मुक्तिनाथ बैंक १२औँ वर्षमा प्रवेश

काठमाडौं, २१ पुस  । मुक्तिनाथ विकास बैंकले ११औँ वार्षिक साधारणसभा पोखरामा सम्पन्न गरेको छ । उक्त साधारणसभामा बैंकको सेवामा १० वर्ष पूरा गरेका ८ जनालाई र कार्यालयमा निरन्तर हाजिरीको आधारमा ४ जनालाई सम्मान गरिएको हो ।

त्यसैगरी, संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पोखराको फिर्के बुँलौदी र काठमाडौंमा बागमती सरसफाइ अभियानमा सक्रिय ७ जना कर्मचारीलाई पनि सम्मान गरिएको छ । उक्त साधारणसभाबाट चुक्ता पुँजीको २० प्रतिशतले बोनस सेयर पनि पारित गरेको छ ।

बैंकको वार्षिकोत्सवकै अवसरमा आफ्ना ग्राहकहरूको लागि सजिलो र कुशल सेवालाई मध्यनजर गदै बैंकले चिप बेसमा आधारित भिसा डेबिट कार्ड सुचारु गरेको छ । स्वदेश तथा विदेशका लागि ल्याइएको उक्त भिसा डेबिट कार्डअन्तर्गत स्वदेशी भिसा डेबिट कार्डमार्फत नेपाल तथा भारतमा रहेका पिओएस मेसिन भएको सबै स्थानबाट रकम निकाल्न सकिनेछ भने विदेशका लागि ल्याइएको कार्डमार्फत नेपाल र भारत बाहेकका विश्वका अन्य मुलुकबाट सेवा लिन सकिने बैंकले जनाएको छ ।

‘जनता बैंकमा होइन बैंक जनतामा जानु पर्दछ’ भन्ने नाराका साथ स्थापित बैंकले १२औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा देशभरी रहेका कार्यालयमार्फत संस्थागत सामाजिक उत्तरदायित्का कार्यक्रम गरी वार्षिकोत्सव मनाएको जनाएको छ । त्यस्तै, बैंकले आफ्नो क्षेत्रीय कार्यालय पोखरामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त अवसरमा १ सय १६ युनिट रगत संकलन गरिएको जानकारी रक्त सञ्चार केन्द्र रामघाटले जनाएको छ । त्यसैगरी, बैंकले सुमेरु हस्पिटलका प्रशासन प्रमुख दिनेश आचार्य, कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका महानिर्देशक तेजेन्द्रप्रसाद पौडेल र तरकारी फलफूल थोक बजार व्यावसायिक संस्थाका अध्यक्ष भरत खतिवडा लगायतको सहभागितामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

सो कार्यक्रममा सुमेरु हस्पिटल, कालिमाटी फलफूल तथा तरकारी बजार विकास समिति र तरकारी फलफूल थोक बजार व्यावसायिक संस्थाको समन्वय तथा सहकार्यमा कालिमाटी फलफूल तथा तरकारी बजार विकास विकास समितिको हलमा मधुमेह, मिर्गाैला तथा हाडजोर्नीसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको हो । सो शिविरबाट ४ सय ३० जनाले प्रत्यक्ष लाभ उठाएको बैंकले जनाएको छ ।

प्रतिक्रिया