आँखा र हात गुम्यो, तर हिम्मत गुमेन

शुकदेव थपलिया

काभ्रे । ‘निराशावादी मानिस हरेक अवसरमा समस्या देख्छ, आशावादीचाहिँ हरेक समस्यामा अवसर देख्छ ।’ पूर्व ब्रिटिस प्रधानमन्त्री विन्स्टन चर्चिलको यो भनाइ गोपीलालको जीवनसँग मेल खान पुग्दछ । जतिसुकै समस्या आए पनि हाँसी–हाँसी स्विकार्दै आफ्नो लक्ष्यमा निरन्तर अडिग भएर लागिपर्दा एक दिन अवस्य आफ्नो सपना पूरा हुनेमा विश्वस्त देखिन्छन् ४८ वर्षीय गोपीलाल श्रेष्ठ ।

काभ्रेको कर्णाली भनेर चिनिने डाँडापारिको खानीखोला गाउँपालिका–५ मा बस्ने गोपीलालको जीवन कथा सुन्दा लाग्छ, संसारमा जिउनुभन्दा सुन्दर अरू केही हुनै सक्दैन । आँखा नदेखे र हात नभए पनि उनका अनौठा बानीहरू छन् । जबकि, एकपटक कुरा गरेको व्यक्ति वषौँपछि भेटिँदा पनि उनले कहिले, कहाँ, के कुरा गर्दै गर्दा भेट भएको भन्नेसम्म सबै भनिदिन सक्छन् । उनी दुवै आँखा देख्दैनन्, तर पनि मोबाइल नम्बर डायल गर्नुपरे जिब्रोको सहायता लिन्छन् । रिचार्ज गर्नुपरे कसैले पिन नम्बर भनिदिए जिब्रोले सबै नम्बर थिचेर नै रिचार्ज गर्छन् । यति मात्रै होइन, हामीलाई आश्चर्य लाग्न सक्छ, उनलाई कसैले यो कति रूपैयाँ हो भनेर सोध्यो भने त्यो रूपैयाँ गालाले स्पर्श गरेरै यति रूपैयाँ हो भनेर चिन्छन् ।

खानीखोला गाउँपालिकाको कार्यालय परिसरमा भेटिएका गोपीलालले आफ्नो जीवन कथा सुनाउँदै भने, ‘जीवित हुनुजति सुन्दर अरू केही हुनै सक्दैन, मैले पो आँखा देख्दिनँ । आँखा देख्ने तपाईंहरूका लागि बिजुली बत्ती आवश्यक छ । म पो केही चलाउँन सक्दिनँ, तपाईंहरूको लागि प्रविधि आवश्यक छ,’ उनी भन्छन् ‘मसँग हात र आँखा नभए पनि सीप छ । मेरो एउटै चाहना छ, म आफ्नो क्षमता र सीप प्रदर्शन गरेर जनताको सेवा गर्न चाहन्छु ।’ उनी आफ्नो जीवनबारे भन्छन्, ‘मैले ०५० सालमा बम ल्याएर साथीहरूसँग माछा मार्न भनी खानीखोलामा पड्काउन खोज्दा यो गति भयो ।’

त्यतिवेला उनका दुई पत्नी थिए । उनी उपचारकै क्रमममा रहेका वेला जेठी पत्नीको मृत्यु भयो । एउटा भाइलाई तत्कालीन माओवादीले मारिदिए । कान्छी पत्नी थिइन्, अहिले उनी कता गइन् अत्तोपत्तो नभएको उनी सुनाउँछन् ।

अहिले छोराबुहारी, छोरी, नाति गरी ६ जनाको परिवार छ उनको । ‘मैले गरेर जनतालाई राहत पुग्छ भने म जे पनि गर्न तयार छु । अहिले खानीखोला गाउँपालिकामा कति अपांग छन् ? तिनको अवस्था के छ ?’ भन्ने प्रश्न गर्दै उनी भन्छन्, ‘यदि मलाई राज्यले केही जिम्मेवारी दियो भने मलाई दिएको मासिक भत्तास्वरूप पाएको दुई हजार पनि उनीहरूकै निम्ति खर्चंदै काम गर्न चाहन्छु ।’

आफूले संसारलाई निकै उज्यालो देखेको, भोगेको, बुझेकाले नै यस्तो अवस्थामा पनि हिम्मत नगुमी बरु ऊर्जा थपिएर आएको उनी बताउँछन् । आफू अपांग भए पनि उनलाई आफ्नोभन्दा सामाजिक कामको चासो छ । यस्तो चासो देखाउँदै उनी भन्छन्, ‘तालढुंगा–जगथली बाटो निर्माण समितिको अध्यक्ष चयनको विषयमा हानाथाप किन छ ? आखिर जसले गरे पनि विकास नै गर्ने हो । किन भइरहेको छ विवाद ? पद आफैँलाई चाहिने कारण के हो ? जसले गरेपनि विकास नै गर्ने हो । यदि होइन भने व्यर्थ विवाद किन ?’

अपांगता भएकाहरूलाई जिउन हौसला दिँदै उनी भन्छन्, ‘आफ्नो कमजोरी प्रदर्शन गरेर मागेर खाने बानी गर्नुहुँदैन । हामीमा जे क्षमता छ, त्यो प्रदर्शन गर्न सक्यौँ भने हामी आफ्नो जीवन सुन्दर बनाउन सक्छौँ । हामी मानव भएर जन्मियौँ । हामीले कहिल्यै हार मान्नुहुन्न । निरास हुनुहुन्न । निरासा नै समस्याको जड हो । निरासामा आशावादी भएर लाग्यौँ भने अवसरहरू जताततै छन् । हरेस खानु भनेको आफैँ कमजोर हुनु हो । कमजोर हुनु भनेको आफ्नो अस्तित्व र आफैँप्रति असन्तोष हुनु हो ।’

मानिसमा मानवीय संवेदना र नैतिकता हराउँदै गएकोप्रति उनी भन्छन्, ‘हाम्रो बाहिरी जीवन अलग भए पनि हाम्रो भित्री वास्तविक जीवन एउटै छ । हामी एक अर्काप्रति संकीर्ण विचार राखेर क्षणिकमै दाउपेचमा लाग्छौँ । पछि कुनै समय आफैँ पछुताइरहेका हुन्छौँ । यो कुरालाई बहसको विषयभन्दा पनि व्यवहारिक रूपमा उतार्ने प्रयास हुनुपर्छ । आत्तिने र मात्तिने भन्ने कुरा व्यक्तिगत चरित्रमा पनि भर पर्छ,’ उनले भने ।

प्रतिक्रिया