माघ ४ मा तामाङ समुदायले सोनाम ल्होछार नमान्ने

मिक्साङ वाइबा तामाङ

काठमाडौं । तामाङ समुदायको मुख्य सांस्कृतिक पर्व सोनाम ल्होछारको तिथिका विषयमा नेपाल तामाङ घेदुङ र नेपाल पञ्चांग निर्णायक समितिबीच विवाद देखिएको छ ।

पञ्चांग निर्णायक समितिले तयार पारेको पात्रोअनुसार सोनाम ल्होछार ४ माघमा परेको छ भने तामाङ घेदुङले मन्जुश्री पात्रोअनुसार आफूहरूको पर्व ४ फागुनमा परेको जनाएको छ । समितिले प्रकाशित गरेको पात्रोअनुसार सरकारले ४ माघमा सोनाम ल्होछारको अवसरमा सार्वजनिक बिदासमेत दिइसकेको छ । तर, तामाङ घेदुङले भने सोनाम ल्होछार ४ माघमा नभई ४ फागुनमा नै मनाउने निर्णय गर्दै सार्वजनिक बिदा पनि सार्न सरकारसँग आग्रह गरेको छ । यता, ४ फागुनमा शेर्पाहरूको ग्याल्फो ल्होछार पनि परेको छ ।

तामाङ घेदुङले मन्जुश्री पात्रोअनुसार ज्योतिष हेर्ने गरेको छ भने पञ्चांग निर्णायक समितिले विक्रम सम्वतअनुसार निर्मित सौर्य पात्रोमार्फत ज्योतिष गणना गर्ने गर्दछ । जसले गर्दा फरक तिथिमिति पर्दा तामाङ समुदायमा कुन मितिको ल्होछार मनाउने भन्नेमा अन्योलता छाएको छ ।

सौर्य मण्डलमा आधारित पात्रोअनुसार वर्षमा ३ सय ६५ हुन्छ भने तामाङ समुदायले तिथि हेर्ने मन्जुश्री पात्रोमा एक वर्षमा ३ सय ५४ दिन हुन्छ । यो चन्द्रपात्रोमा आधारित छ । यी दुई पात्रोमा भिन्नता रहेकाले चाड पर्वहरूसमेत फरक मितिमा पर्न गएको बौद्ध धर्मका खेन्पो सोनम न्युर्मेले बताए । यस वर्ष विक्रम सम्वतको पात्रोमा सोनम ल्होछार पर्व माघ ४ गते भन्ने उल्लेख भएकोले यो पर्व मान्ने तामाङ समुदायमा भ्रम सिर्जना भएको भन्दै यसलाई सच्याउन उनले माग गरे ।

आगामी दिनमा यस्तो गल्ती नहोस् भनेर पञ्चांग निर्णायक समितिमा तामाङ समुदायको प्रतिनिधिलाई पनि राख्न नेपाल तामाङ घेदुङले माग गरेको छ । पञ्चांग निर्णयक समितिमा बौद्ध ज्योतिष शास्त्रका ज्ञातालाई समावेश गर्न घेदुङले माग गरेको हो । घेदुङले समितिमा बुधबार (आज) लिखित रुपमै यस्तो आग्रह गर्ने तयारी गरेको अध्यक्ष मोहन गोलेले जानकारी दिए ।

यसैबीच, तामाङ समुदायले सांस्कृतिक पर्व सोनाम ल्होछार आगामी फागुन ४ गते मनाउने निर्णय गरेको छ । हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन नेपाल तामाङ घेदुङको अगुवाइमा तामाङ समुदायले विभिन्न कार्यक्रमको आयोजना गरी ल्होछार पर्व मनाउने गरिन्छ । राजधानीको पुतलीसडकस्थित घेदुङ कार्यलयमा मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै मन्जुश्री पात्रो अनुसार पर्न गएको फागुन ४ गते नै तामाङ समुदायले सोनम ल्होछार मनाउने जानकारी गराइएको हो ।

ल्होछारको अवसरमा काठमाडांैको टुँडिखेलमा फागुन ३, ४ र ५ गते विशेष कार्यक्रम आयोजना गरिनेछ । त्यसका लागि १ सय २० संघसंस्था सम्मिलित १ हजार १ सदस्यीय ल्होछार मूल आयोजक समिति समेत गठन गरिएको छ । पछिल्ला समय ल्होछारको विषयलाई लिएर तामाङ समुदायभित्र तीव्र विवाद पनि चल्दै आएको छ । सरकारले तामाङ समुदायले मनाउने ल्होछारको रुपमा सोनम ल्होछारलाई मान्यता दिए पनि कतिपय स्थानका तामाङहरुले ग्याल्पो ल्होछार मनाउने गरेका छन् । यद्यपि, ग्याल्फो ल्होछारलाई सरकारले शेर्पा समुदायको चाडका रूपमा मान्यता दिएको छ ।

प्रतिक्रिया