अझै पूरा भएन मेची पुल

झापा । ‘तीन वर्षभित्र मेची नदीमा पुल बनेन भने म झापा पनि टेक्दिनँ, राजनीति पनि गर्दिनँ’ ०६६ माघ २१ गते तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्री विजयकुमार गच्छदारले यसो भन्दै तामझामका साथ पुल शिलान्यास गरेका थिए । सानैमा पुल निर्माणको कुरा सुनेकाहरू त्यसबेला बूढा भइसकेका थिए, धेरैको कपाल फुलिसकेको थियो, तर ६० वर्ष लामो मेची पुलको कथा अब टुंगिन्छ कि भन्ने स्थानीयको आशा पलायो गच्छदारको कुरा सुनेपछि । हल्लै हल्लामा युग बित्न लागेका बेला तेस्रोपटक ०६६ मा पुलको शिलान्यास भएपछि धेरैले मेची नदीमा पुल निर्माण होला भन्ने ठाने ।

तर, तीन वर्षभित्र पूरा गर्ने योजनाका साथ सुरु गरिएको बहुचर्चित मेची पुल निर्माण कार्य नौ वर्ष बित्न लाग्दा पनि पूरा भएको छैन । गच्छदार मेची पुल शिलान्यास गर्ने तेस्रो व्यक्ति हुन् । यसअघि ०२२ सालमा तत्कालीन अञ्चलाधीश मनमोहन मिश्रले पहिलोपटक पुलको शिलान्यास गरेका थिए । शिलान्यास गरेको १९ वर्षसम्म पुल नबनेपछि ०४१ साल १५ जेठमा तत्कालीन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले दोस्रोपटक शिलान्यास गरे ।

दोस्रोपटक शिलान्यास गरेको २५ वर्षपछि गच्छदारले तेस्रोपटक शिलान्यास गरेको मेची पुल निर्माण कार्य नौ वर्षमा पनि पूरा हुन सकेन । ०६६ सालयता गच्छदार पटकपटक मन्त्री भए । पुल निर्माणका लागि तीन पटकसम्म समय थप गरियो । तर, अहिलेसम्म पनि निर्माण कार्य पूरा भएको छैन । पूल निर्माणको काम अझै पाँच प्रतिशत बाँकी रहेको निर्माण कम्पनीले जनाएको छ । झापावासीले ६ दशक अघिबाट मेची पुल निर्माणका लागि दबाब अभियान चलाउँदै आए पनि त्यो पूरा भएको छैन ।

पछिल्लोपटक निर्माण कम्पनीले मेची पुल यही ०७४ माघभित्र तयार भइसक्ने जनाएको छ । लगभग ९५ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेकोले अब दुई महिनामा पुल तयार हुने निर्माण कम्पनीको दाबी छ । एक वर्षअघि नै १७ पिलर मध्ये १५ वटा पिलरसहित पुलमाथिको ढलान भइसकेको छ ।

निर्माणाधीन अवस्थामा पुलको १० र ११ नम्बरको पिलर माटोमुनि गाड्ने क्रममा बांगिएको थियो । सो पिलरमा अहिले धमाधम काम भइरहेको कनक एन्ड सूर्य कन्ट्रक्सनका इन्जिनियर सुरेन्द्र खतिवडाले जानकारी दिए । इन्जिनियर खतिवडाले भने, ‘दुई वटा पिलर उठाउने काम सम्पन्न भइसकेको छ, ‘अहिले पिलर माथि तयारी अवस्थामा रहेको गडर क्रेनको सहयोगमा चढाउने काम हुँदै छ ।

११ वटा गडर चढाइसकेका छौँ । अब एउटा गडर उठाउन बाँकी छ,’ उनले भने, ‘चढाएको गडरमाथि रड बुन्ने काम तीव्र पारेका छौँ । केही दिनभित्र त्यसमाथि ढलान गर्छौं ।’ एक सय पाँच मिटर मात्र निर्माण कार्य बाँकी रहेकाले यही माघभित्र पुलको काम सम्पन्न भइसक्ने उनको दाबी छ । तर वर्षौंदेखि भइरहेको अलमलका कारण यो पटक पनि कम्पनीले समयमै काम सक्नेमा स्थानियवासी विश्वस्त देखिँदैनन् । भारतको बंगाल तथा बिहार राज्यसँग झापालाई जोड्ने यो पुल निर्माण सम्पन्न हुँदा यसको लागत करिब ३३ करोड पुग्ने अनुमान छ । पुलको लम्बाइ ५ सय ६० मिटर र चौडाइ ११ मिटर रहेको छ ।

पूर्वी काकँडभिट्टा नाकापछि झापाको दोस्रो नाकामा भद्रपुरमा पर्छ । बिहार तथा बंगालसहित बंगलादेश जानसमेत यस नाकाबाट दुरी छोटो पर्ने भएकोले यस नाकाको छुट्टै विशेषता छ । यस नाकामा पर्ने मेची नदीमा पक्की पुल बनाउनुपर्ने भन्दै ६ दशकदेखि यहाँका जनताले माग उठाउँदै आएका थिए । बल्ल जनताको सपना पूरा हुन लागेको छ । बर्खाको चार महिना नेपाल तथा भारत दुवै देशका नागरिक आफ्नो ज्यानको जोखिम मोल्दै डुंगाको प्रयोग गरेर आवतजावत गर्न बाध्य छन् । बर्खा सकिनासाथ मेची नदीमा अस्थायी बाँसे पुल बनाएर सर्वसाधारणले आवतजावत गर्ने गरेका छन् ।

प्रतिक्रिया