काठमाडौं । मूर्तिकार रामकृष्ण भण्डारीको लेखेको ‘अक्षरमा मूर्तिकला’ पुस्तक शनिबार सार्वजनिक गरिएको छ । पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाल, क्रोधकला शिरोमणि कालु कुमाले, अग्रज कलाकार गोविन्दनारायण ज्यापू, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति ठाकुरप्रसाद मैनाली, राष्ट्रिय जनसांस्कृतिक महासंघका अध्यक्ष खगेन्द्र राई, अग्रज साहित्यकार शान्तदास मानन्धर, डा. सुकुम शर्मा, डा. तारालाल श्रेष्ठ, कलाकार तथा समीक्षक मुकेश मल्लले संयुक्त रूपमा सो पुस्तक विमोचन गरेका हुन् ।
आरम्भ समसामयिक मूर्तिकार समूहको आयोजना र सांस्कृतिक संस्थानको सहकार्यमा गरिएको सो कार्यक्रममा रामकृष्णका मूर्ति र लेखन पक्षबारे चर्चासमेत गरिएको थियो । मूर्तिकलाका नियम र विविध आयामलाई लेखकले पुस्तकमा उतारेको पुरातत्व विभागका महानिर्देशक दाहालले बताए । मूर्तिकला बुझ्न पुस्तक उपयोगी रहेको बताउँदै डा. तारालाल श्रेष्ठले भने, ‘नेपाली मूर्तिकलामा रामकृष्णले माक्र्सवादी सौन्दर्य भरेको पाइन्छ ।’
त्यस्तै, डा सुकुम शर्माले रामकृष्णले आफ्ना मूर्तिकला र यसका बहुपक्षलाई पुस्तकमा समेटेको बताए । लेखक रामकृष्णले मूर्तिकला र अनुभवलाई पुस्तकमा प्रस्तुत गरेका धारणा राखे । पुस्तकले रामकृष्णको कला यात्रालाई बुझ्न सजिलो भएको आरम्भका अध्यक्ष भुवन थापाले बताए ।
प्रतिक्रिया