाँ शुल्क उठाइन्छ । यो शुल्क भनेको सेवासुविधा उपलब्ध गराएबापतको हो । तर, शुल्क मात्रै लिने सेवासुविधामा भने ध्यान नदिने प्रवृत्ति देखिएको छ । कोटेश्वरका शैलेश महर्जनले उपत्यकाका अधिकांश सार्वजनिक शौचालय नाकमुख बन्द गरी प्रयोग गर्नुपर्ने अवस्थाको रहेको बताए । शौचालय सफाइका लागि सम्बन्धित निकायले ध्यान नदिएको उनले बताए ।
उपत्यकाको सार्वजनिक शौचालय आसपास पुग्ने जोकोहीले नाकमुख थुनेर हिँड्नुपर्ने अवस्था छ । सार्वजनिक शौचालयको दुर्गतिकै कारण कतिपय प्रयोगकर्ता चियाकफी पिउने बाहनामा होटल तथा रेष्टुरेन्ट छिरेर शौचालय प्रयोग गर्न बाध्य छन् । अन्तर्राष्ट्रिय स्तरको शौचालय निर्माण गरिएको दाबी गर्ने सम्बन्धित निकायले त्यसको सही व्यवस्थापनमा पनि चुस्तदुरुस्त प्रक्रिया अवलम्बन गर्न आवश्यक देखिन्छ ।
प्रतिक्रिया