आफ्नो विवेकले काम गर्न आयोगलाई आग्रह

काठमाडौँ, १६ पुस । नेकपा एमालेका सचिव योगेश भट्टराईले निर्वाचन आयोगले प्रतिनिधिसभाको मतपरिमाण चाँडै सार्वजनिक गर्नुपर्ने बताएका छन् ।

एमाले, सञ्चार इलाका कमिटीले ताप्लेजुङबाट प्रतिनिधिसभामा निर्वाचित भएकामा आइतबार यहाँ आयोजना गरेको आफ्नो सम्मान तथा बधाई कार्यक्रममा उनले आयोगले आफूहरुसँगको भेटमा मतपरिमाण सार्वजनिक गर्ने भने तापनि अहिलेसम्म सार्वजनिक नगरेको आरोप लगाए ।

“कुन दलले कति पाएको छ भन्ने कुरा प्रष्ट छ । आयोगले हामीसँगको भेटमा एक दुई दिनमा सार्वजनिक गर्दछु भन्दछ”, उनले भने, “तर आयोग कसैको दवावमा अहिलेसम्म परिमाण सार्वजनिक नगरेर बसेको छ ।”

नेता भट्टराईले आयोगलाई कसैको दवावमा नभई आफ्नो विवेकले काम गर्न आग्रह गरे । उनले राष्ट्रियसभाको निर्वाचनका लागि पुनः राजनीतिक दलले दर्ता गर्न आवश्यक नभएको विचार पनि राखे ।

वाम पार्टी एकतालाई कसैले पनि रोक्न नसक्ने बताउँदै एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख भट्टराईले कुनै दुर्घटना नभई चाँडै पार्टी एकता हुने धारणा राखे ।

“अब एकतापछि नेतृत्वको कसले गर्दछ भन्ने बहस गर्न आवश्यक छैन”, उनले थपे, “जनअनुमोदन भइसकेकाले एकता कुनै पार्टीको रहर मात्र होइन । वामपन्थीले अब चाँडै बृहत् कम्युनिष्ट आन्दोलन निर्माण गर्नेछन् ।”

कार्यक्रममा एमाले प्रचार विभाग उपप्रमुख सूर्य थापाले भट्टराई जस्ता युवा नेता मुलुकका लागि आवश्यक रहेको र अब युवाले नेतृत्व गर्नुपर्ने अवस्था आएको बताए ।

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत, इलाका सञ्चार कमिटीका इञ्चार्ज समिर नेपाल, नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष महेन्द्र विष्टलगायतले सचिव भट्टराईलाई शुभकामना दिएका थिए ।

कार्यक्रममा गोरखापत्र संस्थानका नवनियुक्त प्रबन्ध सम्पादक श्रीधर आचार्यलाई समेत बधाई ज्ञापन गरिएको थियो ।

प्रतिक्रिया